सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

सत्ता गठबन्धनलाई कडा चुनौती दिन कोशीमा एमाले–राप्रपा तालमेल

सत्ता गठबन्धनभित्र ‘धोका’को सम्भावना कति ?
सोमबार, ०८ माघ २०८०, २० : १८
सोमबार, ०८ माघ २०८०

विराटनगर । माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाले तालमेल गरेपछि सत्ता गठबन्धन दबाबमा परेको छ ।

निर्वाचन आचारसंहिता लाग्नुभन्दा केही घण्टाअगाडि एमाले र राप्रपाबिच गठबन्धन गरेर जाने सहमति भयो । सहमति अनुसार एमालेबाट महिला उम्मेदवार रहेकी रुक्मिणी कोइराला र अन्य पुरुष कोटाबाट उम्मेदवार बनेका राप्रपाका उद्धव पौडेल अब एमाले–राप्रपा गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

यसअघि एमालेबाट अन्य पुरुष कोटाबाट उम्मेदवार बनेका पर्शुराम अधिकारी ‘ब्याक’ भएका छन् । उनी पूर्वमाओवादी हुन् ।

ur

कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलामा नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार बनेका छन् । कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेश र स्थानीय तह गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

जसअनुसार सत्ता गठबन्धनको मतभार ५ हजार ४७४ छ भने एमाले–राप्रपा गठबन्धनको कुल मतभार ४ हजार ६४२ छ ।

कांग्रेसकै कतिपय नेता एमाले र राप्रपा मिलेसँगै सत्ता गठबन्धनलाई निर्वाचन जित्न सहज नदेखिएको दाबी गर्छन् । किनकि यसअघि पनि सत्ता गठबन्धनलाई मतदाताले धोका दिएको उदाहरण छ ।

२०७८ साल माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा मत क्रस हुँदा सत्ता गठबन्धनका उम्मेदवार जसपाका हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । तर, त्यसबेला सत्ता गठबन्धनको मत र एमाले गठबन्धनको मतको अन्तर निकै कम थियो । त्यसबेला स्थानीय तहतर्फबाट गठबन्धनका २९ जनाले फ्लोर क्रस गरेर एमालेका शेर्पालाई मत दिएका थिए ।

पुनः त्यही अवस्था दोहोरिएको खण्डमा सिटौलासहित सत्ता गठबन्धनकी अर्की उम्मेदवार कार्कीलाई जित निकाल्न गाह्रो हुने देखिन्छ ।

एमालेले राप्रपालाई साथमा लिनेमात्रै नभएर नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्रको मत तान्न अरु उपाय लगाउने निश्चित छ । त्यसका साथै आफैँमा कम मत रहेको माओवादी केन्द्रकी उम्मेदवार कार्कीलाई सबै कांग्रेसले मत दिनेमा आशङ्का छ ।

सिटौलालाई पनि मनैबाट मन नपराउने कांग्रेसीहरु खुलेआम भोट दिन्न भन्दै हिँडिरहेको कांग्रेसकै एक कार्यकर्ता बताउँछन् ।

एमालेले साना पार्टी र स्वतन्त्रहरुलाई एकत्रित गर्नसके गठबन्धनको उम्मेदवार रहेका सिटौला र कार्कीका लागि कांग्रेस र माओवादीको मात्रै मत केन्द्रित हुनसक्छ । त्यस्तो अवस्थामा कांग्रेसको ३ हजार ७२२ र माओवादीको १ हजार २७८ मतभार मात्रै रहन्छ ।

यद्यपि एमालेलाई नेकपा एकीकृत समाजवादीको सबै मत र स्वतन्त्रको सबै मत प्राप्त गर्न भने कठिन हुनेछ । स्वतन्त्रमा धरानका प्रमुख हर्क साम्पाङ, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका प्रमुख दौलथ कुलुङ र ओखलढुङ्गाको माने भञ्ज्याङ गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र रुम्दाली छन् । प्रमुख साम्पाङको झुकाव कता छ भन्ने सक्ने अवस्था छैन भने कुलुङ एमाले र रुम्दाली कांग्रेस निकटका हुन् ।

एमालेले नेकपा एकीकृत समाजवादीको सांसदको भन्दा पनि स्थानीय तहका प्रमुख उपप्रमुखको मत तान्ने रणनीति बनाएको स्रोतले बतायो । त्यस्तो परिस्थितिमा नेकपा एकीकृत समाजवादीको १३३ मत आफूलाई आउने एमालेको आकलन छ ।

एमालेले सोचेजस्तो परिणाम उसको पक्षमा नजाने गठबन्धन दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् । ‘एमालेले राप्रपासँग गठबन्धन गरे पनि गठबन्धन डेन्जर जोनमा छैन,’ उनले भने ।

नेकपा (एकीकृत समाजवादी)का कोशी प्रदेश सचिव महेश रेग्मीले गठबन्धनले आरामले निर्वाचन जित्ने बताए । ‘हामीले हाम्रा भोटहरुलाई सुरक्षित राखेका छौँ,’ उनले भने, ‘एमालेले राप्रपासँग गठबन्धन गरेको छ । त्यसो हुँदा पनि गठबन्धनको आठ सय मत बढी छ । त्यो मत भनेको जित निकाल्न सहज मत हो ।’

एमालेले अधिकारीलाई ब्याक गराएर राप्रपाका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको सम्बन्धलाई पनि सन्तुलनमा राख्न खोजेको कतिपयको भनाइ छ । राप्रपाका उम्मेदवार पौडेल लामिछानेकी श्रीमती निकिता पौडेलको बुबा हुन् ।

उमेरले ७७ वर्ष पुगिसकेका सिटौला विजयी बने अबका ६ वर्ष राष्ट्रियसभा मै बिताउने छन् । जीवनमा आठ पटक संसदीय निर्वाचन लडेका सिटौलाले ३ पटकमात्रै विजयको स्वाद चाखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप