सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सिटौला राष्ट्रियसभा अध्यक्ष बन्दा कता ढल्किन्छ उनको समूह ?

सोमबार, ०१ माघ २०८०, ०९ : ०३
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसभित्र राष्ट्रियसभा निर्वाचनपछि आन्तरिक समीकरण नयाँ आकार लिने सम्भावना देखिएको छ । विगत ८ वर्षदेखि पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनावी मैदानमा छन् । माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्यतर्फ सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका सिटौलाको जित निश्चित जस्तै छ । यता राष्ट्रियसभा अध्यक्ष बन्नेमा पनि सिटौला ढुक्क जस्तै देखिन्छन् । 

राष्ट्रियसभा अध्यक्ष बनेको अवस्थामा सिटौला कांग्रेसको आन्तरिक राजनीतिबाट प्रत्यक्षरुपमा अलग्गिने भएपछि उनी निकट नेता–कार्यकर्ता अन्योलमा छन् । राजनीतिको उत्तरार्द्धमा रहेका सिटौला राष्ट्रियसभा अध्यक्षबाट बाहिरिएर सक्रिय राजनीतिमा आउने सम्भावना छैन । 

पार्टीभित्र गुटगत ओत कता लाग्ने भन्नेमा नेताहरूमा अन्योल देखिन्छ । २०७२ साल फागुन १९ मा काठमाडौँको बत्तीसपुतलीबाट कांग्रेसको राजनीतिमा सिटौला समूहको उदय भएको थियो । १३ औँ महाधिवेशनमा सिटौलाले सभापतिको उम्मेदवारी घोषणा गरेपछि पार्टीमा तेस्रो धारको जन्म भएको थियो ।

कांग्रेसको १३ औँ महाधिवेशनअघि सिटौला तत्कालीन संस्थापन समूहमै थिए । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि संस्थापन समूहबाट सभापतिको उम्मेदवार बन्न प्रतिस्पर्धा चल्यो । तत्कालीन संस्थापन समूहबाट तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल उम्मेदवार बन्दा तत्कालीन महामन्त्री सिटौलाले विद्रोह गरेका थिए । तत्कालीन संस्थापन इतर पक्षबाट शेरबहादुर देउवा मैदानमा थिए ।

सिटौलाको विद्रोहमा गगन थापा, उमाकान्त चौधरी लगायतले साथ दिए । थापा महामन्त्री र चौधरी कोषाध्यक्षको उम्मेदवार बने । सभापतिको प्रत्याशी सिटौलाले ३२४ मत पाएर तेस्रो भए । दोस्रो चरणको निर्वाचनमा सिटौलाको साथ पाएपछि सभापतिमा देउवा निर्वाचित भए ।

त्यसयता निरन्तर सभापति देउवासँगै रहे पनि सिटौलाले गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीसहितको समूह खडा गरेर पार्टीमा तेस्रो धारको नेताका रूपमा आफूलाई उभ्याएका थिए । कांग्रेसको मूल राजनीतिमा सिटौला नेतृत्वको तेस्रो धार सधैँ निर्णायक देखिन्थ्यो । सिटौला समूह जता ढल्क्यो त्यतै पल्ला भारी हुने स्थिति थियो । नेविसंघ र महिला संघमा सिटौला–देउवा समूहले जित्यो भने डीएलए र ट्रेड युनियन कांग्रेसमा सिटौला–पौडेल समूहले जित्यो । 

पार्टीका अधिकांश तहमा सिटौला समूहले समर्थन गरेको समूहले जित हात पारेको थियो । १३ औँ देखि १४ औँ महाधिवेशनसम्मको अवधिमा सिटौलाले पार्टीभित्र र सत्ता दुवैतिर राम्रो भागबन्डा लिए । त्यसबेला सिटौलाकै जोडबलमा गगन थापा स्वास्थ्यमन्त्री र भीमसेनदास प्रधान रक्षामन्त्री बनेका थिए । पार्टीको मनोनीत केन्द्रीय सदस्यमा आफू निकट ४–५ को स्थान सुरक्षित गराए । 

त्यसैको बलमा उनी १४ औँ महाधिवेशनमा सभापति लड्ने मुडमा थिए । तर महाधिवेशनको मुखमा गगन थापा तत्कालीन पौडेल समूहमा खुलेपछि सिटौलाको शक्ति ह्रास भयो । त्यसपछि सिटौला सभापतिको दौडमा ब्याक भए । सिटौलाले १४ औँ महाधिवेशन आफ्नो समूहलाई देउवा क्याम्पमा मिसाए । 

महाधिवेशनमा सभापति देउवाको सहयोगी बनेका उनले महामन्त्रीमा आफ्नो समूहबाट प्रदीप पौडेललाई उम्मेदवार बनाए । महामन्त्रीमा पौडेल पराजित भए । सिटौलाकै जोडबलमा केन्द्रीय समितिमा मनोनीत भएका पौडेल गत वर्षको आम निर्वाचनसम्म सँगै थिए । गत वर्ष पुस ६ मा कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा सिटौला र पौडेलको मत बाझियो । 

सिटौलाले देउवाको पक्षमा उभिन गरेको आग्रह अस्वीकार गरेर पौडेल महामन्त्री गगन थापाको समर्थक बसे । झापा–३ मा लगातार दोस्रो पटक निर्वाचन हारेका सिटौलालाई पौडेलले साथ छोड्दा थप आहत भयो । त्यसपछि उनी कांग्रेसको आन्तरिक गतिविधिमा शक्तिहीन र शिथिल थिए । पार्टीमा निष्प्रभाव हुँदै गएपछि सिटौलालाई राष्ट्रियसभातिर डोर्‍याएको उनी निकट नेताहरू बताउँछन् । 

गत असोजमा उनले आफू निकट नेताहरूलाई सक्रिय बनाउने प्रयास गरे । पार्टी केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कोशी प्रदेशका महामन्त्री एवम् संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राई र गण्डकी प्रदेशका सांसद एवम् बागलुङ सभापति जित शेरचनले ‘संवाद केन्द्र’ मार्फत सिटौलालाई जगाउने कोशिस गरेका थिए । संवाद केन्द्रले सात प्रदेशमा कार्यक्रम पनि गरेको थियो ।

अहिले केन्द्रीय कार्यसमितिमा सिटौला निकट उमाकान्त चौधरी सहमहामन्त्री छन् । केन्द्रीय समितिमा कुन्दनराज काफ्ले, तारामान गुरूङ, धना खतिवडा र शिव हुमागाईं सिटौला पक्षका केन्द्रीय सदस्य हुन् । त्यस्तै, भ्रातृ संस्थामा पनि सिटौलाले केही मान्छे व्यवस्थापन गरेको देखिन्छ । झापाका जिल्ला सभापति देउमान थेबे र बागलुङ जिल्ला सभापति जीत शेरचन सिटौला निकट मानिन्छन् । कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा सिटौलाका विश्वास पात्र हुन् । 

कोशी प्रदेश कार्यसमिति र संसदीय दलमा सिटौला निकटको बलियो उपस्थिति छ । सिटौला राष्ट्रियसभा अध्यक्ष बन्दा कोशी प्रदेशमा अब नेता शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा आमनेसामने हुने देखिन्छ । महामन्त्री शर्मालाई गृह जिल्ला झापाको पार्टी राजनीतिमा पनि हाबी हुन सहज हुने नेताहरू बताउँछन् ।

कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउनुअघि शर्माले सिटौलालाई निवासमै गएर भेटेका थिए । ‘दाइलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने कुरामा मेरो समर्थन छ । तर, दाइले म पनि महामन्त्री भइसकेको कुरा बुझिदिनुपर्‍यो,’ शर्माको भनाइ थियो । सिटौलाले आगामी दिनमा पार्टी राजनीतिमा साथ दिन तयार रहेको जवाफ फर्काएका थिए । 

तर, सिटौला समूहको युवापंक्ति बिस्तारै गगन थापासँग नजिकिँदै गरेको देखिन्छ । सिटौला समूहमा हिजो आफूले अगाडि बढाएका व्यक्तिहरू थापा र प्रदीप पौडेलसँगै आइपुगेका छन् । सिटौला निकट नवराज त्रिपाठी पछिल्लो समयमा थापा समूहको विद्यार्थी मोर्चा सम्हाल्ने भित्रिएका छन् । 

सिटौलाको उम्मेदवार दर्तामा नेता शेखर कोइराला र महामन्त्री शर्मा पुग्नु पनि अर्थपूर्ण छ । महामन्त्री गगन थापा पनि सिटौलालाई मत माग्न कोशी प्रदेश जान कार्यक्रम तय भइसकेको छ । सिटौला पार्टीमा सर्वसम्मत उम्मेदवार बन्नुका पछाडि पनि कांग्रेस १५ औँ महाधिवेशन जोडिएको नेताहरू बताउँछन् ।

पार्टीको विद्यमान विधान अनुसार देउवा आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । राष्ट्रियसभामा देउवाले प्रस्ताव गरेका सिटौलाको नाममाथि सभापतिका आकाङ्क्षी शेखर कोइराला र महामन्त्री गगन थापा मौन रहे । राष्ट्रियसभा उम्मेदवारी छनोटमा ६ बुँदे मौखिक फरक मत राखेका महामन्त्री शर्माले सिटौलाको नाम मात्र स्वीकार्य भएको बताएका थिए । सिटौला निकट नेताहरूले भने १५ औँ महाधिवेशनअघि संस्थापन पक्षसँगै रहेन मनस्थितिमा देखिन्छन् । सिटौलानिकट पार्टी केन्द्रीय सदस्य शिव हुमागाईँले अहिले कुनै पनि नेताहरूको ओत लाग्न नजाने बताउँछन् ।

‘हामी १४ औँ महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट उभियौँ,’ उनी भन्छन्, ‘अहिले पनि त्यही ढङ्गले अगाडि बढ्छौँ । अब उहाँलाई सभापति लड्न विद्यमान विधानले दिँदैन । १५ औँ महाधिवेशनमा कता उभिने त्यसको सम्मुखमै थाहा हुन्छ ।’ अहिले कुनै नेताको पक्षमा उभिनेभन्दा पनि पार्टीको पक्षमा उभिने हुमागाईको भनाइ छ । ‘हामी पार्टी पक्षमा उभिन्छौँ । पार्टीको पक्षमा उभिँदा अब पार्टीले नै संरक्षण गर्ला,’ उनी भन्छन् । 

बागलुङ जिल्ला सभापति जीत शेरचनले भने आफूहरूले नयाँ समूह खडा गर्ने बताए । उनले भने, ‘अब हाम्रो समूह नयाँ विचार समूहका रूपमा अगाडि बढ्छ । संवाद केन्द्रमार्फत हामी यो विचार समूहलाई सशक्त बनाउँछौँ । कसैको छातामुनि पस्ने भन्ने छैन ।’ यस्तै झापा जिल्ला सभापति देउमान थेबेले सिटौला राष्ट्रियसभा अध्यक्ष बने पनि समूहमा उनको समूह रहिरहने बताए । ‘उहाँ राष्ट्रियसभा अध्यक्ष भए पनि उहाँको समूह रहिरहन्छ । उहाँ राजनीतिमा रहिरहनुहुन्छ । बाँकी कुरा उहाँले के भन्नुहुन्छ त्यही अनुसार अगाडि बढ्छ,’ थेबे भन्छन् । 

नेता भीमसेनदास प्रधानका अनुसार सिटौलाको समूहका मान्छे तान्न नेताहरूले राष्ट्रियसभा निर्वाचनमै आन्तरिक कसरत गरिरहेका छन् । ‘उहाँ सर्वसम्मत उम्मेदवार बन्नुभयो । उहाँलाई अहिलेको अवस्थामा बिच्क्याउने पक्षमा कोही छैन,’ उनी भन्छन्, ‘शेखर कोइराला र विश्वप्रकाश शर्मा उम्मेदवारी दर्तामा पुग्नु पनि अर्थपूर्ण छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप