सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कथा

हेड सरकी छोरीसँगको त्यो ‘लभ’

बुधबार, ०२ फागुन २०८०, २२ : २३
बुधबार, ०२ फागुन २०८०

इन्जिनियरिङ क्याम्पसमा विद्यार्थी राजनीतिको सरगर्मी बढेकै थियो । बढ्नै पनि पर्‍यो, धेरैपछि अखिलको क्याम्पस कमिटी चयनका लागि चुनाव हुँदै थियो । आफ्नो दबदबा कायम गर्न सकिने हेतुका साथ सबैजना लागिपरेका थिए । 

मूलतः दुइटा प्यानल प्रतिस्पर्धामा थिए । एउटा म अध्यक्ष उठेको प्यानल र अर्को एकजना लेडिज उठेको प्यानल । उसको नाम प्रतिभा थियो । तेस्रो वर्षसम्म पुग्दा समेत ऊसँग भेट नहुनुको एउटै रहस्य थियो, हामी फरक डिपार्टमेन्टमा थियौँ । हामी दुवै यसअघि कतै कमिटीमा बसेका थिएनौँ । मनोनयन दर्ता गर्ने अघिल्लो दिन उसको घर पनि धादिङ भन्ने थाहा पाएँ, थप कुतूहलता जाग्यो । जिल्लाको सम्पर्क मञ्चमा पनि उसको नाम सुनेको थिएँ, भेट भएको थिएन । 

मनोनयन गर्न जाँदा हाम्रो प्यानल हुल बाँधेर गयो, नारा लगायो । ‘अखिलको सान, क्याम्पसको मान’ भन्दै मेरै नाम गुञ्जाइरहेका थिए । म पुलकित थिएँ । क्याम्पस कमिटीको चुनावमा, मनग्य खर्च हुने देखे पनि यत्तिको प्रशंसाले म खुसी नै थिएँ । 

ऊ अर्थात् प्रतिभा, मनोनयन दर्ता गरेर कुर्चीमा बसिरहेकी थिई । म जाँदाबित्तिकै हाम्रो देखादेख भयो । त्यो आकृति अनि संगतिसँग मैले चित्त बुझाउनै सकिनँ । ‘हेड सरकी छोरी, तिमी प्रतिभा !’ मैले सोधेँ । ऊ मुसुक्क हाँसी । नचिनिने भएकी थिई । तर त्यो डिम्पल जहाँको त्यहीँ थियो । मेरो मनोनयन दर्तापछि हामी दुवैजनालाई हात मिलाउन आग्रह गरियो । धेरैपछि मेरा हातले उसका हातको स्पर्श गरेको थियो । सबैजनाले ताली बजाए । म भने अन्धकारले छोपिएको थिएँ । संयोगहरू बाजा बजाएर आउँदा रहेनछन्, भगवानले दिएका सरप्राइजप्रति नतमस्तक भएँ म । 

दुवै प्यानल सकभर सहमतिमा आओस् र निर्विरोध कमिटी चयन होस् भन्नेमा सबै साथीहरूको चाहना थियो । त्यसैबमोजिम चिया खाँदै वार्ता गर्न मलाई र प्रतिभालाई क्यान्टिन पठाइयो । बाटोमा म एक शब्द बोल्न सकिनँ । ऊ प्रश्न सोधिरहेकी थिई सायद । उसको पाइलामा धेरैपछि आफ्ना पाइला मिलाउन पाउँदा मैले उत्तर दिनै भुलेँ । हामी क्यान्टिन पुगेर टेबलमा बस्यौँ । ऊ आफ्ना प्यानलका लिस्टहरूमा घोत्लिन थाली, म भने फ्ल्यासब्याकमा पुगेँछु । 

८ कक्षामा हुँदाको कुरा हो । त्यतिबेला हामी दुवैको अर्कै रूप, रंग, अर्कै रस र चेतना थियो । पढाइप्रति असीम घृणा र प्रेमप्रति मौन सहानुभूति थियो मेरो । पढाइमा आलु भएपछि ट्युसन अपरिहार्य भइहाल्छ बा–आमालाई । हेड सरको घरमा बिहान–बेलुका म्याथको ट्युसन पढ्न जान्थेँ । बिहान उठेर कतिखेर आँखा पखालेर, दाँत माझेर आधा निद्रामा पुगिन्थ्यो, पत्तै नहुने । त्यहीँ निकटता जम्या हो प्रतिभासँग । क्लासमा अक्सर अन्तिम बेन्चमा बस्ने म, अघिल्लो बेन्चमा बस्ने ऊसँग मुखामुख नै हुन्थेन । घरमा हेड सरले आफ्नी छोरीलाई समेत सँगै राखेर हामीलाई ट्युसन पढाए । एक्लो सन्तान थिई प्रतिभा । हेड सरकी मायाकी खानी । बोलीमा मह नै मिसिएजस्तो थियो त्यसमाथि क्लास टपर । उसको आचरण, अनुशासन र प्रतिष्ठाका अघि माया र प्रेम टिक्दैनन् जस्तो लाग्थ्यो । ऊ सानै उसकी आमाले संसार छाडिन् । अर्को बिहे नगरी हेड सरले उसको रेखदेख गरेका थिए । 

एक दिन ट्युसन चाँडै पुग्दा देखेँ, आमाको फोटो हेर्दै ऊ सुकसुकाउँदै थिई । अनि लाग्यो, ऊ पनि हामीजस्तै भावनात्मक हो । हेड सरको जस्तो कठोर रहेनछ उसको मुटु । हेड सर अक्सर हिसाब बिग्रँदा हाम्रा हातमा लठ्ठी बर्साउँथे । हामी डरले सात बित्ता पर भाग्थ्यौँ । 

प्रतिभाका मिहीन सौन्दर्य र गूढ रहस्यमा म डुब्न थालेँ । हेड सर ट्युसनमा हिसाब गर्न लगाएर तरकारी बारी गएका बेला म उसलाई हेरी बस्थेँ । गणित सूत्रजस्तै कठिन सूत्रहरू प्रयोग गरेर उसलाई सिकर्मीरूपी भगवानले बनाएजस्तो लाग्थ्यो । जब ऊ मेरो बिग्रिएको हिसाब मिलाउन अग्रसर हुन्थी, ममा चन्द्रोदय हुन्थ्यो । उनले सिकाएका कुराहरू फटाफट छिर्थे दिमागमा । 

तिहारताका क्लासका सबैजना मिलेर भैलो खेल्ने भयौँ । पढाइमा नजान्ने भए पनि म नाच्न–गाउन खप्पिस थिएँ । उसलाई बल्लतल्ल हेड सरले खेल्ने अनुमति दिएछन् । उसलाई नाच्ने रहर जाग्यो । हामी जोडी भएर नाच्यौँ । हातमा हात समातेर नाच सिकाउँदा सिकाउँदा म नजानिँदो किसिमले ऊसँग बाँधिएँ । ऊ पनि बिस्तारै सम्बन्धको बन्धनमा ओर्लिन तयार थिई । 

भैलोको पैसाले नदी किनार पिकनिक जाँदा हामी धेरैबेर वनतिर हरायौँ । नव–नव रंग–रंगेली कल्पनाहरूमा रमायौँ । आफूभित्रको प्रेम उद्घाटित गर्‍यौँ । हावाका पानाहरूमा नमेटिने रचना गर्‍यौँ । आकाशका छानाहरूमा खिया नलाग्ने प्रेमिल छायाहरू देख्यौँ । 

पिकनिक गएकाहरूले गाउँभर हल्ला चलाए । हामी दुईको सम्बन्ध एकातिर थियो भने हेड सरकी छोरी बिग्रिछे भन्ने कथन अर्कोतिर । हेड सरले सुने पनि नसुनेझैँ गरेका थिए यी हल्लाहरूलाई । किनकि छोरीमाथि त्यति विश्वास थियो उनको । 

हेड सरको व्यस्तताले ट्युसन बन्द भयो । स्कुलको वार्षिकोत्सवमा समेत हामी दुई जोडी भएर नाँच्यौँ । हेड सरले अघिल्लो पंक्तिमा बसेर आँखा तर्काइतर्काइ हेरे । प्रतिभा र म स्कुलमा पनि छुट्टिएर रहन सकेनौँ । एउटै बेन्चमा बस्न थाल्यौँ । अघिल्लो बेन्चबाट उनी लास्टमा मसँगै बस्न भनेर आई । क्लासका अरु डाहले मर्थे । हेड सरको क्लासमा भने हामी छुट्टिन्थ्यौँ । एक दिन हेड सर अरु सरको क्लास सापटी लिएर पढाउन आए, हामी पक्रियौँ । हामीलाई एउटै बेन्चमा टाँसिएर बसेको देखेपछि उनले पढाउनै सकेनन् । प्रतिभालाई नजानिँदो तरिकाले व्यंग्य कसेर केही अर्ती उपदेश दिएर उनी बाहिरिए । त्यसपछि हामी दुईको बाटोले नयाँ मोड लियो । 

प्रतिभा घर पुगेपछि, हेड सरले छुट्टै इमोसनल वाचा गराएर मसँग भेट्न प्रतिबन्ध लगाएछन् । बाले गरेको त्यागका अघि प्रतिभा हारी, हाम्रो भेट नहुने भयो ।

परीक्षा नजिकिएकाले ऊ पढाइमा व्यस्त पनि भई । ८ कक्षाको वार्षिक परीक्षाको नतिजा आउँदा म म्याथमा फेल भएँ, प्रतिभा प्रथम भई । योचोटि हेड सरले म्याथको प्रश्न एकदम गाह्रो निकालेका थिए । अरुलाई केही अंक थपेर पास गराइदिए पनि मलाई भने जानाजान फेल गराएका छन् भन्ने मैले सोचिरहेको थिएँ । अनि मैले गाउँ छाड्ने निर्णय गरेँ । 

काठमाडौंका लागि गाडी चढ्नै लाग्दा सडकमाथि खेतका कान्लामा मलाई अन्तिम बिदाइ गर्न प्रतिभा आएकी थिई । मेरो जीवनमा त्यतिबेला अन्धकार छाएको थियो— उता मन परेको मान्छेलाई नपाउनु अनि पढाइ अस्तव्यस्त हुनु । मभित्रको आकाशमा बादल बाक्लिएर भएको अन्धकार, घनघोर वर्षासँगै हट्ने आशा लिएर मैले गाउँ छाडेँ । 

बाहिर पानी परिरहेको थियो । चियाबाट एक तमास बाफ उडिरहेका थिए । प्रतिभा मलाई चिया खान आग्रह गरिरहेकी थिई । म वर्तमानमा ओर्लिएँ र चियाको चुस्कीसँगै विगत भुलाउन खोजेँ । तर खै ! विगतको अहं भावले जरा गाडेको रहेछ र त मैले अध्यक्षमा आफ्नो नाम फिर्ता लिन सकिनँ । प्रेममा पाएको धोकालाई मैले आत्मसम्मानमा जोडेको थिएँ । प्रतिभा पनि उस्तै थिई, उसलाई सीमा मन पर्दैनथ्यो । ऊ उड्न चाहन्थी, केही टिप्न चाहन्थी । चिया खाएर उठ्दासम्म हामी घोर प्रतिस्पर्धी भयौँ । मिठो बोलेर औपचारिकतामा एकअर्काका कुरा चोरेर एकअर्कालाई हराउन तत्पर हुने भयौँ । 

एक जमाना यस्तो थियो, जतिबेला म उनका लागि काँडामा जेलिएको ऐँसेलु टिप्थेँ भने ऊ मेरा लागि बाको अनुशासनको जन्जिर त्याग्थी । अहिले हामी ठुला भएछौँ र अन्तर्झिल्का, अन्तध्र्वनि बिर्सिएछौँ । 

चुनाव भयो । माथि केन्द्रीय कमिटीबाट समेत हस्तक्षेप भयो भोटका लागि । भावी नेतृत्व नारीको हातमा भन्ने उसको नाराले सार्थकता पायो र उसको जित भयो । नतिजा घोषणासभामा एउटै मञ्चमा बसेर उनले रातै अबिरमा पोतिएर भाषण गरेको हेरिरहेको थिएँ, जसरी म काठमाडौँ आउने बेला उसले मलाई हेरी बसेकी थिई कान्लामा ।

हेड सरले भन्ने गर्थे, ‘मेरी छोरी जहाँ गए पनि जित्छे, बुवाको प्रेरणामा चल्छे ।’ फेरि सत्य साबित भए हेड सर । प्रत्यक्ष रूपमा प्रतिभासँग हारे पनि अप्रत्यक्ष रूपमा फेरि पनि हेड सर सँग हारेँ म । ‘अब म भागेर कहाँ जाउँ हेड सर ?’ मैले मनमनै पुकारेँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अच्युत शाली घिमिरे
डा. अच्युत शाली घिमिरे
लेखकबाट थप