प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशलाई कर्णालीले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले हराएको छ । जारी प्रतियोगितामा तेस्रो खेल खेलेको कर्णाली प्रदेशले हासिल गरेको यो दोस्रो जित हो ।
कर्णाली प्रदेश यसअघि एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । लुम्बिनी प्रदेशको भने जारी प्रतियोगितामा यो दोस्रो हार हो । लुम्बिनी प्रदेश यसअघि एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो ।
सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने ४१.२ ओभरमा अलआउट हुनुअघि एक सय २४ रनमात्र बनाउन सक्यो ।
लुम्बिनी प्रदेशका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । सातौँ नम्बरमा क्रिज समाल्न आएका कृष्णले ७७ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काएका थिए । ओपनर ब्याट्सम्यान मृनाल गुरुङले पनि २२ रन बनाएका थिए ।
लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । मोहम्मद हुसैन १० रनमा पेभेलियन फर्किए । ओपनर सम्राट भुसाल आठ रनमै आउट भएका थिए । टोलीको खातामा निर्मल गुरुङले पनि १० रन थपे । अभिषेक गौतमले नौ रन बनाए ।
लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारीले तीन विकेट लिए । अनुज चनरा र दीपेन्द्र रावतले पनि दुई–दुई विकेट हात पारे । दिवान पुनले पनि एक विकेट लिए ।
त्यसअघि कर्णाली प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । तल्लोक्रमका ब्याट्सम्यानले सुधारिएको प्रदर्शन गरेपछि कर्णाली प्रदेशले राहत अनुभव गरेको थियो । कर्णालीका लागि नवौँ नम्बरमा क्रिज समाल्न आएका दीनेश अधिकारीले अर्धशतकीय पाली खेले ।
उनले टोलीका लागि अविजित ५६ रनको योगदान गरे । टोली अप्ठ्यारो अवस्थामा रहँदा उनले केवल ५९ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । दीपेन्द्र रावतले पनि टोलीका लागि ४७ रनको योगदान गरे । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६९ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।
चौथो नम्बरका ब्याट्सम्यान हिमांशु शाहीले पनि टोलीको खातामा २५ रन थपेका थिए । उनले ४२ बलको सामना गरी पाँच चौका प्रहार गरे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रविन्द्र शाही भने ११ रन बनाउँदै आउट भएका थिए ।
अर्का ओपनर राजेश खड्का सात रन बनाउँदै पेभेलियन फर्किए भने विपिन शाहीले खातासम्म खोल्न सकेनन् । दिवान पुन पनि शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्ती पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
प्रकाश जैसीले टोलीको खातामा नौ रन थपे । कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि २७ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर अभिषेक गौतम र निर्मल गुरुङले तीन–तीन विकेट लिए । मोहम्मद हुसैन, कृष्ण कार्की र अजय चौहानले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण