मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोलुखुम्बुमा १८ आगलागीका घटना, तीन करोडभन्दा बढीको क्षति

शनिबार, २७ माघ २०८०, २२ : ०२
शनिबार, २७ माघ २०८०

सल्लेरी । सोलुखुम्बुमा ६ महिनामा आगलागीबाट रु तीन करोडभन्दा बढीको भौतिक क्षति भएको छ । चालु आर्थिक वर्ष छ महिनामा १८ वटा आगलागीका घटना हुँदा रु तीन करोड १९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकामा चार/चार वटा आगलागीका घटना भएका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकामा तीन, महाकुलुङ, सोताङ र नेचासल्यान गाउँपालिकामा दुई/दुई वटा र खुम्बु पासाङल्हामु गाउँपालिकामा एउटा आगलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ । सो अवधिमा भएको आगलागीबाट एक मन्दिरसहित १६ वटा घर जलेर नष्ट भएका छन् भने दुई वटा स्काभेटरमा आगजनी भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

घटनामा एक जना बालकको ज्यान गएको छ । गत मङ्सिर २१ गते चौरी गोठमा भएको आगलागीमा परी सोलुदुधकुण्ड नगरपालिका–२ का चार वर्षीय बालक पासाङ शेर्पाको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप