एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
सारांश
- म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ। यसले पानी चुहावट र जमिन भासिने समस्या समाधान गर्नेछ।
- गण्डकी प्रदेश सरकारको योजनाअन्तर्गत 'पच्चिस साले सिँचाइ योजना' सञ्चालन भइरहेको छ, जसले १८० कृषकको २१९ रोपनी जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ।
- योजनाले थप नहर निर्माण र पाइपलाइन जडान गर्ने लक्ष्य लिएको छ, जसबाट कृषकहरूलाई तीन बाली लगाउन र व्यावसायिक तरकारी खेती गर्न सहयोग पुग्नेछ।
म्याग्दी । यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ ।
उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए ।
“कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।”
चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताउनुभयो । उहाँका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ ।
यसअघि विसं २०५१र५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो । बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए ।
आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले रु ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताउनुभयो । सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारीखेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ ।
महत्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरुसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण