आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सडकमा गुड्दा गुड्दै उड्नेछ यो कार

शुक्रबार, २७ पुस २०८०, १७ : ३९
शुक्रबार, २७ पुस २०८०

लस एञ्जलस । अमेरिकाको लस एञ्जलसमा आयोजित कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस)मा कम्पनीहरूले एकसे एक नयाँ कन्सेप्ट र विद्युतीय सवारी साधनहरू पेस गरिरहेका छन् । यसैबिच चिनियाँ कम्पनी एक्सपेङ्ग एरोएचटीले पनि आफ्नो उड्ने कार एक्सपेङ एरोएचटी सार्वजनिक गरेको छ । 

स्टेजमा कार आउने बित्तिकै यसले दर्शकहरुको ध्यान आफूतिर खिचेको थियो । रोचक कुरा चाँहि के छ भने यो ब्रान्डिङ वा प्रमोशनका लागि ल्याइएको साधारण कन्सेप्टको सवारी साधन होइन । कम्पनी यो मोड्युलर फ्लाइङ कारप्रति गम्भीर छ ।

यो वर्षको अन्त्यसम्ममा चीनमा उड्ने कारको बुकिङ सुरु गरिने कम्पनीले बताएको छ । सन् २०२५ सम्ममा कारको डेलिभरी पनि सुरु गर्ने योजना भएको बताइएको छ । २०२५ को अन्त्यसम्ममा युजरहरुले यो कार प्रयोग गर्न सक्नेछन् । एक्सपेङ एशियाको सबैभन्दा ठूलो फ्लाइङ कार बनाउने कम्पनी हो । यो नयाँ कन्सेप्टले यातायातको भविष्य नै फेरिदिने दाबी कम्पनीले गरेको छ ।

यो कारको डिजाइनलाई दुई हिस्सामा बाँडिएको छ । कार जमिनमा दौडिनुको साथसाथै हावामा पनि उड्न सक्छ । यो इलेक्ट्रिक भर्टिकल टेक–अफ र ल्यान्डिङ एयरक्राफ्ट (ईभोल्ट) हो । यसलाई सजिलैसँग सकडमा कारको रुपमा चलाउँदै गर्दा चाहिएको बेलामा विमान जसरी हावामा उडाउन सकिन्छ । कारको मोडलाई जमिन र हावा गरी २ वटामा स्वीच गर्न सकिन्छ । यो कार आकस्मिक समयमा उपयोगी हुने दाबी कम्पनीले गरेको छ ।

यसलाई व्यक्तिगत निजी वाहनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई आकस्मिक सेवा, उद्धार कार्य आदीमा पनि प्रयोग गर्न सकिन्छ । कम्पनीले सीईएसमा कारको डेमो पनि दिएको थियो । कम्पनीले चीनबाहिर यो कारको डेमो दिएको यो पहिलो पटक हो । एक्सपेङ्ग एरोएचटी एक्सपेङ मोटर्सको सहायक कम्पनी हो । यसले गएको १० वर्षदेखि लो–एल्टीट्यूड एक्सप्लोरेशनको क्षेत्रमा काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप