सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस महासमिति : साढे दुई करोड खर्च हुने अनुमान, दर्ता शुल्क ३ हजार

२५ सय प्रतिनिधि हुने, २५ क्षेत्रबाट चयन हुन बाँकी
बुधबार, २४ माघ २०८०, १० : २१
बुधबार, २४ माघ २०८०

काठमाडौँ । आगामी फागुन ७–१० मा हुने कांग्रेसको महासमिति बैठकको तीव्र तयारी चलिरहेको छ । ०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसले पहिलो पटक महासमिति बैठक गर्न लागेको हो । 

१४ औँ महाधिवेशनमा कांग्रेसले नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचन मात्रै गरेको थियो । ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले फागुनमा महासमिति बैठकबाट आगामी नीति तय गर्न लागेको हो । विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नै नीति अधिवेशनको विकल्पमा व्याख्या गरेको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ  । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ । आसन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उपसभापति खड्काको नीतिगत तथा महामन्त्रीद्वयको साङ्गठनिक र राजनीतिक प्रतिवेदन तयार भइसकेको छ । उपसभापति खड्काको प्रतिवेदनमा पार्टीले लिने समग्र नीतिको विषय समेटिने छ । यस्तै महामन्त्री शर्माले वर्तमान राजनीतिक विषयवस्तु समेटेर राजनीतिक प्रतिवेदन तयार पारेका छन् भने महामन्त्री थापाको प्रतिवेदन साङ्गठनिक गतिविधिमा केन्द्रित छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकअघि केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ । केन्द्रीय समिति बैठकबाट पास भएपछि सबै प्रतिवेदन महासमिति बैठकमा पेस गरिने छ । कांग्रेसको महासमिति बैठक प्रभावकारी र उपलब्धिमूलक हुने पौडेलको दाबी छ । 

  • तोकियो उपसमिति संयोजक

कांग्रेसले महासमिति बैठकका लागि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र बुक गरिसकेको छ । महासमितिका लागि आवश्यक पर्ने सामान्यतया सबै उपसमिति बनिसकेको कांग्रेस मुख्यसचिव पौडेलले बताए ।

पार्टी सभापति देउवा नेतृत्वको महासमिति बैठक तयारी मूल समितिमा केन्द्रीय समिति, प्रदेश समितिका सभापति, उपत्यकाका कांग्रेस जिल्ला सभापति सदस्य रहेका छन् । प्रचार-प्रसार उपसमिति बाहेकमा ललितपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई संयोजक तोकिएको छ । प्रचार–प्रसार उपसमिति संयोजकमा पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा छ ।

आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदय शमशेर राणा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमिति संयोजकमा उर्मिला नेपाल ‘केसी’ छन् ।

यस्तै प्रदेश समन्वय उपसमिति संयोजकमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमिति संयोजकमा ललितपुर सभापति जितेन्द्र श्रेष्ठ चयन गरिएको छ । महासमितिको बैठक हुने गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा उपसमितिका संयोजकको बैठक बसिसकेको कांग्रेस मुख्यसचिव पौडेलले बताए । 

‘महासमिति बैठक हुने हलमा उपसमिति संयोजकको बैठक बसिसक्यो । सबैको कार्यविभाजन गरिसक्यौँ । उपसमितिहरूले आ-आफ्नो तयारी तीव्र पारिराख्नु भएको छ,’ उनी भन्छन् ।

  • २५ सय प्रतिनिधि हुने

कांग्रेसले महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि रहने कांग्रेसको आङ्कलन छ । १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ ।

त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ । कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ । 

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुनेछन् । जनसम्पर्क समितिबाट करिब एक सय जना महासमिति सदस्य आउने छन् । यस्तै भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । 

कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि करिब सय जनाले महासमितिमा भाग लिने छन् । सभापतिलाई बढीमा १५ जना महासमिति प्रतिनिधि मनोनीत गर्ने अधिकार छ । २९ जना जिल्ला सभापति, केही सांसद पर्यवेक्षकका रूपमा महासमिति बैठकमा सहभागी हुनेछन् । 

  • २५ प्रतिनिधि छनोट हुन बाँकी

कांग्रेस निर्वाचन समितिका अनुसार १६५ निर्वाचन क्षेत्र मध्ये अझै २५ ठाउँमा महासमिति सदस्य चयन हुन सकेको छैन । केन्द्रीय निर्वाचन समिति संयोजक खम्बबहादुर खातीले २५ क्षेत्रको प्रतिनिधि छनोट हुन बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार भोजपुर, सुनसरी–१, महोत्तरी, बारा, पर्सा, सप्तरी–१, सिन्धुली–२, धादिङ, काठमाडौँ– ५ र ६, दोलखा, रामेछाप, पर्वत, कपिलवस्तु, दाङ–३, कञ्चनपुर–१ मा प्रतिनिधि चयन हुन बाँकी छ ।

कुनै क्षेत्रबाट प्रतिनिधि छनोट नभए पनि महासमिति बैठक भने तोकिएकै मितिमा हुने खातीले रातोपाटीलाई बताए । ‘पार्टीबाट आग्रह भएको अवस्थामा बाहेक हामी म्याद थप गर्ने पक्षमा छैनौँ । २० माघभित्र आएका विवरणलाई समेटेर अन्तिम विवरण तयार गर्दै छौँ । यो साताभित्र प्रतिवेदन बुझाउँछौँ । नभएका स्थानमा पार्टीले विकल्प दिन सक्छ,’ उनले ।

  • खर्च साढे दुई करोड, दर्ता शुल्क ३ हजार

महासमिति बैठकका लागि कांग्रेसले साढे दुई करोड खर्च हुने अनुमानित हिसाब निकालेको छ । ‘सबै पार्टीका काम जति पार्टीका क्रियाशील सदस्यले तिर्ने लेबी र सदस्यता शुल्कबाट व्यवस्थापन हुन्छ,’ उनी भन्छन्, ‘कांग्रेस भनेको आम जनताको पार्टी हो । नागरिकहरूले स्वतःस्फूर्त रूपमा दिने रकमलाई नाइनास्ती गरिँदैन । तर, कसैसँग चन्दा माग्ने नीति छैन ।’ 

हरेक महासमिति सदस्यले दर्ता शुल्क बुझाउनुपर्ने हुन्छ । मुख्यसचिव पौडेलका अनुसार महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिसँग प्रतिव्यक्ति ३ हजार शुल्क लिइने छ ।

‘एक जनाबाट ३ हजार लिने भएकाले करिब ७५ लाख त्यहीँबाट उठ्छ । अरू नपुग हामी व्यवस्थापन गर्छौँ,’ पौडेलले भने । प्रतिनिधिका लागि बिहान र बेलुकाको खाना बैठक स्थलमा व्यवस्था हुने छ । भोजन व्यवस्थापन समितिका संयोजक उदयशम्शेर राणाले क्याटरिङको जिम्मा दिने काम बाँकी रहेको बताए । ‘विगतमा क्याटरिङको जिम्मा लिएकालाई प्राथमिकता दिने कुरा छ । यसमा निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप