शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ अल्झियो चलचित्र विकास बोर्ड आफैँले फिल्म बनाउने निर्णय ?

बुधबार, १० माघ २०८०, १४ : ११
बुधबार, १० माघ २०८०

काठमाडौँ । गत कार्तिक महिनामा चलचित्र विकास बोर्डले आफैँ फिल्म निर्माण गर्ने निर्णय गर्‍यो । जसका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको र फिल्म निर्माणसम्बन्धी कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको समेत जानकारी दियो ।

राष्ट्रियता, संस्कृति, कला, गौरव र मौलिकता दर्साउने कथावस्तुमा फिल्म बनाउन बोर्डले उक्त निर्णय गरेको सो अवसरमा बताइएको थियो । ‘राष्ट्रिय जीवनका सबै पक्षलाई समेटेर फिल्म बनाउने तयारीमा छौँ । यसका लागि स्क्रिप्ट लेख्ने र लोकेसन खोज्ने काम भइरहेको छ,’ सो समय बोर्डका प्रवक्ता केएल बुढाथोकीले भनेका थिए ।

तर, बोर्डले फिल्म बनाउने भनेर निर्णय गरेको ३ महिना बितिसक्दा पनि केही प्रक्रिया अगाडि बढेको छैन । चलचित्र विकास बोर्डका प्रवक्ता बुढाथोकी बोर्डको फिल्म बनाउने निर्णय कायमै रहेको बताउँछन् । फिल्म बनाउने निर्णय बोर्डको राम्रो र उपयुक्त निर्णय भएको दाबी गर्दै उनले निर्णय कार्यान्वयनमा जाने स्पष्ट पारे । 

‘बोर्डले बनाउने फिल्मको प्रक्रिया अहिले अगाडि बढेको छैन । त्यो बिस्तारै अगाडि बढ्छ’ बुढाथोकीले भने ‘बोर्डबाट फिल्म छिट्टै बन्छ ।’ बोर्डले धेरै सोचेर यो निर्णय लिएकोले पछि नहट्ने बुढाथोकीको भनाइ छ । 

ढिलाइ किन ?

बोर्डले फिल्म निर्माण घोषणा गरेको तीन महिना बितिसक्यो । तर केही प्रक्रिया अगाडि बढेको छैन । कुनै व्यक्तिबाट फिल्म घोषणा भएको भए अहिले छायाङ्कन समेत सकिन्थ्यो । प्रवक्ता बुढाथोकी बोर्डको फिल्म निर्माण प्रक्रिया विवादमा परेको कारण ढिला भएको बताउँछन् ।

हुन पनि हो बोर्डले फिल्म निर्माणको निर्णय सहित ७५ लाख रुपैयाँ छुट्याएको सार्वजनिक भए लगत्तै यो निर्णय विवादमा फस्यो । केही फिल्मकर्मीले बोर्डको यो निर्णयप्रति आपत्ति जनाए भने कतिपयले समर्थन गरे । नीति, नियम निर्माण गरेर फिल्म क्षेत्रका समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने बोर्ड आफैँ फिल्म निर्माणमा तम्सिनु दुर्भाग्यपूर्ण रहेको रहेको कतिपयले धारणा राखेका थिए । 

यस्तै फिल्म निर्माण विवादमा परेपछि बोर्डले फिल्म क्षेत्रका विभिन्न व्यक्ति तथा संघसंस्थासँग छलफल समेत चलायो । छलफलमा केहीले फिल्म बनाउनेको निर्णयको विरोध गरे । धेरैले समर्थन गर्दै एउटा मोडालिटी बनाएर काम अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । सोही अनुसार फिल्म निर्माण कार्यविधि समेत तयार भइरहेको जनाइएको छ ।

‘बोर्डले बनाउने फिल्मको विषयमा हामीले सबै पक्षको छलफलबाट एउटा कार्यविधि तयार गरेका छौँ।  जुन कार्यान्वयनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ’, बुढाथोकीले भने ‘कार्यविधि लागु भए पनि काम युद्धस्तरबाट सुरु हुन्छ ।’ बोर्डको कार्यविधि छिट्टै लागु भएर आउने र फिल्म निर्माण प्रक्रिय अगाडि बढ्ने बुढाथोकीले धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप