शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्याम्पस प्रमुखको कुर्सी किन रूखमा झुण्ड्याइयो ?

बिहीबार, २५ माघ २०८०, २२ : ४१
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । गत मंगलबार सानोठिमी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सी रूखमा झुण्ड्याइदिए । नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रूखमा झुण्ड्याइदिएका थिए ।

विद्यार्थी संगठनहरूले रूखमा झुण्ड्याएको कुर्सी त्यही दिन साँझ स्ववियुले निकालिदियो । त्यसपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनमा ताला लगाए ।

बुधबार क्याम्पस प्रशासनमा ताला लगाएपछि संयुक्त विद्यार्थी संगठन, स्ववियु र क्याम्पस प्रशासनबिच सहमति भयो । सहमतिपछि क्याम्पसको ताला खोलिएको थियो ।

क्याम्पसको होस्टेलमा गैरविद्यार्थी बसिरहेको भन्दै उनीहरू हटाउनुपर्ने माग विद्यार्थीहरूले राखेका थिए । स्नातकको पढाइ सकेर स्नातकोत्तरमा भर्ना नभएका र स्नातकोत्तर पढाइ सकेका विद्यार्थी नियम विपरीत होस्टेलमा बसेको भन्दै विद्यार्थीहरुले हटाउन क्याम्पस प्रशासनलाई दबाब दिँदै आएका थिए । क्याम्पस प्रशासनले पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगरेको भन्दै उनीहरूले मंगलबार क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर झुन्ड्याएका थिए ।

त्यसपछि स्ववियुले मंगलबार साँझ नै क्याम्पस प्रमुखको कुर्सी रुखबाट झारेको थियो ।

स्ववियु सभापति रेशमलाल श्रेष्ठले आन्दोलनरत विद्यार्थी संगठनहरू, स्ववियु र क्याम्पस प्रशासनबिच सहमति भइसकेको बताए । १० दिनभित्र होस्टल व्यवस्थापन गर्ने सहमति भएपछि ताला खोलिएको उनको भनाइ छ ।

८० जना क्षमता भएको सानोठिमी क्याम्पसको छात्राबासमा हाल ४८ जना बस्दै आएका छन् । २०७२ सालको भूकम्पपछि पूर्णरुपमा बन्द भएको थियो । पछि मर्मत सम्भार गरेर ४८ जना क्षमता बराबरको होस्टल सञ्चालनमा आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप