मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अयोध्याको राम मन्दिर दर्शन गर्न पुगे नेपाली सांसद

राम मन्दिरको उद्घाटनपछि दर्शन गर्न पाउने पहिलो अन्तर्राष्ट्रिय टोली हामी नेपाली थियौँ : सभापति यादव
बिहीबार, २५ माघ २०८०, १० : २५
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिर उद्घाटन भएपछि नेपाली सांसदहरू मन्दिरको दर्शन गर्न पुगेका छन् । उद्घाटनको दिन विभिन्न देशका प्रतिनिधिहरू त्यहाँ उपस्थित थिए । सर्वसाधारणका लागि खुल्ला गरेपछि भने पर्यटकको रूपमा त्यसको दर्शन गर्ने नेपाली टोली पहिलो भएको बताइएको छ । 

प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा सांसद तथा समितिका कर्मचारीहरू माघ १६ गते भारतको दिल्ली पुग्दा कार्यतालिकामा अयोध्याको राम मन्दिर दर्शन गर्ने थिएन । भर्खर उद्घाटन भएको राम मन्दिर दर्शन गर्ने इच्छा सांसदहरूलाई नभएको होइन । उनीहरूले भारतीय दूतावाससँग त्यो इच्छा पनि जाहेर गरेका थिए तर सुरक्षाको कारण देखाउँदै राममन्दिर दर्शन गर्ने कार्य भ्रमण कार्यतालिकामा राखिएको थिएन । 

सांसदहरूलाई उत्तर प्रदेश लग्ने, त्यहाँका मुख्यमन्त्री, राज्यपाल, विधान सभाका सभाध्यक्षलगायत उच्च स्तरीय भेटघाट तथा काशी विश्वनाथको दर्शन गर्ने कार्यतालिका थियो तर अयोध्याको राम मन्दिर दर्शन गर्ने कुरा उल्लेख थिएन । समितिका सभापति राजकिशोर यादवले भने, ‘उत्तर प्रदेश जाने भएपछि राम मन्दिरको दर्शन नगर्ने कुरा हुँदैन । हामीले पनि सम्बन्धित ठाउँमा प्रस्ताव राख्यौँ तर भर्खर उद्घाटन भएको कारण सुरक्षा व्यवस्था निकै कडा गरिएको रहेछ । त्यसैले तालिकामा राख्न गाह्रो छ भनेपछि हामीले पनि त्यसो भए ठिकै छ भनेर छाडेका थियौँ ।’

भ्रमण तालिकामा नै नभएपछि राम मन्दिरको दर्शन गर्ने मन उनीहरूले मारिसकेका थिए । भारत सरकारले बनाएको तालिकाअनुसार माघ २३ गते बिहान १० बजे नेपाली प्रतिनिधिमण्डल उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न गएका थिए ।

भेटको क्रममा मुख्यमन्त्री योगीले नै ‘तपाईंहरु भगवान् श्रीरामको दर्शन गर्नुभयो कि नाइँ ?’ भनी सोधेका थिए । त्यसपछि समितिका सभापति यादवले आफूहरूलाई इच्छा भएको तर राम मन्दिरमा दर्शन कार्यक्रम कार्यतालिकामा नै नराखिएको सुनाएका थिए ।

त्यसपछि मुख्यमन्त्री योगीले ‘यस्तो पनि कहीँ हुन्छ ?, लखनउ आउने अनि राम मन्दिरको दर्शन नगरी फर्किने हुन्छ ?’ भन्दै तुरुन्तै फोन गरेर नेपालबाट आएका सांसदहरूलाई दर्शनको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

त्यही दिन तीन बजे विधान सभाका सभाध्यक्ष सतिश महानासँग भेट्ने कार्यक्रम थियो । मुख्यमन्त्री योगीले सभाध्यक्ष सतिशलाई फोन गरेर नेपालबाट आएका सांसदसँग अलि छिटो भेटघाट गर्ने र रामको मन्दिर दर्शन गर्न समय मिलाउन आग्रह गरेका थिए । 

तीन बजेको भेटघाटलाई १२ बजे सारियो । त्यतिबेला विधान सभाको बैठक पनि चलिरहेको थियो । नेपाली सांसदहरूलाई विधानसभामै लगेर स्वागत गरेको थियो । 

त्यहाँको भेटघाट सकाएर नेपाली सांसदहरू अयोध्याका लागि हिँडेका थिए । साढे पाँच बजे अयोध्या पुगेर त्यहाँ भएको व्यवस्था अनुसार मन्दिरमा गएर उनीहरूले विशेष पूजा गएका थिए । समितिका सभापति यादवले भने, ‘त्यहाँ गएर मात्र थाह पायौँ कि राम मन्दिरको उद्घाटनपछि पहिलो दर्शन गर्ने अन्तर्राष्ट्रिय टोली हामी नेपाली थियौँ ।’

ram mandir2

साँच्चै अयोध्याको राम मन्दिर ऐतिहासिक र भव्य मन्दिर रहेको छ र त्यसपछि अन्तर्राष्ट्रिय जगतको ध्यानाकृष्ट भएको उनले बताए । दर्शन गर्नेहरूका लागि व्यवस्थापन राम्रो पाएको उनले बताए । 

आफूले मुख्यमन्त्री योगीसँगको भेटघाटमा नै जनकपुरबिना अयोध्या अधुरो भएको कारण अयोध्या जस्तै जनकपुरलाई पनि विकास गर्न सहयोग गर्न आग्रह गरेको सभापति यादवले बताए । मुख्यमन्त्री योगी पनि त्यसमा सकारात्मक रहेको आफूले पाएको उनले बताए । भारतबाट सांसदहरू बुधबार साँझ नेपाल फर्केका छन् । 

ram mandir3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप