बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपासँग ९५ लाख ६९ हजार नगद मौज्दात

शनिबार, २१ पुस २०८०, १६ : २२
शनिबार, २१ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीसँग नगद मौज्दात ९५ लाख ६९ हजार २९९ रुपैयाँ रहेको छ । लेखा परीक्षणको प्रतिवेदन अनुसार राष्ट्रिय वाणिज्य बैंकमा ८० लाख ८८ हजार ७७३ रुपैयाँ र कृषि विकास बैंकमा १४ लाख ८० हजार ५२६ रुपैयाँ मौज्दात रहेको हो । 

बैंक मौज्दातसहित अन्य शीर्षकबाट आउने रकमसहित जसपासँग एक करोड ३२ लाख सात हजार ९०४ रुपैयाँ मौज्दात रहेको देखिन्छ । जसपाले चालु आर्थिक वर्षमा सदस्यता शुल्क तथा लेबीबाट ४१ लाख ९९ हजार २०० रुपैयाँ पार्टीको कोषमा जम्मा गरेको छ । सो रकम गत वर्ष ४२ लाख ६ हजार रुपैयाँ थियो ।

गत वर्षभन्दा ७ हजार १७५ रुपैयाँ कम भएको छ । जसपाले सदस्य शुल्कबाट मात्र ६५ हजार पाँच सय जम्मा गरेको छ भने मासिक लेबीबाट १३ लाख ३७ हजार ५०० र कार्यगत लेबीबाट १९ लाख ९५ हजार र प्रवेशलगायत अन्य शुल्कबाट आठ लाख १२ सय रुपैयाँ जम्मा गरेको छ । 

त्यस्तै, चन्दा र सहयोगबाट १७ लाख २७ हजार रुपैयाँ पनि जसपालाई प्राप्त भएको छ । एक लाख ८० हजार रुपैयाँ सटर भाडाबाट आएको छ भने एक लाख नौ ७२४ रुपैयाँ बैकबाट ब्याज प्राप्त भएको जसपाले जनाएको छ । गत वर्ष प्रवास विशेष समितिले तीन लाख ४६ हजार रुपैयाँ अनुदान दिएको थियो । 

अधिवेशन तथा विभिन्न सम्मेलनको नामबाट जसपाले २९ लाख २९ हजार रुपैयाँ खर्च गरेको देखाएको छ । तर २०७९ मा भएको चुनावको खर्च भने देखाएको छैन । निर्वाचन आयोगमा राखेको दुई लाख २५ हजार धरौटी मात्र देखिएको छ । 

पार्टीहरूको सबभन्दा बढी खर्च हुने समय नै चुनाव हो । त्यहाँ प्रचार र प्रकाशन खर्च पनि देखाइएको छैन । जबकि चुनावमा जसपाले एउटा म्यागेजिन प्रकाशन गर्नुको साथै अन्य पुस्तकहरू प्रकाशन गरेको थियो । 

खर्चमा ८१ लाख ८९ हजारमा गाडी किनेको पनि देखाइएको छ । जसपाले सात लाख ३१ हजार ऋण रहेको पनि देखाएको छ ।

जसपाले कार्यालय खर्च वार्षिक ४७ लाख ३३ हजार रुपैयाँ देखाएको छ जसमध्ये कर्मचारी खर्चमा पाँच लाख २८ हजार रुपैयाँ देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप