आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
लेखा प्रतिवेदन रिपोर्ट

करोडौँ घाटामा कांग्रेस : सदस्यबाट लेभी उठ्न छाड्यो, चन्दादाताले पत्याउन छाडे

सोमबार, ०७ फागुन २०८०, १३ : २७
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ह्वात्तै कमी आएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण अनुसार कांग्रेसमा सदस्यता, लेभी र नवीकरण शुल्क बुझाउनेको सङ्ख्यामा ठुलो गिरावट आएको पाइएको हो ।

राजनीतिक दलहरूले सदस्यता वितरण, नवीकरण र लेभी, चन्दा तथा सहयोग, ब्याज र प्रकाशन बिक्रीबापत रकम आर्जन गर्ने गर्छन् । यी शीर्षकमध्ये सबैभन्दा धेरै रकम सदस्यता, नवीकरण र लेभीबाटै उठ्ने हो । सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्या नै घटेपछि समग्र पार्टी नै घाटामा छ ।

कांग्रेसले आर्थिक वर्ष २०७८/७९ मा सदस्यता वितरण, लेभी र नवीकरणबापत ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ सङ्कलन गरेको थियो । तर, गत आर्थिक वर्ष २०७९/८० मा यसबापत उठ्ने शुल्क घटेर जम्मा ५७ लाख ६० हजार ८०० रुपैयाँ सङ्कलन भएको छ । यो एक वर्षको अवधिमा सदस्यता नवीकरण, नयाँ सदस्यता र लेभीबाट उठ्ने रकममा ९९ प्रतिशतको गिरावट हो ।

२०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ६ करोड ८५ लाख ४२ हजार ७०१ रुपैयाँको गिरावट हो । यो तथ्याङ्कबाट पछिल्लो एक वर्षको अवधिमा नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ठुलो गिरावट आएको पुष्टि गर्छ । यसबाहेक, चन्दा तथा सहयोगबापत उठ्ने रकम समेत घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यो शीर्षकमा ६ करोड ६८ लाख २४ लाख रुपैयाँ आर्जन गरेको थियो । यो शीर्षकबाट उठ्ने रकममा समेत आर्थिक वर्ष २०७९/८० वर्षमा जम्मा २ करोड ६५ लाख ६४ हजार रुपैयाँ मात्रै उठेको छ । यो एक वर्षमा चन्दा तथा सहयोगबापत उठ्ने रकममा ४ करोड २ लाख ५९ हजार ४२३ रुपैयाँको गिरावट हो ।

यसबाहेक, ब्याजबापत हुने आम्दानी समेत घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ब्याजबापत ६७ लाख १७ हजार १८५ रुपैयाँ आम्दानी भएको थियो । गत आर्थिक वर्षम यो शीर्षकको आम्दानी रकम घटेर ३८ लाख ३१ हजार २७० रुपैयाँमा कायम छ । यसबाहेक, प्रकाशन बिक्री बापत उठ्ने रकममा समेत ठुलो गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षमा यो शीर्षकमा ११ लाख ४९ हजार उठेकामा गत आर्थिक वर्षमा ९४ हजार ६०० मात्रै उठेको छ । अघिल्लो वर्ष यी सबै शीर्षकबाट नेपाली कांग्रेसले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आर्जन गरेको थियो । जुन, गत आर्थिक वर्षसम्म आइपुग्दा जम्मा आम्दानी घटेर ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँमा आइपुगेको छ । यो ११ करोड २५ लाख १७ हजार रुपैयाँभन्दा धेरैको गिरावट हो ।

आर्थिक वर्ष २०७८/७९ मा १४ करोड आसपास आम्दानी गरेको कांग्रेसले खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ गरेको छ । यसअनुसार सो आर्थिक वर्षमा कांग्रेसको हिसाब खाता ३ करोड ८४ हजारले घाटामा छ ।

यस्तै, गत आर्थिक वर्ष जम्मा ३ करोड ६४ लाख आम्दानी गरेको कांग्रेसले खर्च भने ७ करोड ९९ लाख रुपैयाँभन्दा धेरै गरेको छ । गत आर्थिक वर्षमा पनि कांग्रेसको हिसाब किताब ४ करोड ३५ लाख १८ हजारले घाटामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप