बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एउटै मञ्चबाट प्रचण्डको पटक-पटक मन्त्रीको उदारो आश्वासन

शनिबार, २७ माघ २०८०, २० : ३३
शनिबार, २७ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायलाई पटक पटक मन्त्रीको उदारो आश्वासन बाँडेका छन् । शनिवार तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा खुलामञ्चमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीको पुरानै आश्वासन बाँडेका हुन् ।

‘गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी बागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए । मन्त्री बन्नु त भयो । प्रदेशमा बन्नुभयो । र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो ।  म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दैछु । अब सङ्घको मन्त्रीमण्डल पुनर्गठन त हुन्छ हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईँहरूलाई दिलाउन चाहन्छु,’ पुरानै आश्वासन दिलाउँदै उनले भने ।

एक वर्षअघि माघ ८ गते सोही मञ्चबाट उनले बागमतीमा तामाङ समुदायबाट दुई जनालाई मन्त्री बनाउने आश्वासन बाँडेका थिए । त्यतिबेला प्रचण्ड सरकारमा तामाङ समुदायबाट एकजना पनि मन्त्री नबनाएकोमा तामाङ नेताहरूले आलोचना गरेका थिए ।

‘मन्त्रीका कुरा पनि उठे । तामाङ समुदायबाट हितबहादुर तामाङजीलाई मन्त्री बनाएकै हो । कुमारी मोक्तान पनि मन्त्री भइन् । शेरबहादुर तामाङलाई नेकपा कालमा मन्त्री बनाएकै हो । दावा तामाङलाई पनि बनाएकै हो,’ मन्त्रीको आश्वासन बाँड्दै त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए,’ केही समयभित्रै एक तामाङको छोरो र एक तामाङको छोरी मन्त्री छिट्टै बन्दैछन् । धेरै तनाव लिएर घरमा नजानुस् ।’

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका उनले मौजुदा मन्त्रिपरिषद् १२ पटक फेरबदल गरे तर एकजना पनि तामाङ समुदायबाट मन्त्री प्राथमिकतामा परेनन् । बागमती प्रदेश मन्त्रिपरिषदमा भने बहादुरसिंह लामा, कुमारी मोक्तान र तीर्थबहादुर लामा मन्त्री छन् ।

२५ सदस्य मन्त्रिपरिषदमा एकजना पनि तामाङ मन्त्री छैनन् । प्रचण्ड सरकार अहिले १३ महिना पुरा गरी १४ औं महिनामा प्रवेश गर्दैछ । शनिवार उनले दिएको आश्वासन कहिले पुरा हुन्छ त्यो हेर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप