सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रामबहादुर बम्जन प्रकरण

बम्जनकी श्रीमतीले पीडितलाई सोधिन्, ‘तिमी गर्भवती त भएकी छैनौ नि?’

बलात्कारको विषय बाहिर ल्याउन लागेपछि उल्टै चोरीको आरोप
सोमबार, ०८ माघ २०८०, ११ : ३२
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । जबरजस्ती करणीको कसुरमा आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने रामबहादुर बम्जन पुर्पक्षका लागि थुनामा छन् । सर्लाही जिल्ला अदालतमा चलेको मुद्दामा रामबहादुर बम्जनको नामले परिचित रामलाल बम्जन ‘अहिले नै कसुरदार होइनन् भनेर भनिहाल्न सकिने अवस्था नदेखिएको’ भन्दै अदालतले थुनामा पठाएको हो । 

सर्लाही जिल्ला अदालतमा २०७७ असार १८ गते दर्ता भएको बाल यौन दुरुपयोगको उक्त मुद्दाका प्रतिवादी रामलाल बम्जन फरार रहेका कारण अन्य आदेश गर्ने र साक्षी बुझ्ने तथा प्रमाण बुझ्ने काम मात्रै भएको थियो । तर केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौँबाट पक्राउ गरेपछि प्रहरीले अदालतमा पेश गरेको थियो । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते बम्जनलाई थुनामै राख्ने आदेश दिएका थिए । 

  • के थियो घटना ?

रामबहादुर बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जबरजस्ती करणी र बाल यौन दुरुपयोगको जाहेरी परेको थियो । आफू आनी भई बम्जनले सञ्चालन गरेको सर्लाही लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित महासवौरधी धर्म संघको आश्रममा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको आरोप थियो । 

२०७३ साल साउन २० गतेदेखि पटकपटक ती आनीमाथि बलात्कार भएको आरोप लागेको छ । २०७३ सालदेखि आफूमाथि पटकपटक बलात्कार भएको र बलात्कारको घटना बाहिर ल्याउन लागेपछि आफूमाथि चोरीको आरोप लगाएको समेत पीडित किशोरीको जाहेरीमा उल्लेख छ । 

बलात्कारको घटनाको हदम्याद कटेपछि मात्रै किशोरी आश्रमबाट बाहिर निस्कन पाएकी थिइन् । त्यहाँबाट निस्केपछि मात्र उनले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि तत्कालीन कानुनी व्यवस्थाका कारण जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नमिलेपछि बाल यौन दुरुपयोगको कसुरमा मुद्दा दर्ता गरी सजाय भने जबरजस्ती करणीकै कसुरमा हुने सजायको मागदाबी लिइएको थियो । बम्जनमाथि १४ वर्षसम्मको कैद सजायको मागदाबी गरिएको छ ।

बम्जनले बलात्कार गरेको कुरा श्रीमतीलाई समेत थाहा थियो

पीडित किशोरीले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानमा बम्जनले आफूमाथि पटकपटक बलात्कार गरेको कुरा बम्जनकी श्रीमती दीपशिखा बम्जनलेसमेत थाहा पाएको दाबी गरेकी थिइन् । बम्जनले नै श्रीमती दीपशिखालाई ‘त्यो केटी गर्भवती भएकी छ कि सोध’ भनेर भनेपछि बम्जनकी दिपशिखाले पीडित किशोरीलाई नै ‘तिमी गर्भवती भएको छौ कि छैनौँ’ भनेर सोधेको पीडितको बयानमा उल्लेख छ । बम्जनकी श्रमिती दीपशिखाले समेत पीडित किशोरीमाथि कुटपिट गरेको किशोरीको बयानमा उल्लेख छ ।

  • यस्तो छ पीडित किशोरीको घटना विवरण कागज :

‘म जाहेरवाली मिति २०७१।०४।२८ गते गुरु रामलाल बम्जनको दर्शन गर्नको लागि बारा जिल्लाको हलखोरियास्थित आश्रममा लिएर गई मलाई बुवाले त्यही आश्रममा छाडेर आउनुभयो । म त्यहाँ करिब १ महिना जति त्यहाँ आश्रमको रेखदेखको काममा बसे, त्यसपछि गुरुले म समेत आफ्नो श्रीमती दीपशिखा बम्जन, बहिनी रिन्छेन्मो र विष्णु बल तथा ४ जना नाम थर थाहा नभएका चेला समेतलाई सिन्धुपाल्चोकस्थित आश्रममा पठाउनुभयो । त्यहाँ करिब २ वर्ष जति बसी, त्यहाँ आश्रमको रेखदेख तथा सरसफाई तथा खाना पकाउने काम समेत हामी आनीहरु मिलेर गथ्र्यौँ । २०७३ सालको वैशाख महिनातिर सर्लाही जिल्लाको पत्थरकोटस्थित आश्रममा म समेत गुरुको श्रीमती दिपशिखा बम्जन, विष्णु बल, रिता घलान तथा अन्य केही संघ भक्त चेला समेतलाई गुरुको मान्छेहरुले लिएर आए । आश्रमभित्र गुरु बस्ने घर खाना पकाउने किचेन एक ठाँउमा छुट्टा छुट्टै घर थियो र ति घरबाट अन्दाजी २।३ फिट पैदल हिड्ने दुरीमा साना साना अन्दाजी ५।६ वटा टहराहरु थियो ।

ति टहराहरुमा चेलाहरु तथा भक्तहरु बस्थ्यो र म गुरुको खाना पकाउने भान्सा कोठामा बस्थेँ । मिति २०७३।०४।२० गते राती अन्दाजी ९ देखि १० बजेको समयमा म सोही आश्रमको किचेनमा सुतेको थिएँ, त्यसै बेला निज प्रतिवादी रामलाल बम्जनले मलाई (क), (क) (पीडितको परिवर्तित नाम) भन्दै बोलाउनु भयो । म बाहिर निस्कने बितिकै निज प्रतिवादीले एक्कासी एक हातले मेरो मुख थुनी अर्काे एक हातले मेरो दुवै हात पछाडी लगी समाएर मलाई निज सुत्ने कोठामा लगी मेरो मुख थुनी नै राखी आफ्नो कोठाको चुकुल लगाई मलाई प्लाष्टिकको कार्पेटमा लडायो । शुरुमा के यस्तो गरेको गुरु भन्दै कराएँ, तर निजले मेरो कपडा खोल्न खोजेपछि मलाई डर त्रास लाग्न थाल्यो, म डरले थर थर भए अनि म रुन र कराउन थाले ।

यसै क्रममा निजले मेरो तलको भागको कपडा जबरजस्ती खोली दियो र उसले पनि आफ्नो तलको भागको कपडा खोली मलाई उत्तानो पारी ....... । म रुँदा कराउदा पनि कोही आएन । मलाई करिब १० मिनेटपछि उसले छोडयो । अनि उसले यदि कसैलाई भनिस् भने राम्रो हुने छैन भनी मलाई नाना थरिका डर, त्रास देखायो । प्रतिवादी रामलाल बम्जनको श्रीमती दिपशिखा डुम्जन नाम भएको गुरु आमालाई पनि नभन भन्यो । त्यसपछि मेरो योनी करिब दुई हप्तासम्म दुखेको र सुनिएको कारण हिँडडुल गर्न गाह्रो भएको थियो तर त्यो कुरा डरले कसैलाई भनिन । घटनाको दुई दिनपछि निज प्रतिवादीको श्रीमती आइन् र केही हप्ता पश्चात म र मेरो साथी यकिन ठेगाना थाहा नभएको वर्ष ३३ की विष्णु बलको पत्थरी अपरेशन गर्नको लागि काठमाडौँ गएका थियौँ । त्यसै बेला गुरु आमा दिपशिखा बम्जनले मलाई फोन गरी सोध्यो कि ‘तिमीले गुरुसँग शारीरिक सम्पर्क राखेकी रहेछौ, मलाई किन नभनेको ? गुरुले मलाई त्यो गर्भवती छ की सोध भनेकोले मैले फोन गरी सोधेको’ भनी भनेको थिए । 

म काठमाडौंबाट फर्किए पश्चात दिपशिखा बम्जनले मेरो श्रीमान् गुरु रामलाल बम्जनसँग तिमीले किन शारीरिक सम्पर्क राखेको भनी गुरु आमाले मलाई झापड हान्नुभयो । त्यसपछि पनि पटकपटक निज प्रतिवादीले विभिन्न ठाउँमा म एक्लै भएका अवस्था पारी म सँग शारीरिक सम्पर्क राखी मलाई तिम्रो शरीर चाहिन्छ भनी मेरो सम्वेदनशील अंगमा छुने, सुमसुमाउने र फकाउने गरी नै रहेको थियो तर मैले त्यो अनैतिक कार्यको विरोध गर्दै आएको थिएँ । 

मैले प्रतिवादीको आश्रमबाट निस्कनको लागि पटकपटक अनुरोध तथा प्रयास गरे तर गुरुले मेरो केही पनि नसुनी मलाई गालीगलौज कुटपिट गर्नु हुन्थ्यो । मलाई धेरै नै शारीरिक तथा मानसिक पीडा भएपछि एक दिन मैले डोरीको पासो लगाई आत्महत्या गर्ने प्रयास गरे तर मेरो साथीहरुले थाहा पाएर गुरुको मान्छेलाई सूचना दिएपछि मलाई बचाई मलाई कडा निगरानीमा राखी मलाई थाहा नदिई मेरो बुवालाई झिकाई के कस्ता कागजमा मेरो तथा मेरो बुवाको सही छाप गराई म माथि ८ लाख रुपैया चोरेको अभियोग समेत लगाई मलाई तथा मेरो भाइ नाम थर परिवर्तित (क६) लाई मेरो बुवाको जिम्मा लगाई पठाइदिनु भएको थियो । म पीडितलाई न्याय दिलाई प्रतिवादीलाई कडा भन्दा कडा कारवाही गरी पाँउ ।’

पीडित किशोरीको जाहेरी अनुसार बलात्कारको कुरा बाहिर ल्याउन खोजेपछि उनलाई बन्धक बनाई बलात्कारको कसुरमा लाग्ने हदम्याद कटेपछि परिवारको जिम्मा लगाएर पठाएको पाइएको छ । त्यति मात्रै होइन, बम्जनले पीडित किशोरीमाथि पटकपटक यौनशोषण गरेपछि किशोरीले आत्महत्याको समेत प्रयास गरेको आफ्नो बयानमा उल्लेख गरेकी छिन् । 

  • हदम्याद कटेपछि बाल यौन दुरुपयोगमा सजायको मागदाबी

तत्कालीन समयमा बलात्कारको हदम्याद १ वर्षको मात्रै थियो । तर २०७३ सालमा आफू १५ वर्षको हुँदा भएको बलात्कारको कसुरको हदम्याद तत्कालीन कानुनले १ वर्ष मात्रै तोकेको कारण प्रहरीले बाल यौन दुरुपयोगको कसुरमा मुद्दा ल्याएको थियो । बालबालिका सम्बन्धी ऐन, २०७५ ले आफू बालिका हुँदा कसैले बाल यौन दुरुपयोग गरेमा आफू वयस्क भएको मितिले एक वर्षभित्र समेत जाहेरी दिन सक्ने व्यवस्था गरेकाले किशोरीले आफू १८ वर्ष लागेपछि दिएको जाहेरीका आधारमा मुद्दा चलेको थियो । 

यद्यपि अभियोग दाबीमा बाल यौन दुरुपयोग भनिएपनि बम्जनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३)(ग) अनुसार १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी लिइएको छ । 

अदालतमा मुद्दा दर्ता भएपछि फरार रहेका बम्जनले मुद्दा दर्ता भएको करिब ४ वर्षपछि पक्राउ परेका थिए । बम्जनमाथि बलात्कार, बाल यौन दुरुपयोग, व्यक्ति वेपत्ता लगायतका मुद्दाहरू विभिन्न अदालतहरूमा चलिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप