शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दाम्पत्य जीवन र वास्तुदोष

बिहीबार, ११ माघ २०८०, ०७ : ४६
बिहीबार, ११ माघ २०८०

सबैले चाहन्छन्, आफ्नो दाम्पत्य जीवन सुखद् होस् भन्ने । सबैलाई लाग्छ, दाम्पत्य जीवन अरुको बढी सुखद् छ कि भन्ने । दाम्पत्य जीवन सुखको आधार हो, जीवनको आधार हो, सुखद भविष्यको आशा हो । दाम्पत्य जीवनबाटै घर बस्छ, सन्तान  हुन्छन् । शिक्षा र संस्कारसहितको उन्नत सन्तान तयार गर्ने दम्पती नै हुन् । दाम्पत्य जीवनबिना यी सबै कुरा अधुरा र अपूर्ण हुन्छन् ।

दाम्पत्य जीवन एउटा यस्तो जीवन हो, जहाँ स्वर्गीय आनन्दको व्यवस्था प्रकृतिले नै गरिदिएको छ । शरीरका सातै चक्रलाई खोल्ने क्षमता छ, दाम्पत्य जीवनमा । यही दाम्पत्य जीवन नरक बन्न पनि सक्छ । जहाँ प्रेम हुँदैन, त्यहाँ दाम्पत्य जीवन सफल हुँदैन । जहाँ विश्वास हुँदैन, त्यहाँ सुखद दाम्पत्य जीवन चल्दैन । सम्बन्ध बिग्रेका दम्पतीका सन्तान कुबाटो लाग्छन्, भविष्य अन्धकार हुन्छ र अन्तिममा मातापितालाई सराप्न थाल्छन् । दाम्पत्य जीवनमा प्रेम नहुँदा भरोसा हराउँछ, सकारात्मक ऊर्जा नष्ट हुन्छ । अहिले सम्बन्धविच्छेद सामान्य घटनाजस्तै बन्न थालेका छन् । यस्तो हुनुमा कतै हाम्रो निवासमा वास्तुदोष त छैन ? 

वास्तुले प्रकृतिका दश दिशालाई विशेष महत्त्व दिएको हुन्छ । दश दिशामध्ये आग्नेय (पूर्व–दक्षिण कोण) दिशालाई दाम्पत्य जीवनको दिशाका रूपमा लिइन्छ । यो समृद्धि, प्रगति र आम्दानीको दिशा पनि हो । सम्पन्नताकी देवी रहने यो अग्नि तत्त्वको दिशा पनि हो । यस दिशामा ऊर्जा चाहिन्छ, ऊर्जा अग्निबाट आउँछ । 

समग्र सुखका लागि आग्नेय कोण वास्तुदोषले मुक्त हुनुपर्छ । भवन वा घडेरी लिँदा आग्नेय कोण नैऋत्य (दक्षिण–पश्चिम) कोणभन्दा माथि हुनु हुँदैन । आग्नेय कोण ईशान (उत्तर–पूर्व) कोणभन्दा होँचो छ, त्यहाँ इनार या अन्य कुनै प्रकारको खाडल छ, अन्यकोणभन्दा बढेको छ भने यस्तो घर या घडेरी नलिँदा नै राम्रो हुन्छ । यस्तो घर–घडेरीमा रहने मानिसलाई दुःख र समस्याले घेर्छ भनिन्छ । सबैभन्दा नराम्रो पक्ष यहाँको वास्तुदोषले दाम्पत्य जीवनमा चरित्रको विषय प्रवेश गर्छ । दम्पतीमा झगडा र तनाव बढ्न थाल्ने पनि बताइन्छ । यस्तै, आम्दानी घट्न सक्ने, चोरीका घटना हुन सक्ने, न्यायिक झमेला पर्न सक्ने पनि बताइन्छ । यी सबै समस्याका बीचमा दाम्पत्य जीवन सबैभन्दा बढी प्रभावित हुन्छ ।

सकारात्मक वास्तुका लागि आग्नेयका दुई कोण पूर्वी आग्नेय र दक्षिण आग्नेयमध्ये सडकका आधारमा प्रवेशको निर्धारण गरिनुपर्छ । यस क्षेत्रमा वास्तुदोष छ भने निर्माण गर्दा नै त्यसको निवारण गर्नुपर्ने हुन्छ । वास्तुशास्त्रका ग्रन्थहरूले यस क्षेत्रमा प्रवेशद्वार नबनाउन सल्लाह दिन्छन् । वास्तुशास्त्री या वास्तु परामर्शकर्ताले यस्ता कुरामा विशेष ख्याल राख्नुपर्ने हुन्छ । जसले गर्दा दम्पती सधैँ तनावमा पर्छन् ।

दक्षिणपूर्वको प्रवेश भएका घर, जसको पूर्वतर्फ जग्गा बचत नभई पश्चिममा जग्गा बाँकी छ र त्यो जग्गामा इनार या कुवा छ अनि उत्तर–दक्षिण लाग्ने बाटो पूर्वतिर छ भने त्यस्तो घर वास्तुका दृष्टिले राम्रो नहुने वास्तुमाला, वास्तु चिन्तामणि, समरांगणजस्ता वास्तुग्रन्थले बताएका छन् । अनुसन्धानहरूका अनुसार, आग्नेयमा वास्तु बिग्रिएको छ भने त्यस्तो घरमा बस्ने दम्पतीबिच सम्बन्ध बिग्रन सक्ने सम्भावना रहन्छ । 

दाम्पत्य सुखको कारक आग्नेय कोण हो । सम्बन्धविच्छेदका घटना भएका घरहरूको अवस्था हेर्दा आग्नेय दिशामा वास्तुदोष भेटिन्छ । आग्नेय दिशाको वास्तुदोषका कारण पुरुषले आधा सम्पत्ति दिएर महिलालाई बिदा गर्नुपरेको पनि देखिन्छ । 

श्रीमान् श्रीमतीबिच सामान्य खटपट स्वाभाविक हो । एकले अर्कोलाई सुधार्न दिइने सल्लाह–सुझावलाई नकारात्मक रूपमा लिनु हुँदैन । एकले अर्कोलाई घात र प्रतिघात गर्ने गरी कुनै घटना हुन्छन् भने वास्तुदोषतर्फ पनि सचेत भई तत्काल सुधारको बाटो अपनाउनुपर्छ । जीवनमा हुने उतारचढाव सामान्य हो । असफलताबाट सफलतातिर लागिरहनु नै जीवनको वास्तविक आनन्द हो । तसर्थ सकारात्मक पहल गर्दा पनि नकारात्मक परिणाम आइलाग्छ भने सावधानी अपनाउनुपर्छ । धैर्यतापूर्वक वास्तुदोष निवारण गरी घरलाई निवासयोग्य बनाऔँ । समानता, समादर र प्रेममय जीवनका लागि घरको वास्तुले विशेष भूमिका खेल्छ । 

(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप