बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

गठबन्धनप्रति ओलीको आक्रोश, टिआरसीमा अब्जेक्सन !

‘टिआरसी पीडितमैत्री हुनुपर्ने अडानले राष्ट्रिय सभा निर्वाचनमा एक्लिनु पर्‍यो’
मङ्गलबार, ०८ फागुन २०८०, १४ : ५३
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देश पीडित भएको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय च्यासलमा मंगलबार सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा देशको पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे धारणा राख्दै अध्यक्ष ओलीले गठबन्धनप्रति आक्रोश व्यक्त गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा अब्जेक्सन जनाएका हुन् ।

‘यो गठबन्धनबाट देश पीडित भएको अवस्था हो । संक्षिप्तमा भन्ने हो भने गठबन्धनबाट राष्ट्र पीडित छ’, ओलीले भने, ‘गठबन्धन पीडित अवस्थामा राष्ट्र रहेको परिस्थिति हो ।’

उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने एमाले अडान रहेको तर टिआरसीमा पीडितले न्याय नपाउने खतरा बढेको बताए । टिआरसीमा पीडितले न्याय पाउनुपर्छ भन्ने एमालेले राखेको अडानका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको ओलीको भनाइ छ ।

oli-uml-cm

माघ ११ को राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुनुपर्ने भन्ने एमाले अडानले अघि बढ्न नसकेको ओलीले स्वीकार गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको स्पष्ट पारे ।

सो विधेयक प्रचण्ड र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिर गर्दै अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यताबाट पछि नहट्ने दोहोर्‍याए ।

‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भन्ने पक्षमा थियौँ । त्यसबेला हामीले टिआरसी टुंग्याउन साह्रै कोसिस गरेका हौँ’, ओलीले भने, ‘त्यतिबेला प्रचण्डजी र शेरबहादुर देउवाजीले टुंग्याउन मान्नुभएन ।’

uml cm

किन मान्नुभएन, के शौख हो उहाँहरुको त्यो उहाँहरुले भन्नुहोला भन्दै ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन आफूले धेरै आग्रह गरेको बताए । ‘धेरै अनुरोध गरेँ । नत्र यो १८ वर्षसम्म चालु रहने विषय थिएन । १७ वर्ष पूरा गरेर १८ वर्ष लागि सक्यो । यो चालु रहने थिएन । तर अहिले यसलाई बेस्सरी हतियार बनाउन खोजिएको छ ।’

पीडितको पक्षमा कानुन बन्ने र पीडितले न्याय पाउनुपर्छ भन्नेमात्र एमालेको भनाइ रहेको भन्दै उनले पीडितलाई मञ्जुर हुँदाखेरी एमालेलाई पनि मञ्जुर हुने बताए । ‘हामीले भनेका छौँ । पीडितले न्याय पाउनुपर्यो । उनीहरु मञ्जुर हुनुपर्योे । र यो बलजफ्ती गर्‍यो भने हिंसाका प्रवृत्तिहरु या भावनाहरु, प्रतिशोधका भावनाहरु कालान्तरसम्म रहन र पुनः प्रकट हुन सक्दछन्’, ओलीले भने, ‘हिंसा पुनः प्रकट हुन सक्दछ ।’ उनले सत्तापक्षले राष्ट्रिय सभा निर्वाचनलाई देखाएर टिआरसीमा एमालेलाई सहमत गराउने प्रयास गरेको पनि आरोप लगाए ।

‘राष्ट्रिय सभाको सदस्यका केही पदहरुसँग साट्ने होइन, देखाउने त्यो पदहरु र हामीलाई यो काम चाहिँ गराइहाल्ने, हामी केही पदका लागि आफ्नो अडान छोडौँ । दृष्टिकोण छोडौँ, नीति छोडौँ । र, पछि उही हो–सम्झाउन सकिएन साथीहरु, मानेनन् के गर्ने ? तपाईहरुको जस्तो युनिफाईड एकदम एकढिक्का पार्टी छैन । अपm्ठयारो छ । विभिन्न घटक छन्, आदि इत्यादि रे’, ओलीले भने, ‘त्यस स्थितिमा हामीले त्यसको पछाडि कुद्नु थिएन ।’ 

uml ccm

अध्यक्ष ओलीले गठबन्धनको सरकारले नै भ्रष्टाचारलाई बढवा दिएको, मन्त्रीहरु भ्रष्टाचार र मान्छे मारेको घटनामा दोषी ठहर हुँदा पनि पदमै बसिरहेको भन्दै मन्त्रीहरुमा नैतिकता नभएको र प्रधानमन्त्री हुतिहारा भएको टिप्पणी गरे ।

‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने’, ओलीले भने, ‘दोषी मन्त्री हो भनेर आयोगले भनेको छ । नैतिकता नभएको मन्त्री हुतीहारा प्रधानमन्त्री’, ओलीको भनाइ छ । उनले गिरीबन्धु टिस्टेट प्रकरणमा एमाले नेतृत्वको सरकारले कुनै हिनामिना नगरेको बरु कानुन बनाएर अदालतको आदेश कार्यान्वयन मात्र गरेको दाबी गरे । एमाले सधैँ स्वच्छ न्यायालयको पक्षमा रहेको भन्दै अरुण चौधरी प्रकरणमा अदालतले दिएको आदेशको ओलीले आलोचना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप