बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्याला मजदुरी गर्नेमा लागूऔषध समस्या बढ्दो

शनिबार, २८ पुस २०८०, १३ : ११
शनिबार, २८ पुस २०८०

धरान । धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागूऔषधको समस्या बढिरहेको पाइएको छ । अघिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा यसरी लागूऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

त्यसैगरी, बेरोजगार युवा र विद्यार्थीको सङ्ख्या पनि बढिरहेको पाइएको छ । आव २०७७/७८ मा लागूऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना पक्राउ परेकामा आव २०७८/७९ मा ३६ र आव २०७९/८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए । त्यस्तै, बेरोजगार युवामा आव २०७७/७८ मा पाँचजना र आव २०७८/७९ मा दुईजना पक्राउ परेकामा आव २०७९८० मा २२ जना पक्राउ परेका थिए । 

लागूऔषधको मुद्दामा पक्राउ पर्नेमा विद्यार्थीको सङ्ख्या पनि बढ्दो मात्रामा देखिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा दुई/दुईजना विद्यार्थी पक्राउ परेकामा आव २०७९/८० मा सातजना पक्राउ परेका छन् । त्यस्तै, उमेरको आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।

प्रहरीले यो उमेर समूहकालाई अघिल्ला दुई आर्थिक वर्षमा ३२ र नौजना पक्राउ गरेकामा आव २०७९/८० मा ४६ जना पक्राउ गरेको थियो । दोस्रोमा ८ देखि २५ वर्षसम्मका युवाको सङ्ख्या धेरै छ । १७ वर्षभन्दा कम उमेरका पक्राउ पर्नेको सङ्ख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ जना पक्राउ परेकामा आव २०७९/८० मा एकजना मात्र पक्राउ परेका थिए । 

इलाका प्रहरी कार्यालयका अनुसार २०७९ साल चैत १ देखि २०८० मङ्सिर महिनासम्ममा लागूऔषधका ५० मुद्दा दर्ता भएका छन् जसमा ७० पुरुष र एकजना महिना पक्राउ परेका छन् । चालु आव २०८०/८१ को हालसम्म २५ वटा मुद्दामा ३९ जना पक्राउ परेका छन् ।

आव २०७९/८० मा लागूऔषधका ६५ मुद्दा दर्ता भएकामा ९२ पुरुष र दुईजना महिला पक्राउ परेका थिए । आव २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएर ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए ।

लागूऔषधका कारोबारीहरुले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले जानकारी दिए । उनका अनुसार धरानमा अवैध रुपमा प्रतिबन्धित औषधिहरुको प्रयोग बढिरहेको छ । 

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रबार लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन् । उनी घर र विद्यालय तहबाटै सचेतना फैलाउन आवश्यक भएको ठान्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप