शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राजेन्द्र महतोले यसरी सुरु गर्दैछन् राष्ट्रिय मुक्ति क्रान्ति (दस्तावेजसहित)

बुधबार, २५ पुस २०८०, १९ : ४०
बुधबार, २५ पुस २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सो पार्टीबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा जुटेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्ति संगठन खडा गरेर उनी आन्दोलनको तयारीमा जुटेका छन् । उनले राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर बहुल राष्ट्रिय राज्य स्थापनाका निमित्त आह्वान पनि गरेका छन् । त्यसका लागि महतोले सामाजिक अभियन्ता बुद्धछिरिङ मोक्तानसँग मिलेर दस्ताबेज तयार गरिसकेका छन् ।

क्रान्ति सफल बनाउनका लागि एउटा संगठनको आवश्यकता पर्ने र त्यो संगठन निर्माणमा आफू लागेको महतोले बताए । उनले संगठनको आभावमा कुनै पनि तयारी परिणाममुखी बन्न नसक्ने भएकाले संगठन निर्माणमा जोड दिएका छन् ।

महतोले भनेका छन्, ‘सांगठनिक तयारी अन्य तयारी जत्तिकै महत्त्वपूर्ण र जोड दिनुपर्ने विषय हुन् । सांगठनिक तयारी गर्न कुशल, अनुशासित, तथा प्रतिबद्ध संगठकहरुको आवश्यकता पर्दछ ।’

महतोले तयार गरेको दस्ताबेजमा भनिएको छ, ‘विगतका विद्रोहहरु तथा आन्दोलनहरुमा उल्लेख्य मात्रामा बलिदान दिइए । तत्पश्चात् पनि ती सफल नहुनुको कारण वैचारिक तथा सैद्धान्तिक तयारीको आभाव थियो र नेपाली राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न वैचारिक तयारी प्रधान विषय बन्यो ।’

उनले राष्ट्रिय मुक्ति क्रान्ति सफल बनाउनका लािग विचारलाई प्रधान बनाएका छन् । विचारले परिपक्व नभएसम्म कुनै पनि आन्दोलन सफल हुँदैन भन्दै उनले पछिल्लो मधेस आन्दोलनलगायत विभिन्न आन्दोलन सफल नहुनुको मुख्य कारण त्यसैलाई मानेका छन् ।

संगठन निर्माणका लागि महतोले आन्तरिक एवम् बाह्य गरी दुई किसिमको तयारी गर्नुपर्ने उल्लेख गरेका छन् । आन्तरिक तयारी अन्तर्गत प्रतिस्पर्धी तथा सहयोगी शक्तिको पहिचान गर्नु र उनीहरुलाई आफ्नो लक्ष्य प्राप्त गर्न अधिकतम उपयोग गर्ने योजना र क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ ।

आर्थिक तयारीको सम्बन्धमा महतोले पुँजी नै शक्ति निर्माणको एक आधार बनेको उल्लेख गरेका छन् । उनले पुँजी निर्माण तथा परिचालनका निमित्त ठोस आर्थिक तयारी हुन जरुरी रहेको बताएका छन् ।

नेपालको वर्तमान अवस्थाको बारेमा महतोले ठोकुवा गरेर भनेका छन्, ‘हामी ठोकुवा गर्छौं, नेपाल न नेपाली कांग्रेस लगायतका दक्षिणपन्थी शक्तिले चाहे जसरी परम्परागत संसदीय व्यवस्थामा रहन सक्छ न त वामपन्थी कम्युनिस्टले चाहेजस्तो तथाकथित वैज्ञानिक समाजवादी व्यवस्थातर्फ जान्छ ।’

राष्ट्रिय मुक्ति क्रान्तिको बलमा नेपाललाई वहुलराष्ट्रिय राज्य संरचनाको सामुदायिक समाजवादी व्यवस्थामा रुपान्तरण गराउने दाबी गर्दै महतोले देशका नेतृत्वकर्ता नवउदारवादका नाइके कांग्रेस र नवदलाल कम्युनिस्टकै पछाडि बिनाअर्थ कुदिरहेको देखिएको बताएका छन् ।

उनले भनेका छन्, ‘यसर्थ अब हामीले कुनै नवउदारवादी वा नवमार्क्सवादीको पछि लाग्नुभन्दा एक पटकलाई आफ्नै ईण्डिजिनिष्ट धारबाट एउटा राजनीतिक संश्लेषण गरी शान्तिपूर्ण सशक्त विद्रोहमार्फत स्वदेशी सत्ता निर्माण गर्नुपर्छ ।’

नेपालमा संविधान जारी भए पनि त्यसले नेपाली जनताको समस्या समाधान नगरेको भन्दै महतोले फेरि पनि नेपालमा अर्को राजनीतिक विद्रोहको गुञ्जायस जीवितै रहेको र सो विद्रोहलाई पार्टीको दस्ताबेजमा ‘बहुलराष्ट्रिय विद्रोह’ भनेका छन् ।

अबको सहमति उदार लोकतान्त्रिक शक्ति र नयाँ जनवादी कम्युनिस्ट शक्तिहरु बिचमात्र नभएर यहाँको तेस्रो धार र मूलधारको शक्ति स्वदेशवादी शक्तिसँग पनि हुन जरुरी रहेको महतोले उल्लेख गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको मूल जग ‘बहुलराष्ट्रिय विद्रोह’ हुने र यसको मुख्य लक्ष्य नेपाललाई राज्य सञ्चालन अर्थात् शासनकलाको नयाँ प्रणाली विकास गराउँदै नयाँ युगमा प्रवेश गराउने रहेको उनको भनाइ छ ।

महतोले भनेका छन्, ‘अबको बाटो भनेको हामी उत्पीडित जाति–वर्गका राष्ट्रिय मुक्ति क्रान्तिका अग्रदस्ता योद्धाहरु नै समग्र रुपमा बाह्य राष्ट्रियताको मुद्दालाई पनि हल गर्ने ढङ्गले अघि बढ्नु वाञ्छनीय भएको छ ।’

यहाँका उत्पीडित जाति–वर्गका जनताहरूले देशको विद्यमान सम्पूर्ण अन्तरविरोधको हल गर्ने सवालमा नेतृत्वदायी पहलकदमी लिने बेला आएको भन्दै उनले जसको निमित्त आफूले अब कुनै उदार–दक्षिणपन्थी कांग्रेस वा वामपन्थी कम्युनिस्ट शक्तिहरूमा भर नपर्ने बताए ।

हाल भइरहेको बहसहरुमा जनवादी क्रान्तिको कार्यभार पूरा भएको र अब पुँजीवादी क्रान्ति सम्पन्न गर्दै समाजवादतर्फ फट्को मार्ने कुरा पूर्णरुपेण छलकपट, धुर्त्याइँ, फट्याइँबाहेक केही नभएको उनले प्रस्ट पारेका छन् ।

उनले यस्ता भ्रममा नपरी राष्ट्रिय मुक्ति क्रान्तिमा लाग्न सबैमा आग्रह पनि गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको कार्यभार अझै बाँकी रहेको बताउँदै महतोले यो क्रान्ति सफल भएमात्र जनवादी वा लोकतान्त्रिक क्रान्तिको कार्यभार पूरा हुने जिकिर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप