आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रतिष्ठाको लडाइँ

हारेको निर्वाचन क्षेत्रमा उपेन्द्र यादव ‘प्रमुख अतिथि’ : रिसाए सीके राउत

मङ्गलबार, ०२ माघ २०८०, १६ : २२
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । ०७९ मंसिरको आम निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउत विजयी भएका थिए । तर, आफू विजयी निर्वाचन क्षेत्रमा हुन लागेको एक कार्यक्रममा यादवलाई प्रमुख अतिथि बनाउन लागिएको भन्दै राउत आक्रोशित बनेका छन् । 

प्रसङ्ग हो, मधेस कृषि विश्वविद्यालयको  । विश्वविद्यालय स्थापनाका लागि जनमतले पहल गरेपनि आफ्नै निर्वाचन क्षेत्रमा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउन लागिएको भन्दै राउतले आक्रोश पोखेका हुन् । उनले आक्रोशमात्रै होइन, प्रतिकारसम्मको चेतावनी समेत दिएका छन् । 

उनले सामाजिक भनेका छन्, ‘दिनरात गरेर सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा मधेस कृषि विश्व विद्यालयलाई ३० करोड बजेट हाल्न लगाउने जनमत पार्टीले, अनि कार्यक्रम हुँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रमुख अतिथि जसपाका अध्यक्षलाई बोलाउने ? किन, के को लागि? के त्यो उहाँको निर्वाचन क्षेत्र हो ?’  उनले यस्तै हस्तक्षेपको रवैया रहे अब प्रतिकार हुने चेतावनीसमेत दिएका छन् । 

मधेस विश्व विद्यालयको आफ्नै भवन निर्माणका लागि माघ ११ गते शिल्यानाशको कार्यक्रम राखिएको छ ।  सो कार्यक्रममा विश्व विद्यालयले जसपाका अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएको हो । जसका कारण राउत आक्रोशित भएर प्रतिकार गर्नेसम्मको चेतावनी दिएका हुन् ।    

Capture

उनले सप्तरी–२ को राज रंगशालासहित दर्जनौँ परियोजनामा पनि जनमतको पहलमा बजेट परेको जिकिर गरेका छन् ।  तर कार्यक्रम हुँदा जसपाका नेता तथा कार्यकर्ताले कब्जा गरेर जनमतलाई बहिष्कार गर्ने गरेको उनको गुनासो छ । 

सोही क्रममा छ महिनादेखि दिनरात गरेर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशदेखि बजेट विनियोजनसम्म गराउने काम आफ्नो पार्टीले गरेको तर त्यसको श्रेय लिने कार्य जसपाले गरिरहेको उनले दाबी गरेका छन् । तर जसपाका नेताहरुले यसबारेमा राउतले भ्रमपूर्ण प्रचार गरिरहेको दाबी गरेका छन् । जसपा सप्तरी जिल्ला समन्वय समितिका अध्यक्ष केदार यादवले भने, ‘मधेस विश्वविद्यालय बनाउनमा सिके राउतको कुनै योगदान छैन, उपेन्द्र यादवले त्यो विश्वविद्यालय सप्तरीमा स्थापना गर्न लगाउनु भएको हो र अहिलेसम्म जति पनि बजेट आएका छन् ती सबै उहाँकै पहलमा आएको हो सिके राउत केही पनि गर्नुभएको छैन ।’

जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पहलमा जुन ३० करोड रुपैयाँ पारेको दाबी गरेका गरेपनि त्यो प्रदेश सरकारको बजेट भएको उनले बताए ।  प्रदेशको नियमित प्रक्रियाबाट त्यो बजेट आएको यादवको दाबी  छ । उपेन्द्र यादवले मधेस प्रदेश सरकारका अर्थ मन्त्रीसँग पहल गर्नुका साथै केन्द्रमा समेत भएको पहलकदमीबाट अहिलेको नतिजा आएको उनको दाबी थियो । 

सप्तरी–२ मा अध्यक्ष राउतको जनाधार घट्दै गएको कारण उनले जथाभाबी बोल्न थालेको केदार यादवले दाबी गरे । ‘फेसबुकबाट मात्र प्रतिकार गरेर हुँदैन, फिल्डमा आउनु पर्‍यो नि’, भन्दै उनले भने । चुनावको समयमा राउतले बोर्ड मात्र झुन्ड्याएर विकास हुँदैन भनेको तर चुनाव जितेको एक वर्षभन्दा बढी भइसक्दा पनि जनताको पक्षमा केही गर्न नसकेको उनको जिकिर छ । 

तर जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज ममता झाले मधेस विश्वविद्यालयदेखि लिएर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतलाई निरन्तरता दिने काम आफ्ना पार्टीका अध्यक्ष राउतले गरेको दाबी गरिन् । उनले भनिन्, ‘उपेन्द्रजीले सप्तरीमा कस्तो काम गर्नुभएको थियो सबैले हेरेकै बुझेकै कुरा हो, मात्र बोर्ड झुन्ड्याएर हुँदैन, यो खोल्छु, त्यो खोल्छु भनेर त्यसको बोर्ड झुन्ड्याइएको थियो तर त्यसलाई पूर्णता दिने काम जनमत पार्टीले गरेको हो । तर अहिले आएर सो पार्टीलाई बाइकट गर्ने काम भइरहेको छ ।’

रंगशाला, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालयलाई निर्माणका लागि बजेट दिलाउन अध्यक्ष राउतले पहल गरेको कुनै कतै नछिपेको उनको भनाइ थियो ।  उनले भनिन्, ‘उपेन्द्र यादवजीले विभिन्न प्रोजेक्ट त सप्तरी लग्नुभयो, त्यहाँका जनतालाई सपना देखाउनु भयो तर त्यो पुरा गर्नुभएन त्यसलाई पुरा गर्ने काम सिके राउतले गर्नुभएको हो ।’ 

उपेन्द्र यादव सप्तरीमा पराजित भएपछि बाराबाट उपनिर्वाचन लडेर संसद् छिरेका थिए । तैपनि उनको सप्तरीमा सीकेसँग लडाइँ जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप