सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कला

हिलिङ जाजरकोट : विद्यालयको प्राङ्गणबाट कला र मानवीय संवेदनाको यात्रा

शनिबार, २८ पुस २०८०, १४ : २६
शनिबार, २८ पुस २०८०

काठमाडौँको सानो भर्‍याङस्थित ‘स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुल’ले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ ‘हिलिङ जाजरकोट’ नाम दिएर फरक खालको कला गतिविधि सम्पन्न गर्‍यो । एउटा स्थानमा कला कार्यशाला गरियो भने कार्यशालामा सिर्जित कलालाई अर्को स्थानमा बिक्रीका लागि प्रदर्शनीमा राखियो । कला बिक्रीबाट उठेको रकमबाट जाजरकोट भूकम्पबाट पीडित बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ गरिएको यस कला गतिविधि आफैँमा महत्त्वपूर्ण थियो । 

गएको मंसिर २४ गते यस स्कुलकै प्राङ्गणमा ठुल्ठुला छाता टाँगेर रमाइलो र घमाइलो वातावरणमा कला कार्यशाला गरिएको थियो । जसमा हामी ९ कलाकार सहभागी थियौँ— कलाकार किरण मानन्धर, मुकेश मल्ल, सङ्गी श्रेष्ठ, एरिना ताम्राकार, आशा डङ्गोल, चिराग बाङ्देल, मनिषलाल श्रेष्ठ, सागर मानन्धर र सरिता डङ्गोल । 

यसअघि पनि यही स्कुलका शिक्षक शिक्षिका, विद्यार्थी र कर्मचारीहरू मिलेर जाजरकोट भूकम्पपीडितलाई सहयोग गरिसकेका रहेछन् । यसैको दोस्रो संस्करणका रूपमा कला कार्यशालाको सन्दर्भ जुरेको रहेछ । 

बालबालिकालाई औपचारिक शिक्षासँगै अतिरिक्त गतिविधिमा जोड्नु यस कार्यक्रमको दरिलो पक्ष देखियो । यस कार्यशालामा प्रत्यक्ष रूपमा बालबालिका संलग्न नभए पनि प्रत्यक्षदर्शीका रूपमा थिए । जाजरकोटको त्रासदिमा छटपटाइरहेका बालबालिकासम्म सहयोगको हात पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रमले यस स्कुलका विद्यार्थीलाई कलासँग मात्रै होइन, मानवीय संवेदनासँग पनि जोडेको आभास हुँदै थियो । 

विद्यार्थीलाई सिर्जनशील भएर सोच्न, सहयोग गर्न, सहयोगी कार्यमा अग्रसर हुन पनि यस कार्यक्रमले प्रेरित गरेको महसुस गर्न सकिन्छ । 

कार्यशाला चलिरहँदा यस स्कुलकी म्यानेजिङ डाइरेक्टर मीना महर्जन, प्रिन्सिपल नेहा केसी लगायतले तत्परताका साथ सहयोगीको भूमिका खेलिरहेको परिदृश्य पनि सुन्दर थियो, देखिन्थ्यो । 

IMG_20231210_151741__01__01__01

कला कार्यशाला चलिरहँदा स्कुले विद्यार्थी र पत्रकारहरूले कलाबारे सोध्नु र कलाकारले कसरी आफ्ना कृतिलाई जाजरकोटसँग जोड्दा रहेछन् भनी चासो लिइरहनुले बेग्लै माहोल बनिरहेको थियो । यही माहोलकै कारण होला सहभागी कलाकार हरेकले दिनभरिमा दुईवटासम्म कलाकृतिमा हात हाले । अलि विस्तारमा काम गर्ने कलाकारले भने अपुरा क्यानभासलाई घरमा लिएर गए । कार्यशालाभरि कलाकारहरू तन्मयका साथ सिर्जनामा लागेको देखिनु पनि एक खालको सौन्दर्य थियो । 

  • कला कार्यशालाको प्रसङ्ग

राजनीतिक वा सामाजिक परिस्थिति र प्राकृतिक दैवी–प्रकोप आदिसँग कलालाई जोडेर कार्यशाला नै आयोजना हुन थालेको हामीकहाँ ज्यादै धेरै समय भएको छैन ।

०५९–६० सालतिर जब काठमाडौँ उपत्यकामा गणतन्त्रका लागि चर्को आन्दोलन भइरहेको थियो । सडकको वातावरण धुवाँ–धुलो र आगोको लपेटाले आक्रान्त बनेको थियो । त्यस बखत कलाकारको एउटा ठूलो जत्थाले सडक माझ बसेर कलाको सिर्जना गरेको थियो । सम्भवतः त्यस बेला कलाकारहरू खुलेरै व्यवस्थाविरोधी आन्दोलनमा संलग्न भएका थिए । 

त्यतिबेला आन्दोलन चरमोत्कर्षमै थियो । आन्दोलनकारीले गाडीका टायर नजलाएको कुनै सडक र चोकहरू थिएनन् । प्रहरी र आन्दोलनकारीबिच एक किसिमको भिडन्त, मान्छेहरू हताहत हुनु आदिले वातावरण त्रासदिपूर्ण थियो । त्यस्तो बेला भएको एउटा अचम्मको कला कार्यशालामा म आफैँ पनि कलाकारको रूपमा सहभागी हुन पुगेको थिएँ । गोंगबुको यो मूल सडकमा दर्जनौँ कलाकारहरूले स–साना क्यानभासमा कला पोतिरहेका थिए । अनि कविहरूले ती कलामाथि कविता कोर्दै थिए । त्यहीँ कविले कविता लेखिसकेपछि त्यसलाई आधार बनाएर कलाकारले कलाको निर्माण गरेका पनि थिए । यी चित्र बिक्री भएर आउने रकमबाट घाइते आन्दोलनकारीलाई सहयोग गरिएको थियो । त्यसो हुँदा बाटो हिँड्ने मान्छहरूले कला पूरा हुँदानहुँदै किनेका थिए । त्यति बेला कलाको दाम पनि थोरै राखिएको थियो । त्यसमाथि व्यवस्था परिवर्तनको प्रसङ्ग र सहयोगको भावना जोडिएकाले खुबै चित्र त्यतिबेला बिकेको थियो । यसले एक खालको कलागत संस्कृति जन्मायो । यसैको विकसित रूपमा अचेल सहयोगार्थ कला कार्यशाला जताततै हुन थालेको देखिन्छ । यस कार्यशाला पनि उही निरन्तरता हो भन्नैपर्छ । 

  • कला प्रदर्शनी 

यस कार्यशालामा सिर्जित चित्र गएको पुस ७ गते ललितपुरको जीजी मचान (एक प्रतिष्ठित रेस्टुराँ)मा प्रदर्शन गरियो । झट्ट हेर्दा अनौपचारिक तर थोरै औपचारिक जस्तो भएर शुभारम्भ भएको प्रदर्शनी कार्यक्रममा सहभागी सबै नै चिफ गेस्ट थिए । किरण मानन्धर र मैले चित्रकलाबारे बोलेका थियौँ । चिरागले चित्रबारे विस्तृत रूपमा प्रस्ट्याउँदै थिए । यो कार्यक्रमको ढाँचा आफैँमा नौलो थियो ।

पछिल्लो झन्डै दुई दशकयता यसरी ठूला होटल तथा रेस्टुराँका भित्तामा कला प्रदर्शन गर्ने चलन चल्दै आएको छ । यस्तो प्रदर्शनीमा होटल–रेस्टुराँका ग्राहकहरू चिया–कफीको चुस्कीसँगै कलालाई अवलोकन गर्ने गर्छन् । यस्तो माहोलमा कला बिक्रीको सम्भावना हुने भएकाले अचेल काठमाडौँ उपत्यकाका दर्जनौँ रेस्टुराँमा कला प्रदर्शनी हुने गर्छन् । 

IMG_20231210_151817

जीजी मचानको कला प्रदर्शनी पनि यसैको निरन्तरता हो । चिया–कफीदेखि कलाका पारखीको बाक्लो उपस्थितिले यो प्रदर्शनी खास किसिमले सफल रहेको मान्नुपर्छ, कला बिक्रीको पाटो भने अर्को रह्यो । 

  • थोरै कलाकृतिबारे 

यस कार्यशालामा ४० देखि ७० वर्षका कलाकार सहभागी हुनु र उनीहरूले कला सिर्जना गर्नुले पनि बेग्लै महत्त्व बोकेको मान्नुपर्छ । 

अर्धअमूर्त कलामा चिरपरिचित किरण मानन्धर यसपल्ट अलि बेग्लै पाराले उदाए । उनलाई यसपल्ट थोरै सेन्टिमेन्टले छोएजस्तो भएको छ । उनले प्रायः क्षणभरमै वा निमेषमै कला बनाउने गर्छन् । यसपल्ट भने अलिकता समय लिएर काम गरे । भाव–अभिव्यञ्जनाका लेपन पनि उनका पात्रका मुखाकृतिमा स्थापित हुन खोज्दै गरेको देखिन्थ्यो । दुईवटा आकृतिहरू एउटाचाहिँ स्पष्ट र अर्को धुमिल अवस्था देखिनु, समवेदनाको प्रतीकका रूपमा दृष्टिगोचर भएजस्तो देखिनु, यसपल्टको उनको कलाको खास विशेषता देखिन गयो । 

उनको चित्रमा कोमल कमलो सेतो रङले डोमिनेन्ट रहँदा छटपटाहट, पीडा, निराश र हतास मनस्थितिमाथि कोमल मलमपट्टी लगाएजस्तो महसुस हुन्थ्यो । कोमल त मिठास हो, तर उनको कलामा यसपालि दर्दको प्रतीक वा विम्ब भएर देखापरेको थियो । 

किरण ८० को दशकमा एक अलग्ग कलागत शैली र प्रवृत्तिका साथ उदाएका समसामयिक कलाकार हुन् । उनका कलामा अमूर्तन अनि अमूर्त अभिव्यञ्जनावादको सुगन्धसँगै मानव आकारले चलखेल गर्छन् । मोटा तुलिकाघात, मिठो स्वादिलो रङ्गीय स्किम अनि गतिपूर्ण रेखा आदिले छर्ने सौन्दर्यताले गर्दा उनका चित्रहरूले निकै ख्याति आर्जन गरेका छन् । 

यसपालि मनिषलालका चित्र पुरानै आफ्नै विम्ब घन्टी लिएर आए । उनको चित्रमा डाँडाकाँडा अनि कालो रेखा जीवजन्तु वा मान्छेको प्रतीक बनी सलबलाउँदा भावकको मन पनि चलायमान हुन्थ्यो । अनायस आकाशउँदी हावामा गोलाकारभित्र घन्टी बज्दै गरेको आभास बनाउनु उनको कलाको शक्ति हो, जसले शान्त स्निग्ध वातावरणमा पनि त्रासदिको आभास गराउँछ, यही नै मनिषको खास कलागत विशेषता हो । 

सन् २००० को आसपासमा उनी घन्टीलाई विम्बका रूपमा लिएर उदाएका थिए । क्यानभासमा मात्र उनले घन्टी ल्याउँदैनन्, पर्फर्मेन्स कलामा पनि उनी घनन घन्किने घन्टी बजाउँदै कैयौँपटक सडकतिर हिँडेका छन् । कलामा किसिम–किसिमको सन्देश बोकेर कुद्ने उनको घन्टी यसपालि दर्दको पराकाष्ठाको रूपमा देखिन पुग्यो । 

IMG_20231223_164706 - Copy

काठको खम्बाजस्तो सपाट क्युबिक फर्ममा खेल्न रुचाउने सङ्गी श्रेष्ठले महिलाको मुखाकृति, त्यसमा देखिने गरी रातो टीका ल्याएर क्यानभास सजाउने गर्छिन् । यो उनको निजी शैली हो । उनको चित्रमा कलात्मक बुट्टाहरूले पृष्ठभूमिमा ढकमक्क ढाकिन्छ भने अग्रभागमा सुनौलो रङ लेपन गरिएको हुन्छ । कुनै महिला, उनको भूमिका र दुःख–दर्द, ठुलो आँधीबेरी थामिएपछिको स्थिर निःशब्दता आदि उनको चित्रमा देखिन्छ । यसपल्ट पनि यस्तायस्तै थिमका साथ उनी उभिएकी छन् । 

यस्तै सागर मानन्धर र मुकेश मल्लले मनमा गुजुल्टिएका दुखेसा–दर्दका भावलाई नितान्त अमूर्ततामा पोख्न पुगेका छन् । सागर अहिलेका युवा कलाकारहरूमा सम्भवतः सबैभन्दा सशक्त अमूर्त चित्रकार हुन् । रङ र अमूर्त फर्महरूसँग निस्फिक्री खेल्न सक्ने उनको अद्भूत क्षमता छ । 

आफ्नै चिरपरिचित शैली सिग्नेचरमा एरिना ताम्राकार क्यानभासभरि गम्भीर शान्त महिलाको प्रतिविम्ब लिएर देखापरेकी छन् । महिलाको ठुलो मुखाकृति चित्रपटको कुनै पनि नेगेटिभ स्पेसलाई नछाडीकन अङ्कन गर्ने उनको कलागत शैली पृथक छ । महिलाको अनुहार मात्र होइन, महिलाका अनेक छटपटी, सुखदुःखलाई समेत उनले आफ्ना क्यानभासमा उतार्ने गर्छिन् । यसपल्ट उनले यही आफ्नो सिग्नेचरलाई प्राकृतिक प्रकोपसँग जोडेर कला सिर्जना गरेकी छन् । 

आशा डङ्गोलले यसपालि भत्केका गाउँघरको रङ्गीविरङ्गी विम्बलाई अमूर्ततामा पोख्न पुगेको देखिन्छ । समसामयिक मुद्दाहरूमा विशेष गरेर मिथको प्रयोग, प्यारोडी अनि देवीदेवताको अनेक रूप ल्याउनु उनको विशेषता नै हो । यसपल्ट भने उनले नितान्त अमूर्त कला बनाउन पुगेकी छन् । 

सरिताका चित्रपटमा तुर्लुङ्ग झुन्डिएको खुर्सानीको विम्ब आउनुको बेग्लै कथा छ । यो विम्बलाई उनले केही वर्षहरूदेखि खेल्दै सम्हाल्दै आइरहेकी छन् । महिलाका कथा, भावना र संवेदनालाई खास तवरले क्यानभासमा उतार्ने सरिताले यसपल्ट काँडाहरूमा खुर्सानीलाई झुन्ड्याएर प्रकोपको व्यथा पोखेकी छन् । 

चिराग बाङ्देल लामो समयदेखि लोककलाको विम्बमा खेल्दै आएका छन् । उनको कलामा युगल जोडीको पे्रमालाप, फूलको सन्दर्भ र पानीहाँसको जोडी आदि लयात्मक रूपमा प्रस्तुत भएको देखिन्छ । उनको चित्रमा कवितात्मकता छ, लय छ । मूलतः उनी राम्रा कवि पनि हुन् । अङ्ग्रेजी भाषामा राम्रा कविता लेख्ने उनी कला लेखनमा प्रखर देखिन्छन् । संसार जे–जस्तो भए पनि अन्ततः प्रेम नै यथार्थमा शास्वत सत्य हो जस्तो भएर उनका चित्र देखिन्छन् । यो उनको कलागत विशेषता हो । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप