सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

बीआरआईमा ‘राष्ट्रिय सहमति’, आर्थिक लाभ उठाउनुपर्नेमा जोड

आइतबार, १४ माघ २०८०, १४ : ३२
आइतबार, १४ माघ २०८०

काठमाडौँ । चीनले सुरु गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा सबैजसो राजनीतिक दलले सहमति जनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी सबैजसो राजनीतिक दलका नेताले बीआरआईमा सहमति जनाएका हुन् ।

चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उप–विदेशमन्त्री शुन हेयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । यो टोलीले आज आइतबार नेपालका आधा दर्जनभन्दा बढी राजनीतिक दलसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । यो कार्यक्रममा सहभागी सबै राजनीतिक दलका नेताले बीआरआईमा सहमति जनाएका हुन् ।

छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी लगायतका राजनीतिक दलको सहभागिता थियो । कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालले बीआरआईबाट पर्याप्त फाइदा लिन सक्ने ठाउँ रहेको बताए । उनले बीआरआईको कार्यान्वयनमा दुवै पक्ष तत्पर बन्नुपर्ने बताउँदै सहमतिअनुसार परियोजना पहिचानतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

चीनले सुरु गरेको बीआरआई परियोजनाअन्तरर्गत सडक, रेल र विभिन्न परियोजना समेटिएका छन् । चीनले विश्व बजारमा आफ्नो वर्चस्व राख्ने नीतिअनुसार बीआरआई परियोजना अघि बढाएको थियो । यो परियोजनामा नेपालले समेत हस्ताक्षर गरिसकेको छ । 

जबकी, सम्झौताअनुरुप परियोजना कार्यान्वयनतर्फ दुवै पक्षको ध्यान छैन । यस्तो अवस्थामा नेपाली नेताहरूले राष्ट्रिय सहमति देखाउँदै यसबाट सक्दो आर्थिक लाभ लिनुपर्नेमा जोड दिएका हुन् ।

अन्तरक्रियात्मक कार्यक्रममा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न तयार रहेको बताए । उनले चीनले विकासको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकाले नेपाली कांग्रेस समेत चीनसँगको मिलेर अघि बढ्न तयार रहेको बताए । ‘चीनसँग जोडिएका बीआरआई अन्तरगतका परियोजना अघि बढाउन मिलेर अघि बढ्न कांग्रेस तयार छ,’ कोइरालाले भने, ‘चीनले छोटो समयमा नै आर्थिक क्षेत्रमा ठुलो फड्को मारेको छ । यसबाट नेपालले सिक्न जरुरी छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले चीनको आर्थिक विकासबाट नेपालले पाठ सिक्नुपर्ने बताए । चिनियाँ प्रतिनिधिमण्डलसँगको छलफलमा उनले भने, ‘केही दशकअघि चीनको जीडीपी ७६ बिलियन डलर थियो । जुन, अहिलेको नेपालकोभन्दा करिब दोब्बर मात्रै बढी थियो,’ उनले थपे, ‘तर अहिले १७ ट्रिलियनभन्दा बढी पुगिसकेको छ ।’ यसक्रममा चीनले आफ्ना ८० करोड जनतालाई गरिबिको रेखाबाट माथि उठाएको छ ।

यसक्रममा चीनको विकासको उदाहरण नेपालले सिक्न जरुरी रहेको बताउँदै त्यसका लागि तयार रहेको समेत बताए । उनले नेपाल–चीन सम्बन्ध परापूर्वकालदेखि नै स्थापित भएको स्मरण गर्दै नेपालका लिच्छवि राजाले चीनलाई पालकको साग उपहार दिएको किम्बदन्ती सुनाए । त्यसपछि, नेपालबाट चीन पुगेका अरनिकोले पाएको सफलताबारे चर्चा गर्दै खनालले चीनसँग विकासका लागि साझेदारी गर्न तयार रहेको उल्लेख गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सगुन लावतीले नेपाल र चीनबिचको सम्बन्धलाई आर्थिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको आवागमन बढेको बताउँदै उनले नेपालबारे चीनमा थप प्रचार गर्न आवश्यक रहेको समेत सुनाए । उनले भने, ‘नेपाल र चीनबिचको आर्थिक सम्बन्धलाई भावी दिनमा थप मजबुत बनाउन पर्छ ।’

यसैगरी, जनता समाजवादीका नेता अर्जुन थापाले नेपाल र चीन बीआरआईमा सहमति गरे पनि दुई देशबिच फरक–फरक बुझाई रहेको बताए । उनले चीनको एउटा र नेपालको अर्को बुझाई भएकाले परियोजना अघि बढ्न नसकेको आशङ्का गर्दै साझा बुझाई तय गर्नुपर्नेमा जोड दिए । उनीसहित आजको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी सबैजसो नेताले बीआरआईबाट नेपालले आर्थिक लाभ लिनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप