आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक तीर्थस्थलमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल

शनिबार, १३ माघ २०८०, १९ : २७
शनिबार, १३ माघ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरी काम गर्नुपर्ने बताएका छन् । 

भानु नगरपालिकाका मेयर उपमेयरसहितका जनप्रतिनिधि एवं भानु साहित्य उद्यान समितिका पदाधिकारीहरुसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजना अनुरुप प्राप्त बजेटको सदुपयोग गर्न सुझाव दिएका हुन् । 

उनले भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्त्व उजागर गरी गुरुयोजना अनुरुप तदारुकताका साथ काम गर्न सुझाव दिए । 

मन्त्रिपरिषद्को केही समय अघिको निर्णयबाट भानु साहित्य उद्यानको प्रयोजनका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाहरूको सालिक निर्माण र आवश्यक साहित्य संस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई सशर्त पाँच करोड रुपैयाँ बजेट दिने निर्णय गरेको थियो । 

सो अवसरमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपतिको निरन्तर चासो र पहलमा बजेट उपलब्ध भएकोमा उनीप्रति विशेष आभार व्यक्त गर्दै उनको प्रेरणा लिएर दिनरात नभनी काम अगाडि बढाउने बताए ।

सो अवसरमा उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने जानकारी दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप