आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
आयात निर्यात

६ महिनामा २२ अर्बको खाद्यान्न भित्रियो, कहाँबाट कति आयो ?

६० लाख ४३ हजार रुपैयाँको मात्रै निर्यात
मङ्गलबार, ०९ माघ २०८०, १६ : ३७
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो । 

यता नेपालबाट भने ६० लाख ४३ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालबाट निर्यात गरिएका अधिकांश खाद्यान्न वस्तुमा रैथाने बाली रहेको विभागको तथ्यांकमा उल्लेख छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गहुँ तथा गहुँजन्य वस्तु १२ करोड ३९ लाख ६८  हजार किलो अर्थात् १ लाख २३ हजार मेट्रिक टन आयात भएको छ । सो गहुँ मेक्सिको र भारतबाट आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ । सो गहुँ बराबर ४ अर्ब ९९ करोड २८ लाख रुपैयाँ बाहिरिएको छ । 

त्यस्तै, ३ अर्ब २१ करोड २५ लाख रुपैयाँको बासमती चामल आयात भएको छ । सो रुपैयाँ बराबर २ करोड ४७ लाख ७९ हजार किलो बासमती चामल आयात भएको छ । बासमती चामल चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट आयात गरिएको विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै, १ लाख ५७ हजार मेट्रिक टन मकै आयात गरिएको छ । सोबापत ६ अर्ब ६३ करोड ६४ लाख रुपैयाँको मकै भित्र्याएको हो । अर्जेन्टिना, भारत, थाइल्याण्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गरिएको हो । 

यस्तै, धान तथा पोलिस गरेको चामल लगायत अन्य खाद्यान्न वस्तु ७ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बराबरको १७ करोड २० लाख किलो अर्थात् १ लाख ७२ हजार मेट्रिक टन आयात भएको हो । 

६ महिनामा नेपालले ४९ हजार ४ सय ४९ किलो अर्थात् ४९ मेट्रिक टन खाद्यान्न वस्तु निर्यात गरेको छ । सो खाद्यान्न वस्तु बराबर ६० लाख ४३ हजार रुपैयाँ मात्रै भित्र्याएको छ । नेपालले अस्ट्रेलिया, भारत, हङकङ, इटाली लगायत राष्ट्रमा मकै, बासमती चामल, कोदो, फापर निर्यात गरेको विभागले जनाएको छ ।

  • गत वर्ष तुलनामा ५ अर्बले घट्यो खाद्यान्न आयात 

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा ५ अर्ब रुपैयाँले आयात घटेको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको ६ महिनामा २७ अर्ब ९१ करोड ८२ लाख रुपैयाँको खाद्यान्न वस्तु आयात भएको थियो । 

गत वर्ष यही अवधिमा ३७ लाख ८९ हजार रुपैयाँको खाद्यान्न निर्यात भएको थियो । नेपालले २७ अर्ब ९१ करोड ४४ करोड रुपैयाँ खाद्यान्नमा व्यापार घाटा खेपेको थियो । सो वर्ष ६ महिनामा खाद्यान्न व्यापारबाट सरकारले १ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

गत आर्थिक वर्षमा नेपालमा ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । जबकि ६९ लाख ४६ हजार रुपैयाँको खाद्य वस्तु निर्यात गरेको थियो । सो वर्षमा सरकारले ५६ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । सो वर्ष खाद्यान्नको कारोबारबाट सरकारले ३ अर्ब ५७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

  • यी देशमा निर्यात हुन्छन् नेपालका रैथाने बाली 

नेपालबाट कोदो, फापर लगायत रैथाने बाली निर्यात हुन्छन् । विभागको अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ३० हजार ६ सय किलो फापर निर्यात भएको छ । सोबाट ३९ लाख ४३ हजार रुपैयाँ भित्रिएको छ । नेपालबाट अस्ट्रेलियामा ४ हजार ९ सय ८० किलो फापर निर्यात भएको छ । यस्तै, भारतमा २४ हजार किलो र अमेरिकामा १७ सय १६ किलो फापर निर्यात गरिएको छ । 

यस्तै, चालु आर्थिक वर्षमा १४ हजार ६ सय किलो कोदो निर्यात भएको छ । सो बापत १५ लाख ७५ हजार रुपैयाँ आर्जन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

नेपालले अस्ट्रेलिया ४ सय किलो कोदो निर्यात गरेको छ । यस्तै, हङकङमा ४ हजार किलो, इटाली १२ सय किलो, कोरियामा २५ सय किलो, बेलायतमा ५८ सय ७६ किलो र अमेरिकामा ६ सय ५६ किलो कोदो निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप