बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

समाचार सङ्कलन गर्न गएका पत्रकारमाथि साङ्घातिक हमला

मङ्गलबार, २३ माघ २०८०, २१ : २८
मङ्गलबार, २३ माघ २०८०

रौतहट। रौतहटको कटरिया नगरपालिकामा ९ स्थित बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिमा समाचार सङ्कलन गर्न गएका एक पत्रकारलाई साङ्घातिक हमला गरिएको छ। चिनिमिल सञ्चालकको इशारामा मिलका बाउन्सरहरुको कुटाइबाट गम्भीर घाइते भएका पत्रकार कृष्ण तिवारीको गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी मंगलबार राति एम्बुलेन्सबाट वीरगन्ज पठाइएको हो।

पछिल्लो केहीदिन देखि मिलमा उद्योगीले प्रति ट्रली २०देखि ३०, क्विन्टल उखुको तौल घटाइरहेको किसान माझ चर्चा चलेको थियो। मंगलबार सर्लाहीको किसानले ल्याएको उखुको तौल घटेपछि उनीहरू मिल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका थिए। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएको भन्दै किसानहरूले आन्दोलन गरेका थिए।

किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार सङ्कलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेका थिए । कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एन्ड केमिकल प्रालिका सञ्चालककै मिलेमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले लुटपाट गरिएको छ।

यसैबिच घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहट र समाजवादी प्रेस संगठन रौतहटले छुटाछुटै विज्ञप्ति निकालेर दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी खनालले घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप