बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
चिनियाँ प्रतिनिधि मण्डलसँको अन्तरक्रिया

चीनले उठायो नेपालबारे तीन विषय, नेपाली नेताले भने– त्यो नेपालको आन्तरिक विषय हो

आइतबार, १४ माघ २०८०, १४ : ०२
आइतबार, १४ माघ २०८०

काठमाडौँ । नेपालका राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा चिनियाँ प्रतिनिधि मण्डलले नेपालबारे तीन विषय उठाएका छन् । आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ नेताहरूले नेपालमाथि तीन विषयमा छलफल उठान गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयानको नेतृत्वमा चीनको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । सो क्रममा उक्त प्रतिनिधिमण्डलले आज नेपालका सबैजसो राजनीतिक दलका नेतासँग संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी लगायत राजनीतिक दलका नेताको सहभागिता थियो । सो क्रममा विदेश उपमन्त्री हेयानले नेपालले व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताइन् ।

उनले नेपाल आउनुअघि चीनका व्यवसायीसँगको छलफलका क्रममा नेपालको व्यावसायिक वातावरण र व्यावसायिक नीति अस्थिर रहेको जानकारी पाएको बताइन् । चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न असक्षम रहेको उनको भनाई थियो ।

यस्तै, नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको विकास परियोजनाको विषयमा समेत चिनियाँ प्रतिनिधिले कुरा उठाएका छन् । उनीहरुले नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको परियोजनामा विदेशी शक्तिले गिजोल्न चाहिरहेको तथ्यबारे बोलेका हुन् । विदेशी शक्तिले नेपालको परियोजना गिजोलेर जाने र त्यसले नेपालको विकाससँगै चीनसँगको सम्बन्धमा समेत असर पर्ने उनीहरूको भनाई थियो ।

यसबाहेक, नेपालका नेताहरू आन्तरिक कलहमा रमाइरहेको विषय समेत चिनियाँ प्रतिनिधिमण्डलले उठाएको छ । उनीहरुले नेपालका नेताहरू आन्तरिक कलह र झैँ झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको चिनियाँ प्रतिनिधिमण्डलको भनाई थियो । चिनियाँ प्रतिनिधिमण्डलले अब मिलेर अघि बढ्न नेपालका नेताहरूलाई सुझाव समेत दिएका छन् ।

चिनियाँ प्रतिनिधिमण्डलले उठाएका तीन विषयमा जवाफ दिँदै नेपाली नेताहरूले व्यावसायिक वातावरण सुधार गर्न नेपाल तयार रहेको बताए । यसका लागि नेपालले नीतिगत सुधार गर्नतर्फ ध्यान दिएको र आवश्यकताका आधारमा कानुनी व्यवस्था समेत सुधार गर्दै जाने बताए । ‘नेपाल आफ्नो व्यावसायिक वातावरण सुधार गर्न तत्पर छ,’ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भने ।

चिनियाँ परियोजना विदेशीले गिजोल्ने गरेको भन्ने विषयमा जवाफ दिँदै सकेसम्म यस्तो हुन नदिने नेपाली नेताको प्रतिबद्धता छ । उनीहरुले नेपालको विकासमा चीनको सहयोग महत्त्वपूर्ण भएकाले विदेशी शक्तिलाई चिनियाँ परियोजनामाथि खेल्न नदिने समेत बताए । यसबाहेक नेपाली नेता आन्तरिक कलहमा रमाउने गरेकोबारे जवाफ फर्काउँदै यो नेपालको आन्तरिक विषय भएको नेताहरूले बताएका छन् ।

नेपाली नेताहरू आन्तरिक कलह मात्रै नगर्ने भएकाले आवश्यक पर्दा राष्ट्रिय सहमति गर्न समेत एक जुट हुने उनीहरूको तर्क थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप