मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएकोमा प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट

मङ्गलबार, ०९ माघ २०८०, १६ : ४२
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।  अध्यक्ष नेपालले संसद् र संसदीय समितिले पटक पटक स्थलगत अवलोकन समेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गरेका हुन् । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनी आफैँले गरेको प्रतिबद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको नेपालले बताए । देउवा र दाहालले काम अघि बढाउने वचन दिए पनि लागू नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए । 

मंगलवार संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले भने,  ‘धेरै पहिलेदेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो । तर हामी बनाउन पुग्छौँ भैरहवामा । बनाउन पुग्छौँ पोखरामा । अब त्यहाँ प्लेन पठाएर खर्च जोहो गर्ने सोचिरहेका छौ हामी । ती विमानस्थलहरू अहिले बनाउनुपर्ने बेला भएकै थिएन । अर्थात् अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला भएको थिएन । अब अहिले निजगढमा बनाउनु हुन्न भन्ने कुराहरू आएका छन् । अहिले भन्दा पहिलेका प्रधानमन्त्रीले शिलान्यास गर्ने भनिएको थियो, भएन । अहिले आउनु भएका प्रधानमन्त्रीले पनि आउने बित्तिकै गर्ने भन्नुभएको थियो, त्यो पनि भएन । त्यसो हुनाले म त्यो कुरामा फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु । यो समितिले धेरै पटक छलफल गरेर, फिल्ड भिजिट गरेर निकालेको निष्कर्ष हो त्यो । यस कुरामा म फेरि पनि जोड दिन चाहन्छु ।’

अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप