बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

को हुन् माओवादीका विजयी पाँच राष्ट्रियसभा सदस्य ?

बिहीबार, ११ माघ २०८०, १९ : ३४
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । आगामी फागुन २० गतेपछि राष्ट्रियसभामा १८ सिटसहित पहिलो दल बन्न लागेको माओवादीले बिहीबार भएको निर्वाचनमा एक सिट गुमाएर ५ सिट जित्न सफल भएको छ ।

माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सदस्य छन् । रिक्त हुन लागेको साबिक ३ जनासहित थप दुई सिट थपेर माओवादी पहिलो दल बन्न सफल भएको हो । निर्वाचनबाट ५ जना विजयी हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ ।

बागमतीबाट अपाङ्गतातर्फ माओवादीका श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्द विजयी हुन सफल भएका हुन् । 

गठबन्धनबाट ६ जना चुनावी मैदानमा उत्रिएकामध्ये कोशीकी उम्मेदवार चम्पा कार्की बाहेक ५ जना उम्मेदवार विजयी हुन सफल भएका छन् । मधेस प्रदेशबाहेक ६ प्रदेशमा माओवादीले उम्मेदवारी दिएका थिए । तर कोशी प्रदेशमा गठबन्धनबाट नै  अन्तर्घात भएपछि माओवादीकी उम्मेदवार चम्पा पराजित भइन् । 

राष्ट्रियसभा  सदस्यका लागि सातै प्रदेशबाट ५० जना चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये गठबन्धनबाट माओवादीका ५ जनासहित कांग्रेसका १०, एकीकृत समाजवादीका २ र जसपाका एक जना उम्मेदवार विजयी भएका छन् ।  

कोशी प्रदेशको महिलातर्फ गठबन्धन दल कांग्रेसबाट अन्तर्घात भएपछि चम्पाको तत्काल राष्ट्रिय सभा यात्राको ढोका बन्द भएको छ । चम्पालाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारले विजयी भइन् । उनका प्रतिस्पर्धी चम्पाले ४९९२ मतभार प्राप्त गरिन् । 

बागमतीमा अपांगतातर्फ  माओवादी केन्द्रका श्रीकृष्णले बाजी मारेका छन् । उनले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका विवेक देवकोटाले दुई हजार ७३४ मत पाए । 

गण्डकीमा महिलातर्फ मनरुपाले ३ हजार ६६० मतभार पाउँदै निर्वाचित भइन् ।  एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभारमात्र पाइन् ।

लुम्बिनीमा अन्य कलस्टरमा माओवादीका झक्कु विजयी भएका छन् । उनले ५ हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्धदी एमालेका झपेन्द्र बहादुर जिसीले ३०३९ मतभार प्राप्त गरेका छन् ।

कर्णालीमा दलिततर्फ माओवादीका विष्णुबहादुर विकले तीन हजार ८१७ मतभार ल्याइ विजयी भए । यस्तै सुदूरपश्चिम महिलातर्फ माओवादीकी चन्द चार हजार ४५३ मतसहित निर्वाचित भइन् ।

को हुन् निर्वाचित पाँच राष्ट्रियसभा सदस्य ? 

सुदूरपश्चिम प्रदेशको बैतडीकी रेणु चन्द केन्द्रीय सदस्य हुन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष समेत हुन् । 

बुबा गोपाल चन्दको प्रेरणाबाट राजनीतिमा होमिएकी उनको माओवादीका शीर्ष नेताहरू सबैसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ । उनी २०६४ को निर्वाचित संविधानसभा सदस्य हुन् । दशरथन्द नगरपालिका–९ की स्थायी बासिन्दा रहेकी चन्द बालकलाकार हुँदै माओवादी आन्दोलनमा लागेकी थिइन् । यसअघि उनी डोटी, बाजुरा, अछाम र बैतडीको जिल्ला इन्चार्ज भएकी थिइन् ।

यस्तै, विष्णु विश्वकर्मा कालिकोटका पुराना नेता हुन् । सुरुदेखि नै माओवादी आन्दोलनमा लागेका उनी पार्टीभित्र इमानदार नेता मानिन्छन् । मालकोटमा शिक्षक रहेका उनी २०५४ सालमा राजीनामा दिएर माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । उनी पनि सहिद परिवारबाट आएका हुन् । कर्णाली प्रदेश दलित मुक्ति मोर्चाको संयोजक हुँदै केन्द्रीय सचिव भएका उनले यसअघि पार्टीमा थारुवान, पश्चिम र भेरी–कर्णालीको कमाण्ड सम्हालेका थिए । माओवादी युद्धमा धेरै सहिद भएको नरहरिनाथ गाउँपालिका मालकोटका उनी स्थायी बासिन्दा हुन् । विष्णुबहादुर अहिले माओवादी केन्द्रीय सदस्य छन् । 

लुम्बिनीबाट राष्ट्रिय सभा निर्वाचन जित्न सफल भएका सुवेदी रोल्पाका स्थायी बासिन्दा हुन् । तत्कालीन एमालेबाट २०४९ को निर्वाचनमा जिल्ला सभापति जितेका थिए । माओवादी युद्धसँगै भूमिगत भएका उनले प्रवासमा रहेर काम गरेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका सुवेदी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ–२ बाट नेपालसँगै पराजित भएका थिए । उनी २०७४ को निर्वाचनमा समेत काठमाडौँ–६ बाट उम्मेदवार बनेका थिए । तर कांग्रेसका नेता भीमसेन दास प्रधानसँग १३०० मतले पराजित भए । त्यतिबेला काठमाडौँ–६ मा हिमाल शर्मा बलिया उम्मेदवार रहे पनि राष्ट्रियसभा सदस्य बनाउने सर्तमा प्रचण्डले अन्तिममा सुवेदीलाई टिकट दिएका थिए । शर्मा अहिले पनि बागमतीबाट उम्मेदवारका आकाङ्क्षी थिए । सुवेदी अहिले माओवादीको केन्द्रीय सदस्य हुन् ।  

बागमतीमा अपाङ्गता कोटाबाट उम्मेदवार रहेका श्रीकृष्ण अधिकारी नुवाकोटका पुराना नेता हुन् । २०५३ पुस १९ गते युद्धका क्रममा रामेछापको बेथान चौकी आक्रमणको क्रममा उनले एउटा आँखा गुमाएका थिए । अधिकारीलाई जनयुद्धको घाइतेका रूपमा लिइन्छ । पुराना र इमानदार नेताका रूपमा चिनिएका उनी माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेशका अध्यक्षसमेत हुन् । अधिकारी नुवाकोट सूर्यगढी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

गण्डकी प्रदेशबाट महिला कोटामा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारका रूपमा चयन भएकी मनरुपा शर्मा सहिद परिवारकी सदस्य हुन् । २०५७ सालदेखि भूगोलमा काम गर्दै आएकी उनी वडा हुँदै २०६३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष भएकी थिइन् । त्यतिबेला उनी पार्टीको जिल्ला कमिटी सदस्य थिइन् । अहिले गण्डकी प्रदेश सचिवालय सदस्य र पर्वतको संयोजक रहेकी उनले स्याङ्जा, कास्की, गुल्मी र पर्वतमा बसेर काम गरेकी थिइन् । कुश्मा नगरपालिका–१० स्थायी घर रहेकी मनरुपाको श्रीमानलाई २०६१ साल मङ्सिर १७ गते स्याङ्जाको श्रीसीकोटमा सुरक्षाकर्मीले हत्या गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप