बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धनको ‘क्लिन स्विप’

को हुन् विजयी उम्मेदवार
बिहीबार, ११ माघ २०८०, १८ : ५७
बिहीबार, ११ माघ २०८०

हेटौंडा । राष्ट्रियसभा सदस्य पदको बागमती प्रदेश अन्तर्गतको ४ सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । बिहीबार सम्पन्न मतदान कार्यक्रममा सत्ता गठबन्धनका उम्मेदवारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नतिजा हात पारेका हुन् ।

४ सिटका लागि ६ दलबाट १५ जना उम्मेदवारले प्रतिस्पर्धा गरेको उक्त निर्वाचनमा नेपाली कांग्रेसले २, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका १/१ जना उम्मेदवारले निर्वाचन जितेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएकी छन् । पुडासैनीले ६६२२ मतभारसहित विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् । दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल ६५१२ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।

अन्यतर्फ कांग्रेसका जितजंग बस्नेतले ६५३१ मतभारसहित विजय प्राप्त गर्दा उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् भने अपांगता कोटाबाट माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी ६४८३ मतभारसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् । 

को हुनु बस्नेत, पुडासेनी, अधिकारी र रिजाल ?

सत्ता गठबन्धनका दलबाट अपांगता क्लस्टरमा निर्वाचित राष्ट्रियसभा सदस्य माओवादी केन्द्रका अधिकारी जनयुद्धका घाइते हुन् । बागमतीको अपांगता/अल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अधिकारी माओवादी सशस्त्र द्वन्दका क्रममा घाइते भएका थिए ।

उनी २०५३ साल पुस १९ गते रामेछापको बेथान चौकी आक्रमणको क्रममा घाइते भएका थिए । आक्रमणका क्रममा उनले एउटा आँखा गुमाएका थिए ।  

तत्कालीन नेकपा मसालबाट २०३६ सालमा राजनीति सुरु गरेका उनी हाल माओवादी केन्द्रको सम्पर्क–समन्वय प्रदेश कमिटी अध्यक्ष छन् । नुवाकोटका पुराना नेता र इमानदार नेताका रुपमा अधिकारीलाई चिनिन्छ ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले बागमती प्रदेशको अन्य क्लस्टरमा निर्वाचित बस्नेत युवा तथा विद्यार्थी माझ राम्रो छाप छोड्न सफल नेता हुन् । ललितपुरका बस्नेत कांग्रेसको विद्यार्थी र युवा संगठनको नेतृत्व गरीसेकका छन् । संस्थापन पक्षबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका उनी पार्टीमा बालकृष्ण खाण निकटका हुन् ।

उनी २०५३ मा त्रिभुवन विश्व विद्यालयको स्ववियु सदस्य भए । नेपाल विद्यार्थी संघ (नेविसंघ) २०५७ मा त्रिभुवन विश्व विद्यालयको सभापति चुनिएका उनी २०६५ मा नेविसंघ महामन्त्री भए । त्यसपछि नेविसंघबाट उनको यात्रा तरुण दलतर्फ अघि बढ्यो । तरुण दलको विभिन्न पदमा रहेर काम गरेका उनी २०७३ मंसिरमा तरुण दल अध्यक्ष भए । तरुण दलको पोखरा महाधिवेशनबाट बस्नेत अध्यक्षमा चुनिएका थिए ।

तरुण दलको अध्यक्ष, नेविसंघका महामन्त्री भइसकेका उनी २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका बस्नेत यसअघि प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने चर्चा चलेको थियो ।

सत्ता गठबन्धनबाट महिला क्लस्टरमा कांग्रेसबाट उम्मेदवार बनेर राष्ट्रियसभा सदस्य पदमा निर्वाचित पुडासैनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन् । २००७ सालमा जन्मिएकी उनी कांग्रेस नेता प्रकाशमान सिंह निकट २०३३ सालबाट विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय भएकी हुन् ।

२०३३ सालमा कांग्रेसको विद्यार्थी संगठन कन्या क्याम्पसको सदस्यका रुपमा राजनीतिमा उदाएकी उनी सोही वर्ष नै कांग्रेसले सुरु गरेको गाउँ फर्क अभियान अन्तर्गत तत्कालीन भद्रवास गाविसको वडा अध्यक्षको जिम्मेवारी पाइन् । सो पदमा उनले करिब ४ महिना मात्र काम गरिन् । ४ महिनामा नै सो पदबाट उनले राजीनामा दिनु पर्‍यो ।

सो पश्चात कांग्रेसको विभिन्न संरचनाहरुमा बसेर काम गरेकी उनी २०४९ मा भद्रवास गाविस अध्यक्ष पदमा निर्वाचित भइन् । सो निर्वाचनमा उनी बागमती अञ्चलको एक मात्र महिला अध्यक्ष थिइन् । कांग्रेसको १० औँ महाधिवेशनदेखि उनले निरन्तर महासमिति सदस्यका रुपमा जिम्मेवारी सम्हादै आएकी छिन् भने संघीयत कार्यान्वयन अघि उनी जिविस काठमाडौँकी उपाध्यक्ष भएर काम गरेकी थिइन् । उनी २०५८ देखि हालसम्म नेपाल महिला संघ काठमाडौँको अध्यक्ष छिन् ।

सत्ता गठबन्धनमा बागमतीको दलित क्लस्टरमा राष्ट्रियसभा सदस्य पदमा निर्वाचित एकीकृत समाजवादीले रिजाल व्यवसाय र राजनीतिमा सक्रिय छन् । रिजाल नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्ष हुन् ।

च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाइटर रिजाल एमालेबाट राजनीतिमा सक्रिय भएका हुन् । उनी एकीकृत समाजवादी दोलखाका उपाध्यक्ष हुन् । एकीकृत समाजवादी सम्बद्ध दलित संगठनका महासचिव रहेका उनी एमालेमा हुँदा जिल्ला कमिटीको उपसचिव रहेका थिए । एकीकृत समाजवादीबाट दलित संगठनका अध्यक्षलाई उम्मेदवार बनाउने चर्चा रहँदै गर्दा अन्तिम समयमा रिजाललाई टिकट दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप