सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

निरुको व्यस्तता : अभिनय, नाटक निर्देशनदेखि योग र ध्यानसम्म

अभिनयबाट हराइन् भन्नेलाई दिइन् जवाफ– धमाका साथ आउँछु
शुक्रबार, २६ माघ २०८०, ११ : २७
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ ।  निरु खड्का अर्थात् ‘ठ्यासकुमारी’को एक समय सानो पर्दामा जगजगी थियो । सिरियलमा मात्र नभएर म्युजिक भिडियोमा पनि उनी बाक्लो देखिन्थिन् । केही समय यता भने उनलाई न सिरियलमा देख्न सकिन्छ, न म्युजिक भिडियोमा भेटिन्छ । उनी के गर्दैछिन्, कोही कसैलाई अत्तोपत्तो छैन । कतिपयले त उनी कलाकारिताबाट बाहिर गएको समेत भन्न थालेका छन् । तर निरु आफू कलाकारिता छोडेर बाहिर कतै नगएको र हराएको समेत भन्न नमिल्ने बताउँछिन् ।

‘धेरै समय सानो पर्दामा छाइरहेको मलाई केही समय नदेख्दा हराइ भन्ने लाग्दो हो’, खड्काले भनिन्, ‘म हराएको छैन । नियमित काम गरिरहेको छु । पहिलेजस्तो चर्चा नभएको हो ।’

एउटा माध्यममा लगातार छाएको मानिस त्यो माध्यममा नदेख्दा कलाकारिता छोड्यो भन्न नमिल्ने उनको धारणा छ ।

निरु सानो पर्दामा हास्य सिरियल ‘मेरी बास्सै’बाट चिनिएकी हुन् । यो सिरियलले उनलाई कलाकारितामा मात्र चिनाएन, ‘ठ्यासकुमारी’को उपनाम समेत दियो । अहिले उनलाई पब्लिकले वास्तविक नामले भन्दा पनि उपनामले चिन्छन् ।

निरुलाई कलाकारितामा पहिचान र उपनाम दिने हास्य सिरियल ‘मेरी बास्सै’ अहिले पनि नियमित प्रसारणमा छ । उनले भने यो सिरियल छोडिसकिन् ।

पहिलो पटक सुत्केरी हुने समय उनले यो सिरियल छाडेकी थिइन् तर पछि फेरि जोडिइन् । निरुले दोस्रो पटक छोड्नुको कारण खोलिन् ‘मेरी बास्सै पुरानै तरिकाबाट अगाडि बढ्यो । केही नयाँ तरिकाले अगाडि बढौँ न भन्दा टिमले मानेन ।’ त्यसपछि आफू ‘मेरी बास्सै’बाट बाहिरिएको उनले खुलाइन् ।

उनी सिरियलबाट बाहिर रहेको दुई वर्षभन्दा बढी भइसकेको छ । त्यसैले पनि दर्शकलाई हराएको भान भयो ।

niru khadka

अब भने उनी दुई सामाजिक सिरियल मार्फत फेरि देखिने भएकी छन् । ती सिरियल फरक कथामा निर्माण हुने उनले बताइन् ।

सिरियलमा अभिनय नगरे पनि म्युजिक भिडियोमा त उनी देखिनु पर्ने हो नि भन्ने पनि कतिपयलाई लागेको छ । म्युजिक भिडियो आर्थिक कारणले नगरेको उनले बताइन् । ‘अहिले अर्थतन्त्र खस्किएको छ भन्दै म्युजिक भिडियोमा पारिश्रमिक दिन गह्रो मान्छन्’, उनले थपिन्, ‘पहिले जुन रेन्जमा पारिश्रमिक मिल्थ्यो, त्यो अहिले छैन । खेल्नका लागिमात्र किन जानु ?’

सानो पर्दामा सधैँ छाउने कलाकार यो क्षेत्रबाट बाहिर रहँदाको अनुभव कस्तो होला भन्ने जिज्ञासामा निरु भन्छिन्, ‘हरेक कुरो आफूसँग हुँदाभन्दा नहुँदा महत्त्व हुँदोरहेछ । त्यो फिल भएको छ । त्यही क्यामेरा, त्यही लाइट सधैँ हुँदा कहिल्यै महत्त्व भएन । अहिले त्यसको महत्त्व, पावर बुझेँ ।’

आफूले लगातार काम गर्दा कति न्याय, कति अन्याय गरेँ भन्ने समेत अहिले फुर्सदको समय सोच्न पाएको उनले बताइन् । उनी भन्छिन्, ‘जसले मलाई काम दिएर यहाँसम्म ल्याए, उहाँहरुलाई पनि धन्यवाद दिएँ ।’

उनीसँगको भेटमा अचेल जसले पनि एउटै प्रश्न गर्छन्– तपाई टेलिभिजनमा देखिन हुन्न नि । अब कहिले आउने ?

जवाफमा उनले भन्ने गरेकी छन्, ‘छिटै केही धमाका साथ आउँछु ।’

अब निर्देशक

369532930_10227545732607460_639270950237295909_n (1)

निरु सिरियल निर्देशनमा डेब्यु गर्ने तरखरमा छिन् । आफ्नै निर्देशनमा एक सिरियल ल्याउने उनको तयारी छ । यसको लेखन तथा रिसर्चमा उनको एक वर्षभन्दा बढी समय बितिसक्यो । अहिले बजारमा आएको भन्दा केही फरक सिरियल ल्याउने तयारी उनको हो । आफूले बनाउने सिरियल सबैकुराको हिसाबले पोजेटिभ हुने उनले बताइन् ।

‘हामी अहिले दुःख देखिरहेका छौँ, पोखिरहेका छौँ’, उनले थपिन्, ‘अरुको कुरागर्दा र सुन्दा पनि नेगेटिभ बढी गर्छाैं ।’ जीवनमा धेरै पोजेटिभ कुरो हुने भन्दै उनले त्यसलाई आफूले सिरियलमा महसुस गराउने दाबी गरिन् ।

सिरियलको विषयबस्तु मात्र होइन, निर्देशनमा पनि केही नयाँ गर्ने उनको सोच छ । त्यसैले उनी यो सिरियल निर्देशनमा टेक्निकल कुरो सिकेर आउन खोज्दैछिन् । केही समय निर्देशन सिक्न विदेश जाने उनको योजना समेत छ ।

‘कलाकारिता र नाटक निर्देशन अनुभवले सिरियल निर्देशनमा मेरो योग्यता पुगिसक्यो’, उनी अगाडि थप्छिन्, ‘निर्देशनमा परिपक्व तरिकाबाट आउन चाहन्छु । त्यसका लागि टेक्निकल कुरो सिक्ने इच्छा हो ।’ सिरियल ल्याउँदा राम्रो र मार्केट सुहाउँदो होस् भन्ने उद्देश्यले पनि आफू विदेश गएर केही सिक्न इच्छुक रहेको उनले सुनाइन् ।

नाटकमा पनि

419134393_10228318902736230_3873446619954843009_n

सिरियल, म्युजिक भिडियो अभिनय नगरे पनि निरु पछिल्लो समय नाटकमा अभिनय र निर्देशनमा भने सक्रिय छिन् । उनको लेखन, निर्देशन रहेको नाटक ‘शान्तिको साथ’ केही दिन अगाडि राष्ट्रिय नाचघर जमलमा मञ्चन भएको  थियो ।

शान्ति फाउन्डेसनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा मञ्चन भएको नाटक ‘शान्तिको साथ’ले मानव बेचबिखन र साइबर स्लेभरीको मुद्दा उठाएको थियो । करिब एक घण्टाको नाटकमा उनको अलावा लोकेन्द्र लेखक, दीपमाला परियार, सन्देश लामिछाने, चन्द्रा थापा, नमस्ते दिवाकर घिमिरे लगायतको अभिनय थियो । नाटकले दर्शक र चर्चा राम्रो पाएको बताइन्छ ।

सिर्जनात्मक काम हुने र लिड गर्न पाइने भएर उनले नाटक निर्देशन थालेकी हुन् । उनी  नाटक अभिनयमा पहिले देखिनै सक्रिय थिइन् । अझ भन्नुपर्दा कलाकारिताको सुरुवात नै उनको नाटकबाट भएको थियो ।

स्वर्गीय कलाकार विष्णुभक्त फुयालसँग उनले थुप्रै नाटक अभिनय गरेकी थिइन् । बाहिर पब्लिकले कलाकारको रुपमा उनलाई चिनेको भने ‘मेरी बास्सै’ सिरियलबाट हो ।

सानो पर्दा र नाटक दुवैको अनुभव सँगालेकी निरुको दुवैप्रतिको बु्झाइ फरक छ । ‘नाटकको जस्तो अभिनय सन्तुष्टि सानो पर्दामा छैन । सानो पर्दाको जस्तो चर्चा नाटकमा छैन’, उनले थपिन्, ‘हरेक कलाकारले एकपटक नाटक गर्नैपर्छ । त्यसले उसलाई सक्षम बनाउँछ ।’

सानो पर्दाभन्दा नाटकमा बढी मेहनत हुने उनले सुनाइन् । अभिनयमा लामो यात्रा पार गरे पनि अहिलेसम्म नाटक लेखन र निर्देशन भने उनले एक दर्जन जतिमा गरिसकेकी छन् । अहिले पनि दुई नाटकको तयारीमा उनी छिन् । एक मानव बेचबिखन र ‘साइबर स्लेभरी’को कथामा छ । जुन काठमाडौँ र हेटौडामा मञ्चनको तयारी छ । अर्काे नाटक मेन्टल हेल्थ र आत्महत्या सम्बन्धी विषयको छ । जुन सुदूरपश्चिमका विभिन्न जिल्लामा मञ्चन हुने उनले जानकारी दिइन् ।

सानो पर्दादेखि नाटकसम्म भिजेकी निरुको ठुलो पर्दा (फिल्म)को सोच भनेर रहेनछ । उनले भनिन्, ‘फिल्म अहिले सोचेकी छैन ।’

योग प्रशिक्षक

338039962_224964893348894_6629116969041180986_n

कलाकारिताको अलावा निरु पछिल्लो समय बिहान नियमित जीवन विज्ञानको योग सिकाउँछिन् । काठमाडौँको नागार्जुन नगरपालिका, स्युचाटारमा उनले नियमित योग सिकाउँदै आएकी छन् । दिउँसो कलेजतिर उनी ध्यान समेत गराउँछिन् । यो उनको विगत २ वर्षभन्दा बढीको नियमित कर्म हो । तनावबाट कसरी मुक्त हुने भनेर योगसँग जोडिएकी उनी अहिले आफैँ प्रशिक्षक भएर हिँडेकी छन् ।

योग र ध्यानले मानिसलाई तनावमुक्त गराउने उनको बुझाइ छ । ‘विभिन्न रिसर्चले पनि मानिसमा हुने शत प्रतिशत रोग ध्यानले निको पार्ने देखिएको छ,’ उनले अनुभव सुनाइन्, ‘योगले शरीर र मन जोड्ने काम गर्छ ।’

नियमित योग गर्न सकियो भने सबै समस्या र तनावको हल निस्कने उनको बुझाइ हो । बिहानको दैनिक योगले मानिसलाई दिनभर फूर्ती दिने उनको अनुभव छ ।

कलाकारितामा चिनिएको व्यक्तिलाई योग प्रशिक्षकको रुपमा पब्लिकले कसरी हेर्छन् त ? जवाफमा उनले भनिन्, ‘मलाई योगमा कलाकारिताले फाइदा दिएको छ । कलाकारितामा चिनिएको मानिस योग ट्रेनर हुँदा बढी विश्वास गर्दा रहेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप