पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
सारांश
- मोरङको पथरीमा जीवन विज्ञान प्रयोगशालाले पहिलो वर्ष पूरा गर्यो, वर्षोत्सव मनाइयो।
- प्रयोगशालाले नगरभित्र विभिन्न क्षेत्रमा विस्तार गरेको छ र साधकहरूले शारीरिक र मानसिक विकासमा लाभ उठाएका छन्।
- योग र योगाभ्यासमा उद्योग वाणिज्य संघको संलग्नता रहेको छ, जसले आध्यात्मिक जागरणमा सहयोग पुर्याएको छ।
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरीमा जीवन विज्ञान प्रयोगशाला प्रयोगमा आएको पहिलो वर्ष पूरा भएको छ । पहिलो वर्ष पूरा भएको अवसरमा जीवन विज्ञान प्रयोगशाला व्यवस्थापन समितिले मंगलबार वर्षोत्सव मनाएको छ ।
पथरी उद्योग वाणिज्य संघको पहलमा आरम्भ गरिएको जीवन विज्ञान प्रयोगशालाले एक वर्षमा नगरभित्र छ वटा विभिन्न क्षेत्रमा विस्तार गरेको छ । पथरी मन्दिर लाइनस्थित श्री सिद्धेश्वर शिवालय मन्दिर परिसरमा जीवन विज्ञान ध्यान उर्जा प्रयोगशाला सञ्चालित छ । त्यहाँ सयौँ साधक साधिकाले शारीरिक र मानसिक विकासक्रममा पर्याप्त सुख, शान्ति र समृद्धिको अनुभूति आर्जन गरेको जनाइएको छ ।
योग र निरोग अवस्थाबीचको अन्तरसम्बन्ध स्वस्थ मानिसको मुटु र मुटुहुँदै स्वस्फूर्त रक्तप्रवाह हुने शारीरिक संरचनाजस्तै हो । प्रकृतिप्रति प्रेमभाव जगाउने बिहानैको समयमा जो धेरै हाँस्यो, ऊ धेरै बाँच्यो । हाँस्नु–हसाउनु, नाच्नु–नचाउनु र बाँच्नु बचाउनु योगको एकमात्र उद्देश्य उक्त संस्थाले लिएको छ ।
जीवन विज्ञान ध्यान उर्जा प्रयोगशाला कोशी प्रदेशका साधक खगेन्द्र न्यौपाने र मोरङ संयोजक चन्द्र चेम्जोङले पहिलो वर्षोत्सवलाई विशेष बनाएका थिए ।
उद्योग वाणिज्य संघको अभियानको रूपमा सञ्चालित योग र योगाभ्यासमा अध्यक्ष दीपक बस्नेत, निवर्तमान अध्यक्ष धनकुमार तामाङसहित दर्जनौँले दिनहुँजसो भाग लिँदै आएका छन् । योगले अध्यात्मउन्मुख कर्मतर्फ पनि जोड्न प्रेरित गर्ने गरेको र अध्यात्मिक जागरणको पनि सहयोगी बन्ने गरेको साधक पुण्यप्रसाद नेपालको निष्कर्ष छ ।
प्रशिक्षित डम्बरवल्वभ गुरागाइँ, मदन गुरागाइँ, राधा गुरागाइँ, छविलाल घिमिरे, गोमादेवी दाहाल निरौला, जानुका दाहाल आचार्य, लीलादेवी निरौला, शारदा बस्नेतसहितको पंक्तिले दैनिक हुने योगाभ्यासमा सहजीकरण गरिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण