बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
बाँदरआतङ्क

बाँदरबाट कृषि बालीमा हुने नोक्सानी कसरी नियन्त्रण गर्न सकिन्छ ?

शनिबार, २८ पुस २०८०, ०६ : ०७
शनिबार, २८ पुस २०८०

काठमाडौँ । पछिल्लो समय देशभरका विभिन्न क्षेत्रमा बाँदरको आतङ्कका कारण कृषि बाली नष्ट हुने गरेको छ । कतिपाय स्थानमा बाँदरले दुःख दिने गरेकोभन्दै बाली लगाउनसमेत किसानले छोडेका छन् । बाँदरले ठाउँ अनुसार फरक किसिमको दुःख दिने गरेको पाइन्छ । कहीँ फलफूल खाएर, बालीनाली नष्ट गरेर दुःख दिएको छ । सहरी क्षेत्रमा मानिसलाई झम्टने, लखट्ने, मन्दिर जानेलाई दुःख दिएको देखिन्छ ।

बाँदर नियन्त्रण गर्न ठाउँ अनुसार अध्ययन गरी सोही अनुसार व्यवस्थापन गर्न विज्ञहरुले सुझाएका छन् । बाँदर सर्वभक्षी जनावर भएकाले प्रायः सबैथोक खाने गरेको वन्यजन्तु वैज्ञानिक प्रा.डा. मुकेश कुमार चालिसेले बताए । उनले भने, ‘खाने क्रममा मान्छेको खेती बाली खाने र नष्ट गर्ने गर्छ ।’

पहिला जङ्गल फँडानी गरेर बस्ती बसाउने चलन थियो । जङ्गल कम हुँदा बाँदर लगायत जङ्गली जनावरलाई खानाको कमी भएकाले खेतबारीमा आएर बाली खाने गरेको चालिसेले बताए । ‘जङ्गल मासिँदै गयो, जनावरलाई खाने कुरा पुगेन,’ उनले भने, ‘मान्छेले के गर्छ भनेर बाँदरले हेरिरहेको हुन्छ, त्यही क्रममा मान्छेले उत्पादन गरेको कृषि उपज पनि खान सिके, त्यसपछि बाली खाएर दुःख दिन थाले ।’

घना जङ्गलमा बस्ने बाँदर र गाउँ छेउछाउ बस्ने बाँदरको स्वभाव फरक भएको वन्यजन्तु वैज्ञानिक प्रा.डा. चालिसेले बताए । ‘गाउँ नजिक बस्ने बाँदर सबै चिज खान खोज्छ, देखेर सिकेर,’ उनी भन्छन्, ‘जङ्गलमा बसेको बाँदरलाई अम्बा, केरा खान दिएमा तर्सेर भाग्छ ।’

‘रातो बाँदर धेरैजसो दाना, किरा फट्याङ्ग्रा, फलफूल खाने भएकाले सबैभन्दा बदमास हुन्छ, किनकि यो बाँदर खाना नचपाइ खाएर घाँटीमा जम्मा गर्छ, लङ्गुर बाँदर र अरु बाँदरले चपाएर खानै पर्छ ।’

उनका अनुसार उत्पादन गरेको बाली बाँदरले सजिलैसँग खान पाउने भएकाले जङ्गलमा खोजीखोजी खानु भन्दा तयार भएको कृषि बाली खाने गरेको पाइन्छ ।

कृषि विज्ञ राम बहादुर केसीले बाँदरले बालीमा क्षति पु¥याएको स्थिति निकै नै भयावह भएको बताए । ‘तराईमा निल गाई, बँदेलको प्रकोप छ भने मध्यपहाडमा बाँदरहरुको प्रकोप छ,’ केसीले भने, ‘पहिला मकैको सिजनमा मकै जोगाउन सकस हुन्थ्यो, अहिले सबै बाली जोगाउन सकस छ ।’

पछिल्लो समय मान्छेहरु सहर केन्द्रित भएपछि गाउँघरमा खेतीबाली कम हुने र क्षति बढी हुने उनले सुनाए । ‘जङ्गलमा प्रशस्त मात्रमा फलहरु पाइन्थे,’ उनले भने, ‘जङ्गली फल खाएर बाँदरहरु भुलेका थिए, अहिले ती फल नरहेको आवस्था छ । जङ्गल छ तर झाडी बढी भए ।’

थरीथरीका बाँदर

नेपालमा विभिन्न थरीका बाँदर छन् । रातो बाँदर, कालो बाँदर, पहरे बाँदर (पूर्वी नेपालमा एक थरी र पश्चिम नेपालमा अर्को थरी), लङ्गुर बाँदर (तराई, पहाड र हिमालमा बस्ने फरक–फरक बाँदर )छन् ।

रातो बाँदरले खाएर घाँटीमा जम्मा गरेर राख्ने हुनले बालीनालीमा सबैभन्दा धेरै क्षति पुर्याउने प्रा.डा. चालिसेले उल्लेख गरे । ‘रातो बाँदर धेरैजसो दाना, किरा फट्याङ्ग्रा, फलफूल खाने भएकाले सबैभन्दा बदमास हुन्छ,’ उनले भने, ‘किनकि यो बाँदर खाना नचपाइ खाएर घाँटीमा जम्मा गर्छ, लङ्गुर बाँदर र अरु बाँदरले चपाएर खानै पर्छ ।’

प्रा.डा. चालिसेको अध्ययन अनुसार नेपालमा रातो बाँदरको संख्या एक लाखको हाराहारीमा छ । करिब पचास-पचास हजारको संख्यामा लङ्गुर र पहरे बाँदर छन् ।

बाँदरबाट हुने क्षति कसरी कम गर्न सकिन्छ ?

पछिल्लो समय बालीमा बाँदरबाट हुने क्षतिलाई कम गर्न खेती गर्दै आएको बाली फेर्ने, बाँदर धपाउने औजार प्रयोग गर्ने, बाँदरका लागि आहार व्यवस्थापन गर्ने जस्ता काम गर्न सकिने विज्ञहरु बताउँछन् ।

प्रा.डा. मुकेश कुमार चालिसेले बढी बाँदर हुने क्षेत्रमा सा–साना चिडियाखाना बनाउन सकिने बताए । ‘सहरी क्षेत्रमा बाँदर धेरै हुने क्षेत्रमा ती बाँदरलाई समातेर सा–साना चिडियाखाना बनाउने गर्दा पनि बाँदरबाट हुने नोक्सानी न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।

किसानले बाली फेर्नुपर्ने प्रा.डा. चालिसेले सुझाए । ‘मकै लगाउने ठाउँमा धान लगाउने, सुर्ती, खुर्सानी, अदुवा, बेसारजस्ता बाली लगाउने,’ उनले भने, ‘जहाँ बाँदर धेरै हुन्छन्, त्यहाँ बिजुलीको सानो भोल्ट अर्थात् १० भोल्टको बिजुलीको तार लगाउन सकिन्छ ।’

बाँदरको आतङ्क बढी भएको क्षेत्र पहिचान गरी सोही अनुसार व्यवस्थापन गर्न चालिसेले सुझाए । ‘जहाँ बाँदर छन्, त्यहाँको अध्ययन गर्ने,’ उनले भने, ‘रातो बाँदर औषधि परीक्षण गर्न धेरै काम लाग्ने हुने भएकाले जहाँ बढी बाँदर हुन्छ, त्यहाँ परीक्षणको प्रयोगशाला बनाइ अध्ययन गर्न सकिन्छ ।’

उनले बढी बाँदर हुने क्षेत्रमा सा–साना चिडियाखाना बनाउन सकिने बताए । ‘सहरी क्षेत्रमा बाँदर धेरै हुने क्षेत्रमा ती बाँदरलाई समातेर सा–साना चिडियाखाना बनाउने गर्दा पनि बाँदरबाट हुने नोक्सानी न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।

बाँदर नियन्त्रण वा व्यवस्थापनका लागि जङ्गलमा फलफूल रोप्ने कार्यक्रम लागू गर्न सकिने कृषि विज्ञ केसीले सुझाए । ‘आहार व्यवास्थापनका लागि जङ्गल, सडक वा खोला किनारमा फलफूल लगाउनु पर्छ,’ उनले भने, ‘उनीहरुको संख्या नियन्त्रण गर्न जरुरी छ, त्यो चाहे बन्ध्याकरणबाट होस् वा चाहे अरु कुनै उपाय होस्, यसलाई नियन्त्रण गर्न अत्यन्तै जरुरी छ ।’

बाँदर धपाउने यन्त्रले केही समय नियन्त्रण गर्न सकिन्छ तर दीर्घकालीन रुपमा व्यवस्थापन गर्न नियम अनुसार पहल गर्नुपर्ने केसीले सुझाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप