सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

६ महिनामा नेपालमा ३६ विदेशी फिल्म प्रदर्शन

कति रकम बाहिरियो कसैसँग छैन तथ्याङ्क
मङ्गलबार, २३ माघ २०८०, ११ : ४९
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । नेपाली फिल्म हलमा विदेशी फिल्मको दबदबा छ । हिन्दी र अङ्ग्रेजी गरेर बर्सेनि ७० देखि ८० को हाराहारीका विदेशी फिल्म प्रदर्शन भएको देखिन्छ ।

यो आर्थिक वर्षको ६ महिना अर्थात् गत साउनदेखि पुससम्म ३६ विदेशी फिल्म सेन्सर भएको देखिन्छ । नेपालमा विदेशी फिल्म तबमात्र सेन्सर हुन्छ जब यो प्रदर्शनमा आउने गर्छ । यो ५ महिनामा सेन्सर भएका विदेशी फिल्महरूमा १९ वटा हिन्दी र १७ वटा अङ्ग्रेजी भाषाका रहेका छन् ।

हिन्दी फिल्मतर्फ बलिउड अभिनेता सलमान खान र कट्रिना कैफको ‘टाइगर ३’, शाहरुख खान र नयताराको ‘जवान’, अक्षयकुमार र यामी गौतमको ‘ओएमजी २’, रणवीर कपुर र रश्मीका मन्दानाको ‘एनिमल’को अलवा  ‘रकी और रानीकी प्रेम कहानी’, ‘जेलर’, ‘घुमर’, ‘अकेली’, ‘ड्रिम गर्ल २’, ‘द ग्रेट इन्डियन फ्यामिली’, ‘फुकरे’, ‘चन्द्रमुखी २’, ‘मिसन रानीगन्ज’, ‘लियो’, ‘गणपथ’, ‘टाइगर ३’, ‘साम बहादुर’, ‘हाइ पापा’, ‘मिलर’, ‘मेरी क्रिसमस’ रहेका छन् ।

त्यस्तै अङ्ग्रेजी फिल्मतर्फ ‘बार्बी’, ‘ओपनहेमर’, ‘एक अङ्ग्रेजी’, ‘द मेक २’, ‘मेबी’, ‘ब्लु बिटल’, ‘द क्वीन मेरी’, ‘रिट्रीब्युसन’, ‘द नम’, ‘द एक्पानडेवल ४’, ‘द क्रेटर’, ‘स’, ‘प पेट्रोल’, ‘द मार्वल्स’, ‘द हङ्गर गेम्स’, ‘ड्रिम सिनारियो’ लगायत छन् । अङ्ग्रेजी फिल्ममा सिरिजदेखि एक्सन फिल्मसम्म छन् ।

नेपाली फिल्मको हकमा भने सेन्सरका आधारमा रिलिज भन्न मिल्दैन । किनभने फिल्म सेन्सर गराएर रिलिज नगरी राख्ने निर्माता, निर्देशक छन् । विदेशी फिल्मको हकमा भने त्यो भएको देखिन्न । सेन्सर भएका फिल्म तुरुन्तै रिलिज हुने चलचित्र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्य बताउँछन् ।

‘नेपालमा विदेशी फिल्म तब मात्र सेन्सर हुन्छ । जब रिलिजका लागि तय हुन्छ’, आचार्यले थपे ‘सेन्सर भएको केही दिनमा रिलिज भैसकेको हुन्छ ।’ पुस मसान्तसम्म सेन्सर भएका फिल्महरू सबै रिलिज भैसकेको उनको भनाई छ ।

कति बाहिरियो नेपाली रकम ?

हरेक वर्ष नेपालमा हिन्दी र अङ्ग्रेजी फिल्म भित्रिँदा मोटो रकम बाहिरिने गर्छ । त्यो हिसाबले पनि यो ६ महिना भित्रिएका ३६ विदेशी फिल्म मार्फत पनि करोडौँ रकम ‘क्यास फ्लाइट’ भएको सजिलै अनुमान गर्न सकिन्छ । तर यति फिल्म नेपाल भित्रिँदा कति रकम क्यास फ्लाइट भयो भन्ने विवरण न विदेशी फिल्म भित्र्याउने वितरकसँग नै छ, फिल्म सेन्सरसहित प्रदर्शनका लागि अनुमति दिने राज्यको निकाय चलचित्र विकास बोर्डसँग ।

विदेशी चलचित्र भित्र्याउने स्पष्ट कार्यविधि हामीसँग नहुँदा यसको सही तथ्याङ्क नभएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी बताउँछन् । ‘करोड–दुई करोड लगाएर भित्र्याएको फिल्म पनि विकास बोर्डमा ३० लाख रुपैयाँ देखाउने गरेका छन्’, प्रवक्ता बुढाथोकीले भने ‘उताको वितरक र यताको वितरकको ओरिजिनल डकुमेन्ट लुकाइन्छ । माग्ने अधिकार हामीसँग छैन ।’ अब छिट्टै कार्यविधि बन्छ र सबै कुरो रेकर्ड रहने बुढाथोकीको भनाइछ ।

नेपालमा हिन्दी तथा अङ्ग्रेजी फिल्म धेरै भित्र्याउने वितरक सीमित छन् । ती मध्यका एक हुन् नक्किम उदिन । उदिन पनि हिन्दी र अङ्ग्रेजी फिल्म नेपाल भित्रिँदा यति नै रकम बाहिरियो भनेर भन्न नसकिने बताउँछन् ।

‘नेपालमा अङ्ग्रेजी फिल्म व्यवसायको शेयर बाँडफाँडमा भित्रिन्छ’, उदिनले भने ‘हिन्दी फिल्म एक लाखदेखि ३ करोडसम्म भित्रिने गरेको छ ।’ नेपालमा यो ६ महिनामा भित्रिएका सबै फिल्म आफ्नो मात्र नभएकाले कसले कति तिरेर ल्यायो भन्न आफूले नसक्ने उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप