आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नगरपालिकामा तालाबन्दी, मेयरको घरमा हिउँदे अधिवेशन

आइतबार, २९ पुस २०८०, १९ : ३१
आइतबार, २९ पुस २०८०

रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालमाथि करोडौँ भ्रष्टाचारको आरोप लगाउँदै उपमेयरको नेतृत्वमा जनप्रतिनिधिहरुले तालाबन्दी गर्दै आएको आइतबार सातौँ दिन हो तर मेयर जैसवालले कटहरिया–९ डुमरियास्थित आफ्नो घरमै हिउँदे अधिवेशन भएको घोषणा गरेका छन् ।

उपमेयर रिता देवी यादव, वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ता, ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, बाल्मीकि यादव, वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौँ नेता कार्यकर्ताले ८ बुँदे मागसहित गत आइतबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।

आफूहरुको माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोल्ने बरु थप सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी थियो । तर मेयर अजयप्रकाशले आइतबार बहुमतसहित हिउँदे अधिवेशन सम्पन्न भएको दाबी गरेका छन् ।

rautahat

५ जना वडा अध्यक्ष, १४ जना कार्यपालिका सदस्य र आफूसहित बहुमत सदस्य अधिवेशनमा सहभागी भएको उनले दाबी गरेका छन् । अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह लगायत नगरपालिकाका कर्मचारी समेत सहभागी थिए ।

नगरपालिकाको प्राङ्गणमा विरोध प्रदर्शन भइरहेकाले आफूसहित बहुमत सदस्यले नगरभित्रै हिउँदे अधिवेशन सम्पन्न गरेको मेयरको भनाइ छ ।

यसैबिच कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले जनतालाई अवहेलना गरी आफ्नो निजी स्वार्थका लागि निजी घरमा गरिएको नगर अधिवेशनले कटहरिया नगरवासीको हित नगर्ने बताए ।

उपमेयर रिता देवी यादवले पनि चोर बाटोबाट गरिएको अधिवेशनको कुनै मान्यता नहुने र आफूहरुको आन्दोलन जारी रहने बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप