आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कार्यविधिकाे अभाव

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यविधि मन्त्रालयमै अड्कियो

बिजुली र सरसफाइको पैसा तिर्न सकस
आइतबार, १४ माघ २०८०, २३ : ०९
आइतबार, १४ माघ २०८०

बुटवल । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा बनेको एक हजार जना क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको झन्डै डेढ वर्ष पुगे पनि यसको सञ्चालन कार्यविधि अझै बनिसकेको छैन । 

कार्यविधिकै अभावमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा कठिनाइ भएको छ भने व्यवस्थापनमा लाग्ने खर्च उठाउनसमेत कठिन देखिएको छ ।

सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड रुपैयाँको लागतमा निर्माण भएको सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि अझै निर्माण नहुँदा समस्या भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । परियोजना कार्यालयका अनुसार यो आर्थिक वर्ष साउनदेखि पुस मसान्तको खर्च र आम्दानी हेर्दा बराबरजस्तै छ ।

साउनदेखि पुससम्म बिजुली, पानी, सुरक्षा गार्ड, सरसफाइ लगायतमा १९ लाख खर्च आएको छ । सम्मेलन केन्द्रले सो अवधिमा १८ लाख ५० हजार रुपैयाँमात्र आम्दानी गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले विद्युत् उपभोगबापत नेपाल विद्युत् प्राधिकरणलाई सरदर १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । सुरक्षा गार्ड, माली तथा सरसफाइ गर्ने ६ जना कर्मचारीको दैनिक ज्यालादारी खर्च पनि बेहोर्नुपर्ने हुन्छ ।

3

सहरी विकास मन्त्रालय के गर्दैछ ? 

सहरी विकास मन्त्रालयले देशभर १३ वटा सभा हल तथा संरचना निर्माण गरेको थियो । बुटवल, धनगढी, दमक लगायत क्षेत्रमा निर्माण भएका सभा हल सञ्चालनका लागि मन्त्रालयले स्पष्ट कार्यविधि अझैसम्म ल्याउन सकेको छैन ।

बुटवलको अन्तर्राष्ट्रिय सभा हल २०७९ साल भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । तर अहिले सम्म मन्त्रालयले कुन मोडलबाट चलाउने भन्नेबारे कार्यविधि ल्याउन सकेको छैन ।

सरकारले बनाएको सभा हल सञ्चालन सम्बन्धी मापदण्डअनुसार ५०० सिटसम्म क्षमताको सभा हललाई गाउँपालिका वा नगरपालिकाले सञ्चालन गर्ने व्यवस्था छ ।

यस्तै उपमहानगरपालिकालाई ७०० सिटसम्मको र महानगरपालिकालाई एक हजार सिटसम्म क्षमताको सभा हल सञ्चालन गर्न दिन सक्ने उल्लेख छ । तर हाल बनेको १ हजार जना क्षमताका सभा हल सञ्चालन गर्न अर्को कार्यविधि चाहिने भएकाले सहरी विकास मन्त्रालयले सहसचिव दीलिप भण्डारीको संयोजकत्वमा विशिष्ट संरचना तथा सभासम्बन्धी कार्यविधि बनाउन टोली गठन गरेको थियो ।

उक्त टोलीले बुझाएको प्रतिवेदनमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रजस्तै गरी चलाउन सुझाव दिएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेश कुमार वाग्लेले रातोपाटीलाई बताए ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १ हजार सिट क्षमता सभा हल रेखदेख र सरसफाइमा अहिले वार्षिक १२ लाख रुपैयाँ खर्च भइरहेको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो सभा हल व्यावसायिक रूपमा पनि धेरै सम्भावना रहेको अर्थशास्त्री प्राध्यापक माधव कुमार पौडेल बताउँछन् । तर तयार भएको लामो समयसम्म पनि कार्यविधिको अभावमा यसले आम्दानी गर्न नसकेको उनको भनाइ छ । ठुलो परियोजना निर्माण गर्दा कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट योजना ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले त्यसकै अभावमा यस्तो समस्या आएको बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलबासीकोे गौरव भए पनि यसलाई चलायमान बनाउन नसक्नु सरकारको कमजोरी रहेको बताए । उनले सभाहल सञ्चालन हुँदा बुटवलको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भएकाले छिटो र उपयुक्त कार्यविधि ल्याएर चलाउनु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप