सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्छ : घिसिङ

सोमबार, २३ पुस २०८०, २० : ०४
सोमबार, २३ पुस २०८०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भइसकेकोले नेपालमा पनि यो खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन पर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

आज (सोमबार) बाट ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठान हलमा सुरु भएको छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै घिसिङले नेपालमा बुद्धिचाल खेललाई व्यवसायिक विकासमा जोड दिनुपर्ने बताएका हुन्।

यस्तै उनले प्रतियोगितालाई आयोजनामा मात्र सीमित गर्नु भन्दा पनि बढी भन्दा बढी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन र नेपालमा बुद्धिचाल खेल तथा खेलाडीको स्तर विकासको महत्त्वपूर्ण विषय रहेको बताएका छन् । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका घिसिङले बुद्धिचाल खेलको विकासमा सक्रिय रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको नेपाल बुद्धिचाल महासंघलाई राखेपले सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजना आजदेखि सुरु भएको प्रतियोगिता पुस २८ गतेसम्म चल्ने छ ।

लिग कम नकआउट आधारमा सुरु भएको प्रतियोगिताका खेलहरु गत वर्षहरुमा भन्दा फरक शैलीमा खेलाइँदै छ । यस पटकको प्रतियोगितामा प्रत्येक टिममा वैकल्पिकसहित ५ जना खेलाडीहरुको सहभागिता रहेको छ । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरी चार समूह वर्गीकरण गरिएको छ ।

जसअन्तर्गत समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहेका छन्। समूह बी मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सी मा अण्डर २० र समूह डी मा अण्डर १६ वा महिला खेलाडी रहेका छन्। वैकल्पिकमा जुन समूहको खेलाडी हो त्यही समूहबाट प्रतिस्पर्धा गर्न पाउने छन्।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदूरपश्चिम खेलकुद विकास परिषद , दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुलचोक क्याम्पस , ललितपुर जिल्ला बुद्धिचाल संघ गरी २० टिम सहभागी छन् ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०९१० हजार पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ७० हजार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप