बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

बुधबार, ०३ असार २०८३, २३ : १२
बुधबार, ०३ असार २०८३

सारांश

  • युएईका एयरलाइन्सले द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न नयाँ बीमा योजना ल्याएका छन्।
  • एमिरेट्सले चिकित्सा कभरेज, यात्रा रद्द र सामान हराएमा सुविधा दिने घोषणा गरेको छ।
  • इतिहाद एयरवेजले युएई भ्रमण गर्ने यात्रुलाई निःशुल्क चिकित्सा सेवा दिनेछ।

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त अरब इमिरेट्स (युएई)का प्रमुख एयरलाइन्सले विस्तारित यात्रा बीमा र सुविधा योजना सार्वजनिक गरेका छन् ।

युएईको प्रमुख एयरलाइन्स एमिरेट्स एयरलाइन्सले बुधबार नयाँ यात्रा बीमा प्याकेज घोषणा गरेको छ, जसअन्तर्गत द्वन्द्वको अवस्थामा विस्तारित चिकित्सा कभरेज, यात्रा रद्द, ढिलाइ, सामान हराउने तथा आपत्कालीन उद्धारजस्ता सुविधा समेटिएका छन् ।

एयरलाइन्सका अनुसार यस योजनाको उद्देश्य यात्रुलाई थप सुरक्षा र विश्वास प्रदान गर्नु हो । एमिरेट्सका अध्यक्ष टिम क्लार्कले दुबईलाई प्रमुख पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्दै यात्रुको विश्वास बढाउन नयाँ बीमा सुविधा आवश्यक भएको बताए ।

उनका अनुसार बजारमा यात्रासम्बन्धी बीमा कभरेजमा कमी देखिएकाले कम्पनीले ग्राहक आवश्यकतालाई ध्यानमा राख्दै यो योजना अघि सारेको हो ।

त्यसैगरी अबुधाबीस्थित इतिहाद एयरवेजले जुलाइदेखि डिसेम्बरसम्म युएई भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुका लागि निःशुल्क चिकित्सा सेवा प्रदान गर्ने घोषणा गरेको छ ।

यस क्षेत्रको हवाई यातायात पछिल्ला महिनामा इरानसँग सम्बन्धित द्वन्द्वका कारण प्रभावित भएको बताइन्छ । विश्लेषकका अनुसार मध्यपूर्वमा बढ्दो तनावले उडान सञ्चालन र पर्यटक आगमनमा असर पारेको छ ।

यसैबीच, आगामी दिनमा वाशिङ्टन र तेहरानबीच द्वन्द्व समाधानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । यद्यपि दीर्घकालीन शान्ति सम्झौताका लागि थप वार्ता आवश्यक रहने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप