सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

फिल्मको लिड क्यारेक्टरमा हुँदा प्रेसर हुने रहेछ : अभिनेत्री रक्षा

शनिबार, २१ पुस २०८०, १५ : ४०
शनिबार, २१ पुस २०८०

काठमाडौँ । रक्षा बुढाथोकी फिल्म ‘पर्खी बसेँ तिमीलाई’की अभिनेत्री हुन् । ‘लाखे’बाट अभिनयमा डेब्यु गरेकी रक्षाको यो दोस्रो फिल्म हो ।

‘लाखे’मा सह–अभिनेत्री बनेकी बुढाथोकीले यसमा भने मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् । त्यसैले पनि उनी ‘पर्खी बसेँ तिमीलाई’ डेब्यु फिल्म भन्छिन् । सानैदेखि टिभीमा छाउने रहरले अभिनयमा होमिएकी रक्षा अहिले फिल्मको प्रचार प्रसारमा छिन् । रक्षालाई रातोपाटीको यस्तो छ दर्जन प्रश्न :

  • तपाईंको अभिनय रहेको दोस्रो फिल्म ‘पर्खी बसेँ तिमिलाई’ प्रदर्शनमा आउँदैछ । कस्तो महसुस गरिरहनु भएको छ ?

– एकदमै एक्साइटेड छु । अभिनयको हिसाबले दोस्रो भएपछि मुख्य भूमिका निर्वाह गरेको यो पहिलो फिल्म हो । त्यसैले मेरो लागि यो फिल्म महत्त्वपूर्ण पनि छ । फिल्ममा मैले गरेको भूमिकाको विषयमा दर्शकको प्रतिक्रिया के कस्तो आउला भनेर कौतुहलता बढेको छ । एक किसिमले डर पनि लागेको छ ।

  • ‘पर्खी बसेँ तिमिलाई’ अभिनय अनुभव कस्तो रह्यो ?

– यो फिल्मबाट मैले अभिनयका धेरै कुरा सिक्ने, अनुभव गर्ने अवसर पाए । यो फिल्मबाट सिकेको विषय अभिनयका लागि जीवनभर काम लाग्छ ।

277464684_1648293365524114_6032080354282367012_n

  • फिल्मको प्रचार प्रसार र अभिनय प्रतिक्रिया कस्तो छ ?

–फिल्मको प्रचारप्रसारमा हामी पुरै टिम हिँडिरहेका छौँ । के के गर्दा हुन्छ त्यो सबै गरेका छौ । मिडियाहरूमा पनि पुगिरहेकी छु ।  फिल्मको प्रचार सामाग्री ट्रेलर, टिजर र गीतलाई राम्रो प्रतिक्रिया मिलेको छ । फिल्म पनि राम्रो हुन्छ होला ।  

  • कस्तो भूमिकामा देख्न सकिन्छ ?

–यो प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा उच्च घरानकी एउटा छोरीको भूमिका मेरो छ । जसलाई अभिभावकले एकदमै धेरै माया गर्नुहुन्छ । तर उनले एउटा साधारण पठाओ चालकलाई प्रेम गरेको हुन्छ । मेरो र पठाओ चालकको प्रेमको वरिपरि पुरै फिल्म घुमेको छ ।

  • फिल्ममा मुख्य भूमिका भनेको काँधमा फिल्म बोक्नु पनि हो । कतिको भारी फिल भएको छ ?

–फिल्मको लिड क्यारेक्टरमा हुँदा एक किसिमको प्रेसर त हुँदो रहेछ । फिल्मको व्यवसाय के हुन्छ, कस्तो हुन्छ भन्ने डर लाग्दो रहेछ । यो प्रेसरलाई मैले च्यालेन्जको रूपमा हेरेको छु । यो फिल्म आफ्नो होम प्रोडक्सन भएकोले पनि चलाउनुपर्ने धेरै प्रेसर छ ।   

  • फिल्मबाट कस्तो अपेक्षा छ ?

– फिल्मको व्यवसाय र अभिनय प्रतिक्रिया राम्रो आउने अपेक्षा छ । यो फिल्मले मलाई अन्य फिल्मको अफर पनि दिलाउँछ भन्ने विश्वास लिउकी छु । किनभने फिल्ममा राम्रो काम गरेको छु जस्तो लाग्छ । फिल्मको सार्वजनिक प्रचार सामाग्री टिजर, ट्रेलर र गीतबाट पनि मैले राम्रो प्रतिक्रिया पाएकी छु ।

  • फिल्म अभिनय निरन्तरता रहन्छ कि, पुग्यो ?

– सानैदेखि मेरो अभिनयमा रुचि थियो । म स्कुल, कलेजको कार्यक्रममा नृत्य गर्थे । स्कुलमा बेलाबेलामा फिल्म, टेलिफिल्म लगायतको सुटिङ हुन्थ्यो । त्यो देखेर पनि अभिनयमा आउने, आफूलाई टिभी, ठुलो पर्दामा छाउने रहर जाग्यो । आफूलाई पनि धेरैले चिनोस्, हेरोस् भन्ने थियो । त्यही भएर अभिनयमा होमिए । अहिले म अभिनयको पहिलो खुड्किलोमा छु । अफर मिलेसम्म अभिनयमा निरन्तरता दिन्छु ।

  • अभिनय सोचेजस्तो रहेछ त ?

– फिल्म निर्माणको प्रोसेस के हो, कसरी बन्छ भन्ने थाहा नहुँदासम्म सजिलै होला भनने लाग्थ्यो । थाहा पाएपछि यो त एकदमै गाह्रो हुँदो रहेछ । बाहिरबाट हेर्दा त घुम्न पाइन्छ, रमाउन पाइन्छ भन्ने लाग्यो । जब फिल्ममा होमिएपछि खान, बस्न, घरमा पुग्न र सुत्न कुनै पनि समयमा हुँदो रहेनछ । चिसो मौसममा हल्का, गर्मीमा बाक्लो पहिरन लगाउनुपर्ने रहेछ । अभिनय सोचे जस्तो सजिलो रहेछ ।

371951599_2010810099272437_5559144179590623687_n

  • सपना के छ ?

– मेरो उद्देश्य, सपना भनेको सफल अभिनेत्री बन्ने छ । मैले यो क्षेत्रमा भिड धेरै देखेकी छु । त्यो हिसाबले पनि सफल अभिनेत्रीको सपना पुरा गर्ने धेरै गाह्रो छ । तर पुरा गर्छु भन्ने आँट छ ।

  • फेसनमा प्रति कतिको लगाव छ ?

– फेसनमा रुचि छ । कस्तो फेसन भित्रियो, कुन चलेको छ । त्यसमा आफूलाई अपडेट राख्छु । आफूलाई प्राय पहिरन सुहाउने भएकोले सबै प्रकारको प्रयोग गर्छु ।

  • स्क्रिन शेयर गर्न मन लागेका कलाकार ?

–अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, मेनुका प्रधान लगायतसँग काम गर्न मन छ । यी सबै मेरो मनपर्ने कलाकार पनि हुन् । यी कलाकारको प्राय सबै फिल्म हेरेको छु । यीसँग अभिनय गर्न पाए केही सिक्न पाइन्छ कि भन्ने लोभ छ ।

  • अबको दिनमा गर्न मन लागेको भूमिका ?

– एउटा कलाकारको लोभ धेरै भन्दा धेरै फिल्म र सबैमा फरक फरक भूमिका गर्न मन हुन्छ । कलाकार भएपछि दर्शकका लागि फरक फरक अभिनय पस्किन सक्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप