शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
बेथिति

एक किमि सडक कालोपत्र गर्न एक वर्ष !

पूर्वमन्त्री र जनप्रतिनिधिको निर्देशन पनि टेरेनन् ठेकेदारले
सोमबार, २३ पुस २०८०, १२ : २८
सोमबार, २३ पुस २०८०

 बारा । बारा–पर्सा औद्योगिक करिडोरको ६ लेनसँग जोडिएको सिमरा टेलिकमदेखि विमानस्थलको उत्तरतर्फ हुँदै विशेष आर्थिक क्षेत्र सेज जाने पहुँच मार्गको एक किलोमिटर कालोपत्रको काम एक वर्षमा पनि सम्पन्न हुने सकेको छैन । सङ्घीय सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको ५० करोडको प्याकेजभित्र नालासहित एक किलोमिटर सडक कालोपत्र गर्ने योजनामा उल्लेख छ ।

सङ्घीय सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको बजेटबाट वीरगन्जस्थित सघन सहरी आयोजना कार्यालय र महावीर इन्जिनियर एन्ड कन्स्ट्रक्सन प्रालिले नालासहित सडक कालोपत्र गर्न एक वर्षअघि सम्झौता भएको थियो । तर महावीर इन्जिनियर एन्ड कन्स्ट्रक्सन प्रालि काठमाडौँले एक वर्षमा एक किलोमिटर सडक कालोपत्र गर्न विभिन्न बहाना देखाएको छ ।

जितपुर सिमरा उपमहानगरको एक दर्जन वडाहरू, कलैया उपमहानगर र कोल्हवी नगरपालिका आउजाउ गर्ने स्थानीय यात्रुहरूले सोही सडक प्रयोग गर्ने गर्दछन् । ठेकेदारले विभिन्न बाहना देखाएर सडक कालोपत्रको काम अलपत्र छोड्दा दैनिक साना ठुला दुर्घटना हुने गरेको र दुर्घटनामा केही व्यक्तिको ज्यानसमेत गएको छ ।  sa5

ठेकेदारको चरम लापरबाहीको कारण दुर्घटना बढेको भन्दै तीन साताअघि स्थानीयवासीले पूर्वमन्त्री तथा बारा ४ का सङ्घीय सांसद किसान श्रेष्ठसँग गुनासो गरेका थिए । स्थानीयको गुनासो लगत्तै सङ्घीय सांसद श्रेष्ठले तत्काल काम सुरु गर्न ठेकेदारलाई निर्देशन दिएका थिए । तर सङ्घीय सांसद् श्रेष्ठको निर्देशनपछि पनि काम सुरु हुन सकेन ।

महावीर इन्जिनियर एन्ड कन्स्ट्रक्सन प्रालिका इन्जिनियर प्रवीन ठाकुरले विद्युत् प्राधिकरणले समयमै विद्युत् पोलहरू नसार्दा काममा ढिलाइ भएको बताएका छन् । ‘हामीले प्राधिकरणलाई पोल सार्न पटक पटक पत्राचार गरे पनि प्राधिकरणले अटेरी गरेका कारण ढिला भएको हो,’ ठेकेदार कम्पनीका इन्जिनियर ठाकुरले भने, ‘यो काम असोजमा सक्नुपर्ने हो तर ढिलो भएको छ, एक डेढ सय मिटर नालाको काम सम्पन्न भइसकेको छ । अब प्लान्ट सेटअप हुनासाथ काम सुरु गर्छौ ।’

sa6

जितपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल, विद्युत् प्राधिकरण सिमरका प्रमुख रुमेश रूपाखेती, सिमरा विमानस्थल प्रमुख सूर्य खड्का क्षेत्री, सहरी विकास कार्यालय वीरगन्जमा सञ्जीवकुमार साह उपमहानगर वडाध्यक्षहरू हिराबहादुर गुरुङ, ईश्वर केसी, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीलगायतका छलफलमा सहभागी स्थानीयहरूले ठेकेदारको चरम लापरबाही कारण समयमै सडक कालोपत्र नहुँदा दुर्घटना बढेको र स्थानीयहरूले सास्ती भोग्नुपरेको  बताएका थिए । 

करिब १६ फिटको साँघुरो बाटोमा दैनिक सेजमा माटो ओसार्ने दर्जनौँ टिप्पर कुद्ने गर्छन् । दुई साताअघि सेजमा माटो ओसारिरहेको टिप्परको ठक्करले जितपुर सिमरा–१४ की स्थानीय महिलाको ज्यान गएको थियो । 

sa3

छलफलमा विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुमेश रूपाखेतीले ठेकेदार कम्पनीले विद्युत्को पोल सार्न लाग्ने महसुल नबुझाएको बताएका छन् । ‘प्राधिकरणले पोल सार्नुभन्दा पहिला उहाँहरूले लाग्ने शुल्क प्राधिकरणको खातामा जम्मा गर्नुप¥यो, त्यसपछि हामीले काम गरिहाल्छौँ,’ प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रूपाखेतीले भने । 

५० करोडको प्याकेजमा विद्युत् पोलहरू सार्न  करिब ३० देखि ३५ लाख लाग्ने प्राधिकरणले जनाएको छ । 

सहरी विकास मन्त्रालयको ५० करोड बजेटबाट सिमरा टेलिकमदेखि सेजसम्म जाने पहुँच मार्ग, ४ दशमलव ४ किलोमिटर, जितपुरको गढीमाईदेखि रमौली हुँदै रिलायन्स चिनी मिलसम्म जाने सडक र जितपुरस्थित गढीमाई मन्दिरमा पार्क बनाउने  योजनामा उल्लेख छ ।

१८ महिनाभित्र सम्पन्न गर्नुपर्ने योजनामा एक वर्ष बित्नै लाग्दा काम भने सबै अलपत्र अवस्थामा छ । स्थानीय मदनबहादुर क्षेत्रीले ठेकेदारको चरम लापरबाहीको सजाय स्थानीयवासीले भोग्नुपरेको गुनासो गरेका छन् । ‘सङ्घीय सांसदको निर्देशनपछि भोलिदेखि नै काम सुरु गर्छु भनेको ठेकेदारले आजसम्म केही काम गरेको छैन । खाल्टाखुल्टीका कारण बाटोमा हिँड्न समस्या छ, नाला पनि अलपत्र अवस्थामा छ,’ स्थानीयवासी क्षेत्रीले भने, ‘नाला अग्लो बनाउँदा हाम्रो घर डुबानमा पर्ने दैनिक धुलो, धुवाँ, दुर्घटनाको जोखिम हामीले भोगिरहेका छौँ ।’ 

डेढ फिट उचाइको नालाका कारण बर्खायाममा घर डुबानमा पर्नेसक्ने  स्थानीयवासीको भनाइ छ  । 

सघन सहरी आयोजना कार्यालय वीरगन्जका इन्जिनियर सञ्जीवकुमार साहले भने असोज मसान्तभित्र सक्नुपर्ने ठेक्कामा ठेकेदारलाई सचेत गराइएको र केही दिनभित्र काम सुरु हुने बताएका छन् । ‘५० करोडको प्याकेजमा यो बाटोमा केही समस्या छ, गढीमाईमा काम भएको छ,’ इन्जिनियर साहले भने, ‘स्थानीयहरूको नाला अग्लो भयो भन्ने गुनासो छ । यसमा पुराना घरका हकमा अहिले केही गर्न सकिँदैन, बाटो कालोपत्र भइसकेपछि सडक र नालाको लेबल मिल्दै जान्छ ।’

यता सिमरा विमानस्थल प्रमुख सूर्य खड्काले भने सिमरा विमानस्थल वरपर भौतिक पूर्वाधार निर्माणको काम गर्दा विमानस्थल कार्यालयसँग पनि समन्वय गर्नुपर्ने बताएका छन् । ‘अहिले बनिरहेको नालाको उचाइले बाटो पनि सुन्दर देखिँदैन र स्थानीयहरूलाई पनि समस्या भएको गुनासो आएको छ,’ विमानस्थल प्रमुख खड्काले भने, ‘विमानस्थल वरपर भौतिक पूर्वाधार बनाउँदा किन हामीलाई जानकारी गराउनु भएन, विमानस्थलसँग समन्वय गरेर गरिदिनुभएको भए हुन्थ्यो भनेर हामीले ध्यानाकर्षण गरेका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप