आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा उपेन्द्र यादव र सीके राउतबिच द्वन्द्व : कृषि विश्वविद्यालयमा तालाबन्दी

आइतबार, ०७ माघ २०८०, १४ : २२
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । जनमत पार्टीले विभिन्न माग राख्दै सप्तरीको राजविराजमा रहेको मधेस कृषि विश्वविद्यालयमा तालबन्दी गरेको छ ।

मधेस कृषि विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रमलाई लिएर केही दिनदेखि जनता समाजवादी पार्टी र जनमत पार्टीबिच द्वन्द्व चलिरहेको थियो । शिलान्यास कार्यक्रममा विश्वविद्यालयले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतले आपत्ति जनाउँदै आएको थियो ।

द्वन्द्व बढ्दै गएपछि माघ ८ गते हुने शिलान्यास कार्यक्रमलाई स्थगित गर्न मधेस प्रदेश सरकारका शिक्षा मन्त्री महेश यादवले मुख्यमन्त्री सरोज यादवलाई आग्रह गरेका थिए तर मुख्यमन्त्री यादवले सबै तयारी पूरा भएका कारण यसलाई स्थगित गर्न नमिल्ने भनेपछि जनमतले तालबन्दी गरेको स्रोतले जनाएको छ ।

जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज रामगमन साहले कृषि विश्वविद्यालयका भीसी तथा रजिष्ट्रारले विश्वविद्यालयलाई राजनीतिकरण गरेका कारण आफ्नो पार्टीले तालाबन्दी गरेको बताए ।

विश्वविद्यालयको भवन निर्माणका लगाइएको ठेक्कामा अनियमितता गरेको, परीक्षा बोर्ड गठन नगरी आफ्नै तरिकाले परीक्षा लिइ विद्यार्थीको भविष्य अन्योलमा राखेको जस्ता आरोप लगाएर जनमत पार्टीका नेता तथा कार्यकर्ताले आइतबार तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएकोमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आपत्ति जनाउँदै आएका थिए । उनले शिलान्याश कार्यक्रममा जसपाका अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाए त्यसको प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

राउतले विश्वविद्यालयको भवन निर्माणलगायत अन्य कार्यका लागि ३० करोड बजेट दिलाउन आफूले पहल गरेको तर सप्तरी–२ को सांसद नै रहेका उपेन्द्र यादवलाई के आधारमा प्रमुख अतिथि बनाइयो भन्ने प्रश्न गरेका थिए ।

अध्यक्ष राउत सप्तरीमै रहेको बेला विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोमबार विश्वविद्यालय भवनको शिलान्याश कार्यक्रम छ । त्यसको प्रमुख अतिथि जसपा अध्यक्ष उपेन्द्र यादवलाई राखिएको छ । तर कार्यक्रममा निमन्त्रणाका लागि बाँडिएको पत्रमा प्रमुख अतिथि को हुने भन्ने खुलाइएको छैन ।

सोमबार हुने शिलान्यास कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पार्ने मधेस सरकारको तयारी छ भने जनमत पार्टीले पनि प्रतिकार गर्ने तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप