शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीलाई नखेलाइएपछि हङ्कङका समर्थक आक्रोशित, टिकटको पैसा फिर्ता गर्न नाराबाजी

सोमबार, २२ माघ २०८०, १० : १७
सोमबार, २२ माघ २०८०

काठमाडौँ । हाल एसिया भ्रमणमा रहेको अमेरिकी क्लब इन्टर मियामीले हङ्कङ–११ सँग खेलेको मैत्रीपूर्ण खेलका क्रममा अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई मैदानमा नउतारेपछि रंगशालामा उपस्थित हजारौँ समर्थक आक्रोशित बनेका छन् ।  

मेजर लिग सकर (एमएसएल) को नयाँ सिजन सुरु हुनुअघि मेस्सीसहितको इन्टर मियामी एसिया भ्रमणमा छ । मेजर लिग सकरको नयाँ सिजन फेब्रुअरी २१ तारिखमा सुरु हुँदैछ । ३६ वर्षीय मेस्सीलाई ह्यामस्टिङ समस्याका कारण हङ्कङ–११ विरुद्धको मैत्रीपूर्ण खेलमा मैदानमा उतारिएको थिएन।

मेस्सीले नखेलेपछि रंगशालामा उपस्थित करिब ४० हजार दर्शक आक्रोशित बनेका थिए । उनीहरुले आयोजक र इन्टर मियामीविरुद्ध नाराबाजी पनि गरेका थिए । कीर्तिमानी रुपमा आठ पटक बालन डी’ओरको उपाधि चुमिसकेका मेस्सी अर्जेन्टिनालाई विश्वकप जिताउने टोलीका कप्तान पनि हुन् ।

इन्टर मियामी र हङ्कङ–११ बिचमो मैत्रीपूर्ण खेलमा अन्तिम समयसम्म पनि मेस्सी बेन्चमै बसेपछि दर्शकहरुले नाराबाजी गरेका थिए । दर्शकहरु थोरै समय भए पनि मैदानमा ओर्लिएको देख्न चाहन्थे । उक्त खेलमा इन्टर मियामीले हङ्कङ–११ लाई ४–१ गोलले हराएको थियो ।

रंगशालामा उपस्थित दर्शकले मेस्सीलाई मैदानमा नदेखेपछि आफ्नो पैसा फिर्ता गर्नुपर्ने मागसहित नाराबाजी गरे । मेस्सीको खेल हेर्नकै लागि हजारौँ समर्थकले ठूलो धनराशी खर्चिएर मैत्रीपूर्ण खेलको टिकट खरिद गरेका थिए ।

इन्टर मियामीका मालिकमध्येका एक डेभिड बेकह्यामले आफ्नो मन्तब्य राख्दा पनि दर्शकले नाराबाजी गरेका थिए । हङ्कङ सरकारले पनि मैत्रीपूर्ण खेलको आयोजक ट्याटलर एसियाले दर्शकको पैसा फिर्ता गर्नुपर्ने हुनसक्ने बताएको छ ।

‘मेस्सीले पनि प्रतियोगिता खेल्ने भनेर प्रचार गरिएको थियो । तर, मेस्सी मैदानमा नओर्लिएपछि दर्शकसँगै सरकारी प्रतिनिधिहरु पनि निराश भएका छन् । यस विषयमा कारवाही अगाडि बढाइने छ,’ सरकार मातहतको मेजर स्पोर्टस इभेन्ट कमिटी (एमएसईसी) द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमएसईसीले उक्त कार्यक्रमका लागि आफूहरुले एक करोड ५० लाख हङ्कङ डलर र कार्यक्रम स्थलका लागि थप १० लाख हङ्कङ डलर अनुदान दिएको पनि जनाएको छ । ३८ हजार तीन सय २३ दर्शक क्षमताको रंगशाला खचाखच भरिएको थियो ।

आयोजकले एउटा टिकटको मूल्य भने एक हजार हङ्कङ डलर (करिब एक सय एक पाउण्ड) तोकेको थियो । उक्त खेलमा मेस्सीका अतिरिक्त उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजमा पनि उपस्थित थिएनन् । स्वारेज गत डिसेम्बरमा इन्टर मियामीमा आबद्ध भएका हुन् । उनी घुँडाको चोटका कारण खेलमा उपस्थित नभएको बताइएको छ ।

हङ्कङका समर्थकहरु मेस्सीलाई हेर्न निकै आतुर थिए । मैत्रीपूर्ण खेलअघि इन्टर मियामीको अभ्यास सत्र राखिएको थियो । अभ्यासका क्रममा पनि मेस्सीलाई हेर्न हजारौंको सँख्यामा समर्थक ओइरिएका थिए । मेस्सीलाई हेर्न रंगशाला रहेको क्षेत्रमा दशौँ हजार फुटबल समर्थक सडकमा निस्किएका थिए ।

समर्थकको भिँड बढ्दै गएपछि प्रहरीले रंगशाला क्षेत्रको सडकमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको थियो । मैत्रीपूर्ण खेलअघि भने मेस्सीसँगै इन्टर मियामीका अन्य खेलाडी र मालिक डेभिड बेकह्यामले समर्थकलाई अभिवादन गरेका थिए । हङ्कङ भ्रमणका क्रममा मेस्सीले त्यहाँका स–साना स्कुले बालबालिकासँग पनि केही समय बिताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप