बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

गठबन्धनसँग असन्तुष्ट पक्षको मत तान्ने एमाले रणनीति

मङ्गलबार, २४ पुस २०८०, २० : ३०
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँगको सहकार्य प्रयासमा ‘ब्रेक’ लागेपछि नेकपा एमालेले गठबन्धनभित्रका अन्तर्विरोधमा खेल्ने र जतिसक्दो धेरै मत आफूतिर तान्ने रणनीति अख्तियार गरेको छ ।

त्यसअन्तर्गत गठबन्धनभित्रका असन्तुष्ट दलका नेता तथा मतदाताहरुलाई फकाउने र आफ्नो पक्षमा मतदान गराउन विभिन्न तहमा अनौपचारिक रुपमा संवाद र छलफललाई तीव्रता दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘गठबन्धनसँग असन्तुष्ट दल र असन्तुष्ट मतदाता समात्दै उनीहरुको मत आफूतिर पार्ने एमालेको प्रयत्न छ’, नेता गौतमले रातोपाटीसँग भने, ‘गठबन्धनका उम्मेदवारसँग असन्तुष्ट दल, मतदाता र गुटलाई समात्ने विकल्प हाम्रोसामु छ ।’

राष्ट्रियसभाका लागि आफ्ना उम्मेदवारहरु नै दलहरुभित्रको अन्तरविरोध र असन्तुष्टिमा खेल्न सक्ने तथा विपक्षी मतदातालाई आकर्षित गर्ने खालका भएको एमालेको दाबी छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा (राजमो) सत्ता गठबन्धनसँग टिकट नपाएकोमा असन्तुष्ट छन् । १९ पदमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनमा भागबण्डा मिलाउँदा यी चार दलले एक सिट पनि नपाएपछि असन्तुष्ट बनेका हुन् । लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चाले गठबन्धनसँग एक–एक सिट मागेका थिए ।

आफूले राष्ट्रियसभामा अघि सारेका उम्मेदवारलाई नै अघि सारेर उनीहरुमार्फत जोड घटाउमा लाग्ने एमाले नेताहरुको भनाइ छ ।

‘आन्तरिक रुपमा गठबन्धनसँग असन्तुष्ट सबैसँग कुराकानी भइरहेको छ । विशेषगरी उम्मेदवार स्वयं र हाम्रा प्रदेश अध्यक्षमार्फत संवाद भइरहेको छ’, नेता गौतमको भनाइ छ ।

एमालेले असन्तुष्ट दलको मत आफूतिर ताने पनि जित निकाल्ने सम्भावना भने छैन । ‘जित नै नभए पनि हाम्रो मत बढ्छ । सकेसम्म जित्ने, नभए मत बढाउने हाम्रो प्रयास हुनेछ’, एमालेका एक पदाधिकारी भन्छन्, ‘गठबन्धनको केही मत एमालेले लिन सक्यो भने पनि त्यसको ठुलो अर्थ रहन्छ ।’

फागुन २० मा राष्ट्रियसभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदै छ ।

१९ पदमा हुने निर्वाचनका लागि विभिन्न दलका ५२ जनाले पुस २३ मा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

प्रदेश सांसद र पालिका प्रमुख–उपप्रमुख मतदाता रहने राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग कायम छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिसकेको छ । आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेशसभा सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।

लोसपाको मतदाता मधेस र लुम्बिनी प्रदेशमा मात्र छन् । यी दुई प्रदेशमध्ये मधेसमा लोसपाको ९३३ र लुम्बिनीमा २३५ मतभार छ । त्यस्तै जनमतको मधेसमा ७४३ र लुम्बिनीमा १५९ मतभार छ । जनमतले लुम्बिनी र मधेसमा एकएक खसआर्य क्लस्टरमा मात्र आफ्नै उम्मेदवार उठाएको छ । बाँकी क्लस्टरमा जनतमले कसलाई भोट दिन्छ भन्ने खुलिसकेको छैन ।  

राष्ट्रिय जनमोर्चाका गण्डकी र लुम्बिनी प्रदेशमा क्रमशः ५७ र १२९ मतभार छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीको मधेस, लुम्बिनी र सुदूरपश्चिममा क्रमशः ५३, २१२ र ५०४ मतभार छ ।

सत्ता गठबन्धनसँग असन्तुष्ट रहेका चारवटै साना दलले एमालेलाई मत दिए पनि एमाले उम्मेदवारले जित्ने सम्भावना भने छैन । यदि एमालेले भनेजस्तो असन्तुष्ट दल र मतदाता आफ्नो पक्षमा पारे एमालेको केही मतभार भने बढ्ने देखिन्छ ।

यसैबिच लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सत्ता गठबन्धनमै रहेकाले आफूहरुको मत एमाले उम्मेदवारलाई नजाने बताए । गठबन्धनले तपाईंहरुलाई एक सिट पनि नदिएको अवस्थामा कुन पक्षका उम्मेदवारलाई मत दिनुहुन्छ ? भन्ने रातोपाटीको प्रश्नमा अध्यक्ष ठाकुरले भने, ‘यसमा कुनै शंका नै छैन । हामी गठबन्धनमा छौँ, हाम्रो मत गठबन्धनकै उम्मेदवारलाई जान्छ ।’

यी हुन् एमालेका १९ उम्मेदवार

एमालेले १९ वटै सिटमा उम्मेदवारी दिएको छ । कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा), विजेता झा (धनुषा), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौँ), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता÷अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) छन् । त्यसैगरी, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप