प्रधानमन्त्री कप क्रिकेट : एपीएफलाई आर्मीले चार विकेटले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको दुई विभागीय टोलीबिचको खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई चार विकेटले पराजित गरेको छ ।
जारी प्रतियोगितामा आर्मी क्लबको यो तेस्रो जित हो । हालसम्म पाँच खेल खेलेको आर्मी क्लब दुई खेलमा भने पराजित भएको छ । पाँच खेल खेलेको एपीएफ क्लबको भने यो तेस्रो हार हो । एपीएफ क्लब यसअघि दुई खेलमा विजयी भएको थियो ।
सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ३६ मध्ये ३२.४ ओभरमै अलआउट हुनुअघि एक सय २१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मीले २३.३ ओभरमै ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो ।
खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएका कारण खेल ३६–३६ ओभरमा खेलाइएको हो । उक्त खेलमा आर्मी क्लबको जितमा कप्तान विनोद भण्डारीले अविजित ३४ रनको योगदान गरे । उनले ४० बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए ।
कुशल मल्लले १९ रन बनाए । उनले १५ बलमा एक छक्का र दुई चौका प्रहार गरे । रनआउट भई पेभेलियन फर्किनुअघि बसिर अहमदले पनि टोलीको खातामा १८ रन थपे । उनले १२ बलमा एक छक्का र दुई चौका प्रहार गरे । विवेक यादव दुई रनमा अविजित रहे ।
आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान इमरान शेखले १६ र सन्तोष कार्कीले ११ रन बनाएका थिए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो । एपीएफ क्लबका बलर रमेश कुर्मीले दुई विकेट लिए । मौसम ढकाल र रोहित पौडेलले पन एक–एक विकेट हात पारे ।
त्यसअघि एपीएफ क्लबका लागि कप्तान रोहित पौडेलले ५९ रनको योगदान गरेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय तीन बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । एपीएफ क्लबका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर प्रज्ज्वल शाही खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अर्का ओपनर प्रदीप ऐरी पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । तेस्रो नम्बरका ब्याट्सम्यान पूर्ण बीक तीन रन बनाउँदै आउट भए । पाँचौँ नम्बरका ब्याट्सम्यान सुमित महर्जन १४ रन बनाउँदै आउट भए ।
सन्दीप जोरा चार रनभन्दा अगाडि बढ्न सकेनन् । लोकेश बम पनि नौ रनमै आउट भए । भुवन कार्की १६ रन बनाउँदै पेभेलियन फर्किए । अमर रौतेलाले एक रन बटुले । रमेश कुर्मी र मौसम ढकालले खाता खोल्न पाएनन् ।
एपीएफ क्लबले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो । आर्मी क्लबका बलर सोमपाल कामीले तीन विकेट लिए । उनले ६.४ ओभरमा २४ रन खर्चिए । अविनाष कर्णले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चिए । विवेक यादव, साहब आलम र बसिर अहमदले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण