बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कलकारखाना

पुनः सञ्चालन होला त हेटौँडा कपडा उद्योग ?

बुधबार, १७ माघ २०८०, ०६ : ५१
बुधबार, १७ माघ २०८०

मकवानपुर । खण्डहर बनेको हेटौँडा कपडा उद्योग सञ्चालनका विषयमा विभिन्न टिका टिप्पणी हुने गरेको छ । हरेक वर्ष सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश हुने गरेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन कम चुनातीपूर्ण विषय भने होइन । 

बजेट कार्यक्रममा समावेश हुँदै आएको उक्त विषयले पुनः एक पटक चर्चा पाएको छ । वर्षौँदेखि रुग्ण अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनका लागि चासो देखाएसँगै हेटौँडा कपडा उद्योगले पनि पुनः जीवनको पर्खाइमा रहेको छ । सरकारको स्वामित्वको उक्त उद्योग सञ्चालनका लागि प्रधानमन्त्रीले अबको एक साताभित्र मोडालिटी तयार पारेर पेस गर्न निर्देशन दिइएको छ । जसका कारण सो उद्योगका विषयमा विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ । 

लामो समय सो उद्योगमा काम गरेका प्रकाश पौडेलका अनुसार सरकारले हेटौँडा कपडा उद्योग हाल के अवस्थामा सञ्चालन गर्न निकै कठिन रहेको छ । पुरानो प्रविधि भएकाले सो उद्योगमा जोडिएका मसिनहरू सञ्चालन आउन सक्ने अवस्था नरहेको उनले बताए । सरकारले सो उद्योग सञ्चालनका लागि प्रविधि सहित पूर्वाधार पुनः निर्माणमा पनि रकम खर्चनु पर्ने अवस्था रहेको उनको भनाइ छ । 

उनका अनुसार हाल कै प्रविधिलाई मात्र मर्मत गरेर उद्योग सञ्चालन गर्ने हो भने पनि करिब २५ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ । सो खर्चबाट उद्योगको सबै मेसिनहरू सञ्चालनमा आउने अवस्था नरहेको उनले बताए । सोही प्रविधिमा सरकारले उद्योग सञ्चालन गरेको खण्डमा कोरा कपडा मात्र तयार गर्ने र ५०० जना जनशक्तिलाई रोजगारी दिन सकिने उनको भनाइ छ । सो प्रविधिको प्रयोगबाट बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने र थप घाटा व्यहोर्नुपर्ने अवस्था आउने उनले बताए । 

20240130_133543

यता बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष स्वागतराज प्याकुरेलका अनुसार सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नयाँ प्रविधिका मेसिनहरू भित्राउनु पर्ने हुन्छ । उद्योगमा रहेका अधिकांश मेसिनका पार्टपुर्जा मर्मत हुन अवस्थामा नरहेकाले सञ्चालनमा समस्या हुने उनको भनाइ छ । सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि निकै ठुलो मात्रामा पुँजी खर्चनुपर्ने उनले बताए । उनका अनुसार सरकारले सो उद्योग सञ्चालन गरेर वर्तमान बजारसँग प्रतिस्पर्धा गर्न कठिन रहेकाले व्यापारमा भन्दा सेवा सुविधा प्रवाहमा लगानी गर्नुपर्छ । सरकारले उद्योग सञ्चालनको वातावरण तयार गरेर उद्योगीहरूलाई लगानीमा प्रोत्साहन गर्नुपर्ने उनको भनाई । 

यस्तो छ उद्योगको अवस्था

दुई दशकदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा कपडा उद्योग हाल खण्डहर बनेको छ । उद्योगका मेसिनहरू खिया लागेको अवस्थामा छ भने भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन् । 

20240130_133637

९ वटा भवनमा रहेका उद्योगको कपास पेल्नेदेखि तान तान्ने मेसिनहरू प्रयोग र मर्मतको नहुँदा कवाडी झैँ बनेका छन् । उद्योगमा रहेका २४८ वटा कपडा बुन्ने तानहरू र मेसिनहरू मर्मतको पर्खाइमा रहेको छ । उद्योगको तान तान्ने मेसिनमा धागोका रोलहरू अझै बाँकी नै रहेका छन् । ती सेता धागोका रोलहरू बन्द कोठा भित्रको अन्धकारमा पानीका कारण पहेलिदै गएका छन् । कपास पेल्ने मेसिन र कपास ढुवानी गर्ने बाकसहरू अस्तव्यस्त अवस्था रहेको छ । 

तानमा रहेका ठुला धागोको चर्खाहरू र साना चर्खाहरू छरपस्ट अवस्थामा रहेका छन् । कपडा रंग्याउने, पखाल्ने लगायत कपडा सुकाउने स्थानको अवस्था पनि निकै जीर्ण रहेको छ । उद्योगको हरेक झ्याल ढोकाहरू घाम र पानीका कारण मक्किएका छन् भने ट्युवलाइट, बत्तीहरू फुटेर यत्रतत्र छरिएका छन् । उद्योगको फोहर पानी बग्न बनाइएका ड्रेनहरू भत्किने थालेका छन् । 

हेटौँडा कपडा उद्योगको इतिहास 

२०३२ सालबाट सुरु भएको हेटौँडा कपडा उद्योगको २०३५-०३६ सालबाट औपचारिक रूपमा उत्पादन सुरु गरेको हो । सरकारको पूर्ण स्वामित्वमा रहेको सो उद्योगले पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्छ । 

सुरुवातमा दैनिक एक सिफ्टमा सञ्चालन भइरहेको उद्योगले २०३८ सालबाट उत्पादन क्षमता बढाएर दैनिक दुई सिफ्ट र २०३९ वैशाखबाट  दैनिक ३ सिफ्टमा उद्योग सञ्चालन गरेको थियो । सो समयमा ३ सिफ्टमा पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्दै उद्योगले वार्षिक १ करोड १० लाख मिटर कोरा कपडा, २ सय ५० मेट्रिक टन सुती कपडा र २ सय ५० मेट्रिक टन बुट्टादार र सेता कपडा उत्पादन गर्ने गरेको थियो । उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीको अध्ययनका लागि उद्योग परिसर भित्रै हेटेक्स स्कुल पनि सञ्चालनमा ल्याइएको थियो ।

20240130_133817

नेपाल र चिन सरकारको संयुक्त लगानीमा स्थापना भएको सो उद्योग तत्कालीन अवस्थामा पुँजीगत तर्फ ८ करोड ४३ लाख र चालु पुँजी ९ करोड १८ लाख रुपैयाँ लगानी गरिएको थियो । हेटौँडा औद्योगिक क्षेत्रको २३६ रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योगमा १ हजार २ सय जनाले प्रत्यक्ष रोजगारी गर्ने गरेका थिए । 

उद्योग स्थापनादेखि नाफामा रहेको सो उद्योग २०५४ सालदेखि घाटा सञ्चालन हुन पुग्यो । आर्थिक वर्ष २०५४-०५५ बाट भने घाटा व्यहोर्न बाध्य बनेको सो उद्योग राजनीतिक नियुक्ति, सरकार परिवर्तन पछिको हस्तक्षेप र कर्मचारी आन्दोलनको प्रत्यक्ष असरको सिकार बनेको थियो । 

20240130_134504

उद्योग २०५४ पछि निरन्तर घाटामा सञ्चालन हुन पुगेपछि  २०५७ माघ १८ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उद्योग बन्द गर्ने निर्णय गरेको थियो । उद्योगमा कार्यरत सबै कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएर २०५९ मा सरकारले उद्योग खारेज गरेको थियो । 

२०५९ मा खारेज भएको सो उद्योग आर्थिक वर्ष २०६५-०६६ मा पुनः सञ्चालनको निर्णय भयो । तर, उद्योग सञ्चालनले निरन्तरता पाउन सकेन । उद्योग सञ्चालन गर्न नसक्ने र घाटा व्यहोर्न नसक्ने भन्दै सरकारले उद्योगलाई २०६६ कात्तिक १८ को मन्त्रिपरिषद्को निर्णय अनुसार दोस्रो पटक खारेज गर्ने निर्णय ग¥यो । 

20240130_134811

सरकारले भौतिक पूर्वाधार तर्फको ८ करोड १२ लाख २५ हजार रुपैयाँ, प्लान्ट मेसिनरी, सवारी साधन लगायतका सामानको ८ करोड १४ लाख २६ हजार रुपैयाँ, आफ्नै स्वामित्वमा रहेको २ सय ५६ रोपनी जग्गाको मूल्य २० करोड १९ लाख १५ हजार रुपैयाँ मूल्याङ्कन गरी उद्योग खारेज गरेको थियो । 

सशस्त्र प्रहरीको कब्जामा उद्योग

हाल हेटौँडा कपडा उद्योग औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ भने उद्योग क्षेत्र भित्र सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ । 

उद्योगको मुख्य प्लाण्टदेखि प्रशासनिक भवनसम्मका सबै क्षेत्रमा सशस्त्र प्रहरीले कब्जा गरेको छ । उद्योग परिसरमा सशस्त्र प्रहरी बल १४ नम्बर हेडक्वाटरको कार्यालय रहेको छ । उद्योगको प्रशासनिक भवनमा सशस्त्रको प्रशासन सञ्चालनमा रहेको छ भने मुख्य प्लाण्ट तथा मिसिन रहेका भवनको निश्चित कोठाहरू मेस, तथा क्वाटरका लागि प्रयोग गर्दै आएको छ । 

20240130_13483120240130_13501320240130_13542720240130_13581220240130_13585520240130_14031620240130_140601

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप