सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

थिएटरका ‘मङ्गले धामी’ अब ‘पठाओ राइडर’

बिहीबार, २६ पुस २०८०, ०९ : २२
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । थिएटर कलाकार हुन् किरण श्रेष्ठ । ‘मसानटार’, ‘द एज आफ डार्कनेस’, ‘बोधी छाया’, ‘एन्टी गोनी’, ‘कुमारी एन्ड द बेस्ट’ लगायत दर्जनभन्दा बढी नाटक अभिनय गरेका श्रेष्ठ अहिले परिचय फराकिलो पार्ने तयारीमा छन् फिल्म ‘पर्खी बसेँ तिमीलाई’ मार्फत । ‘पर्खी बसेँ तिमीलाई’ उनको डेब्यु फिल्म हो ।

नाटक ‘द एज आफ डार्कनेस’मा युयुत्सु, ‘कुमारी एन्ड द बेस्ट’ विस्ट, ‘मसानटार’ मा मङ्गले धामी, ‘बोधी छाया’ मा बुद्ध, ‘द प्लाइट’ मा पोटरलगायतका चरित्रमार्फत दर्शकको मनमा बस्न सफल श्रेष्ठ ‘पर्खी बसेँ तिमीलाई’ मा पठाओ राइडरका रूपमा देखिँदै छन् । पठाओ पछिल्लो समय सबैले प्रयोग गर्ने र सजिलो यातायात भएकाले पनि उनी आफ्नो भूमिका सबैको रोजाइमा पर्ने बताउँछन् ।

‘पर्खी बसेँ तिमीलाई’ पठाओ राइडर (ड्राइभर) को कथामा निर्माण भएको हो । जसको यो संसारमा कोही हुँदैन । पठाओ चलाएर जीवन चलाउने गर्छ । जसोतसो १२ कक्षासम्म पढेको छ । ती राइडरको मुख्य भूमिका उनले निर्वाह गरेका छन् ।

‘फिल्म पठाओ राइडर र एक धनी केटीबिचको प्रेमकथा हो । जो पठाओ प्रयोगको सिलसिलामा प्रेममा बाँधिन्छन्’, श्रेष्ठले भने, ‘फिल्मको कथा अहिलेको परिवेशसँग मिल्दो सामाजिक र प्रेम कथा छ ।’ दर्शकले फिल्ममा द्वन्द्व, रोमान्स, ड्रामा सबै पाउने उनले खुलाए ।

पछिल्लो समय नेपाली बक्स अफिसमा अभिनेता दयाहाङ राईको जगजगी छ । रिसर्च गरेर, भिजेर अभिनय गर्ने कलाकारमा पर्छन् दयाहाङ । उनकै चेला किरणले पठाओ राइडको भूमिकामा रिसर्च नगर्ने कुरै भएन । श्रेष्ठले अभिनयका लागि केही समय पठाओ राइडरकै कामसमेत गरे ।

90995444_143566163859027_6803703482239942656_n

‘आफूले अभिनय गर्ने भूमिकालाई न्याय गर्न त्यसको बारेमा ज्ञान राख्नु पर्छ’, उनले अगाडि भने, ‘मेरो बाइक दाइको नाममा छ । त्यसैले दर्ता नै गरेर पठाओ काम गर्न मिलेन । दर्ता नगरी केही समय पठाओ राइडर भने बने । सो क्रममा पठाओ राइडरको हाउभाउ, क्रियाकलाप बोलीचाली सबै नियाले ।’ फिल्ममा दर्शकले आफूलाई रियल पठाओ राइडर झैँ पाउने बताउने उनको राइडरको अनुभव एकदमै रमाइलो र स्मरणीय छ । ‘पठाओ राइडरमा लाग्ने जति पनि छन् तिनका आआफ्नो समस्या, पीडा होला । त्यो अर्को विषय हो । तर यो पेसा रमाइलो मैले अनुभव गरेँ,’ उनले थपे ।

  • अनि रोजे फिल्म 

गुड लुकिङसँगै थिएटरमको रङ्गमञ्चमार्फत अभिनयमा निखारता ल्याउन सात वर्ष बिताएका किरणले नाटकको अलवा थिएटरमा ब्याक स्टेजमा रहेर थुप्रै काम गरेका छन् । ‘ओइ बाटुली’, ‘ओरे ओरे’ लगायत करिब आधा दर्जन म्युजिक भिडियोसमेत अभिनय गरेका उनका म्युजिक भिडियो चर्चित पनि छन् । त्यो उनलाई बिचमा अभिनेता बन्ने अफर नआएको होइन । उनले राम्रो टिम र समय पर्खिए ।

‘पर्खी बसेँ तिमीलाई’ अगाडि पनि तीन फिल्मको अफर आएको थियो’, उनी भन्छन्, ‘कथा, निर्माण टिमलगायत विभिन्न विषय चित्त नबुझेर गरिनँ ।’ उनी यो फिल्म अगाडि एक वेब सिरिजमा अभिनय गर्ने तयारीमा थिए । निर्देशक दीपक श्रेष्ठले उनलाई यो फिल्मको अफर दिए । फिल्मको कथा, कलाकार र निर्देशक चित्त बुझ्यो । अभिनयमा होमिएँ ।

90922698_143566687192308_5254314740540243968_n

‘थिएटरमा काम गरिरहेको थिएँ । आफ्नो कलाकारितालाई विश्वव्यापी बनाउने माध्यम फिल्म पनि हो । अब गर्नुपर्छ भन्ने लाग्यो’, उनले अगाडि भने ‘दीपक सरकै पर्खी बसेँमार्फत राज बल्लभ कोइरालाले डेब्यु गर्नुभएको थियो । यही नाम पाएपछि झनै उत्साहित भएँ । मेरो चरित्र पनि मनपर्‍यो । फिल्म निर्देशक दीपक श्रेष्ठ, कलाकार शिव श्रेष्ठ यो क्षेत्रका दिग्गज हुन् । दिग्गजसँग काम गर्न को अघि बढ्दैन र ?’ 

किरणको फिल्म प्रचार प्रसारमा दौडधुप पनि रामै्र छ । ट्रेलर, गीतलगायतबाट पनि उनले राम्रो प्रतिक्रिया पाएका छन् । त्यसैले फिल्मको व्यवसाय राम्रो हुन्छ जस्तो उनलाई लाग्छ । डेब्यु फिल्म भएकाले अभिनय प्रतिक्रिया पनि उनले धेरै आस छैनन् । प्रतिक्रिया जस्तो आए पनि इजी रूपमा स्वीकार्ने उनको सोच छ ।

  • थिएटरले सिकाउँछ, फिल्मले चिनाउँछ 

कतिपय कलाकार थिएटर र फिल्ममा आकाश जमिनको भिन्न रहेको धारणा राख्छन् । किरणले भने खासै फरक पाएनन् रे । उनी मिडियम मात्र फरक भएको बताउँछन् । भन्छन्-' थिएटरले सिकाउछ र फिल्मले चिनाउँछ' ।

'थिएटर ब्याकग्राउन्ड भएकाले होला काम गन सजिलै भयो’, उनले फिल्म अनुभव राखे, ‘थिएटरले फिल्म अभिनयमा धेरै सजिलो गर्दाेरहेछ । थिएटरले चरित्रमा भिज्न, इजी बस्न र ग्राउन्डेड गर्न सिकाउँछ । जुन फिल्ममा मात्र होइन, जुनै अभिनयमा पनि काम लाग्छ ।’ थिएटरले जीवन बुझाउने उनको धारणा छ ।

पहिलो फिल्मपछि कति कलाकार हराएका छन् । उनी भने निरन्तरता दिने सोचमा छन् । फिल्मको व्यवसायले उनको निरन्तरतामा केही फरक पर्दैन । किनभने उनी आफ्नो भूमिकाले दर्शकलाई सन्तुष्ट दियो, दिएन त्यता ध्यान दिन्छन् । ‘मेरो भूमिकाबाट दर्शक सन्तुष्ट हुन्छन् । किनभने मैले पात्रमा भिजेरै अभिनय गरेको छु’, उनले भने ।

फिल्ममा आएपछि धेरैले थिएटर बिर्सन्छन् । उनी दुवै अगाडि बढाउने सोचमा छन् । थिएटरमा धेरै कुरा अझै सिक्न बाँकी रहेको उनी बताउँछन् । यी दुई माध्यममा अभिनयको भेरिएसन फरक पक्कै छ । थिएटरमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ । फिल्ममा चाहिँ रेकर्डेड हुन्छ । ‘फिल्ममा इमोसनलाई निरन्तरता दिन मुस्किल पर्ने रहेछ’, किरणले अनुभव सुनाए, ‘एउटा कलाकार भएपछि दुवैतर्फ काम गर्न सक्नु पर्छ ।’

दोलखाका किरण ललितपुर इमाडोलबाट आफ्नो कलाकारिता अगाडि बढाउँदै आएका छन् । सानैदेखि कलाकारिताप्रतिको रुचिले नृत्य थालेका उनले १० कक्षासम्म नियमित नृत्य गरे । त्यसपछि मार्सल आर्टसहित उनी मोडलिङमा होमिए । मोडलिङको अनुभवसहित थिएटर छिरेका उनको राम्रो र सफल कलाकार बन्ने लक्ष्य छ । भन्छन्, ‘अभिनेताका लागि अभिनय अनिवार्य छ, डान्स र एक्सनले त्यसमा पुस गर्छ ।’ दयाहाङ राई र विपिन कार्कीसँग नाटकमा अभिनय गरिसकेका उनको अब सौगात मल्लसँग अभिनय गर्ने इच्छा छ ।

‘पर्खी बसेँ तिमीलाई’ अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा उनको अलवा रक्षा बुढाथोकी, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका छ ।  राजाराम बुढाथोकीको निर्माण रहेको फिल्म नेपालसँगै सिक्किमको रमणीय स्थानमा छायाङ्कन भएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्टमार्फत र मोफसलमा एफडी कम्पनीमार्फत प्रदर्शन हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप