आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

कुटाकुटपछि एमाले धादिङ जिल्ला अधिवेशनमा केन्द्रको हस्तक्षेप

सोमबार, २२ माघ २०८०, १० : ००
सोमबार, २२ माघ २०८०

काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशन सम्पन्न गर्न पार्टी केन्द्रले हस्तक्षेप गरेको छ । नेताहरूबिच गुटको विवाद चर्किँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाडौँ बोलाएर संगठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीको निर्देशनसँगै रोकिएको अधिवेशनको बन्दसत्र मंलबारबाट सुरु हुने भएको छ । नेकपा एमाले नवौँ जिल्ला अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सोमबार बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र मंगलबारबाट सुरु हुने जानकारी दिए ।

यसअघि आइतबार अध्यक्ष देवकोटासहितका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीले विवादका विषय निरूपण गरेर अधिवेशन सम्पन्न गर्न निर्देशन दिएपछि सोमबार दिनभर विवादका विषयमा नेताहरूबिच सहमति कायम गर्ने र मंगलबारबाट बन्दसत्र सुरु गर्ने बुझिएको छ ।

425854630_7185228011515498_5389101411547838052_n

‘विधिसम्मत अधिवेशन गर्नु । नमिलेका कुरा संगठन विभागको नेतृत्वमा छानबिन गर्नु’, अध्यक्ष ओलीको निर्देशन उद्धृत गर्दै एक नेताले भने, ‘अब केन्द्रीय संगठन विभागको प्रत्यक्ष निगरानीमा अधिवेशन हुन्छ ।’

शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा मनोनीत प्रतिनिधि छनोट र अध्यक्ष मण्डलबारे विवाद भएपछि भएको झडपमा एमाले कार्यकर्ता सन्तोष खनालको हात नै भाँच्चिएको थियो । त्यसपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । लगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन जारी राख्ने घोषणा गरेपछि एमाले अध्यक्ष ओलीले नेताहरूलाई काठमाडौँ बोलाएका थिए ।

अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरु बरालसहित प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमती प्रदेशका सचिव नवराज सिलवाल, नेता गुरु बराल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरूलाई काठमाडौँ बोलाएर विवादबारे चासो राखेका थिए ।

खासगरी एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा चर्को विवाद भएको बुझिएको छ ।

नेताहरूलाई अध्यक्ष ओलीले सकभर सहमतिमा नेतृत्व चयन गर्न र नभए स्वच्छ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्न पनि निर्देशन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप