बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वितरणमुखी बजेटले समृद्धि आउँदैन : महत

मङ्गलबार, ०३ असार २०८२, १२ : १६
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो आर्थिक रूपान्तरणका लागि योजनाबद्ध कामको आवश्यकता औंल्याए।
  • उनले वितरणमुखी बजेटले समृद्धि नदिने भन्दै आम्दानी बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने बताए।
  • महतले पार्टी महाधिवेशन आगामी मंसिरमा सम्भव नदेखिएको र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको बताए।

बागलुङ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् । 

वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उनले बताए । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद् अकारणमा अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए । बजेटमाथि छलफल गर्दा पछि कार्यान्वयनमा सहज हुने उनको भनाइ छ । 

लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भएकाले योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको उनले बताए । आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पुर्‍याउने उनले उल्लेख गरे। 

उनले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन सम्भव नदेखिएको बताए । भिजिट भिसा प्रकरणमा कर्मचारी मुछिँदा गृहमन्त्रीले राजीनामा दिन नपर्ने उनको जिकिर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप