शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संवादहीनताको अन्त्य गरी समस्याको समाधान खोज्न कुल आचार्यको आग्रह

सोमबार, ०१ माघ २०८०, २० : ००
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष कुल आचार्यले  एनआरएनए संस्थाको नवीकरण गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन्  । अदालतमा मुद्दा गरेर, सरकारसँग जोरी खोजेर समस्याको समाधान नहुने उनले बताए  ।

एनआरएनएमा बद्री केसी नेतृत्वको समूहले संस्था नवीकरण नगरिदिएको भन्दै परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत ललितपुरमा मुद्दा दर्ता गरे पछि उनले त्यस्तो टिप्पणी गरेका हुन् ।

पाटन उच्च अदालतले परराष्ट्र मन्त्रालयलाई १५ दिनको कारण देखाऊ आदेश जारी गरेको छ ।

‘अहिलेको अवस्थामा सबैले मिलेर एक ठाउँमा बसेर तालुकदार मन्त्रालयसंग सहकार्य गरेर समस्या समाधान गर्नुको विकल्प हुँदैन, नकि त्यही मन्त्रालयसँग जोरी खोजेर मुद्दा मामला गरेर हामी कहाँ पुग्छौँ ? जसले संरक्षण दिने हो उहीसँग हामी लड्न थाल्यौ भने हामीले संस्थालाई कहाँ पुर्याउँछौं ? त्यो काम बन्द गर्न अनुरोध गर्छु,' आचार्यले भने।

उनले बद्री केसी र आरके शर्मा नेतृत्वको दुई समूहबिचको संवादहीनतालाई अन्त्य गरी समस्याको समाधान गर्न आफूहरु प्रयासमा रहेको र  केसीले नेतृत्व गरेको समूहले प्रविधिको दुरुपयोग गरी संस्थालाई मुट्ठीमा  राख्न चाहेकोले संवादमा नआएको आरोप लगाए ।

संविधानले गैर आवासीय नेपालीलाई दिएको सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारलाई व्यवस्थित गरी गैर आवासीय नेपालीलाई नागरिकता वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि विवादमा रहेका दुवै पक्ष एकीकृत भएर नागरिकताको समस्या समाधान गर्न लाग्नुपर्ने धारणा उनको छ ।

‘हामीले जसरी मिलेर यो समस्याको समाधान पहिला गरेका थियौँ नागरिकता पाउने सन्दर्भमा जुन उपलब्धि हासिल गरेका थियौँ । अहिले नमिल्दै गर्दा ती कुरा ओझेलमा पर्छन् । सबै पक्षका साथीहरु सँगै हिँडेर धेरै कामहरु भएका थिए ।  अहिलेको विवादले गर्दाखेरी सरकारसँग हाम्रा समस्या छन् र समाधान गर्दिनुपर्‍यो भनेर कुरा गर्नसक्ने अवस्था छैन । त्यसकारण सबै पक्षलाई आग्रह के भने यदि गैर आवासीय नेपालीको हितमा काम गर्न आउनुभएको हो भने विवाद मिलाउनुस्,आफ्नो स्वार्थ छ भने लडिराख्नुस्’ आचार्यले भने ।

विवाद मिलाउन आफूहरुले चासो दिएरै लाग्दा पनि स्वार्थका कारण विवाद समाधान हुन नसकेको उनले बताए।   आफैँले विवाद मिलाएर सबैलाई समेटेर काम गर्ने चेष्टा नेतृत्वले गर्नुपर्ने र त्यो नगरेसम्म कुनै नेतृत्वलाई विश्वास गर्न नसकिने उनले  धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप