बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

फेसियल गर्दा एचआईभीको सङ्क्रमण भएपछि....

सोमबार, १७ वैशाख २०८१, १० : ५१
सोमबार, १७ वैशाख २०८१

वाशिङ्टन डीसी । हिजोआज लामो समयसम्म युवा देखिन मानिसहरू कस्मेटिक सर्जरी र सुईको साहारा लिइरहेका हुन्छन् । अनुहारमा सुई लगाएर छालालाई सुन्दर र जवान देखाउन भ्याम्पायर फेशियल गर्ने चलन पनि छ । यसै फेशियलबारे एउटा अचम्मको घटना बाहिरिएको छ । अमेरिकामा भ्याम्पायर फेशियल गराउन गएका तीन महिलालाई एड्स गराउने भाइरस एचआईभीको सङ्क्रमण भएको छ ।

महिलाहरूलाई भाइरसको संक्रमण अमेरिकाको न्यू मेक्सिको राज्यको एक स्पामा भ्याम्पायर फेशियल गराउँदा भएको हुन सक्ने बिहीबार अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल (सीडीसी)ले बताएको छ । कस्मेटिक इन्जेक्शनको क्रममा कसैलाई एचआईभी भएको यो पहिलो केस भएको सीडीसीको भनाई छ । यस अघि यस्तो घटना कहिले पनि नदेखिएको एउटा विज्ञप्तिमा सीडीसीले भनेको छ ।

सन् २०१८ मा एक महिलाले न्यू मेक्सिकोमा लाइसेन्स बिनै चलिरहेको एउटा स्पाबाट प्लेटलेट–रिच–प्लाज्मा माइक्रोनिडलिङ प्रक्रियाबाट फेशियल गराएका थिए । यसपछि महिलामा एचआईभी पोजिटिभ पाइएको थियो । यो घटना बाहिर आएपछि सीडीसीले न्यू मेक्सिकोको स्वास्थ्य विभागसँग मिलेर कस्मेटिक इन्जेक्शनबाट एचआईभी कसरी भयो भनेर यसको छानबिन गरेको थियो ।

एचआईभी सङ्क्रमण भएकी महिलाले कहिले पनि सुईबाट लागू औषध लिएकी थिइनन् । न त सङ्क्रमित रगत नै दिइएको थियो । उनले एचआईभी सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्क पनि नराखेको बताइएको छ । भ्याम्पायर फेशियल गराएपछि उनमा एचआईभी पोजिटिभ देखियो । एचआईभीको सङ्क्रमण अल्बुकर्कको भीआईपी स्पामा भ्याम्पायर फेशियल गर्दा भएको सन् २०१९ मा न्यू मेक्सिकोको स्वास्थ्य विभागले भनेको छ ।

यस घटनापछि स्पालाई बन्द गराइयो । सन् २०२३ सम्ममा सो स्पाबाट भ्याम्पायर फेशियल गराएका चार महिला र एक पुरुषमा सङ्क्रमण पाइएको छ । पुरुष चार महिलामध्ये एकको पार्टनर भएको बताइएको छ । संक्रमितमध्ये दुईले कस्मेटिक सुई लगाउनु अघि नै आफूलाई सङ्क्रमण भएको हुन सक्ने बताएका थिए । तर तीन जनालाई भने स्पाबाटै सङ्क्रमण भएको बताइएको छ ।

के हो भ्याम्पायर फेशियल ?

भ्याम्पायर फेशियलको लागि ४५ मिनेटदेखि एक घण्टासम्म समय लाग्छ । बढ्दो उमेरको निशानी छोप्न मानिसहरू यो ट्रिटमेन्ट गर्ने गरेका छन् । यसमा हातबाट रगत निकालेर सुईमार्फत सोही व्यक्तिको अनुहारमा इन्जेक्ट गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप