बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

बुधबार, ०९ फागुन २०८०, ११ : ५९
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले नामिबियालाई जितका लागि एकसय ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । पेभेलियन फर्किनुअघि उनले ५८ रन बनाए । कुशल मल्लले ३६ रन जोडे । भीम सार्कीले २६ रन बनाए । ओपनर कुशल भुर्तेलले १८ र तल्लो क्रमका ब्याट्सम्यान केरण केसीले १२ रन जोडे ।

टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै तीन प्रभावशाली विकेट गुमाएको नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । नामिबियाका बलर बेनार्ड स्कोल्ज र जन निकोल लफ्टी एटनले चार–चार विकेट लिए ।  

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १६ बलमा तीन चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका थिए । ६.२ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान अनिल शाहलाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । ६.४ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो । उनलाई पनि स्कोल्जले नै कप्तान जेरहार्ड अर्समुसद्वारा क्याच गराएका थिए ।

नेपालले तेस्रो विकेटका रुपमा देब खनाललाई गुमाएको थियो । यू–१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका उनले खातासम्म खोल्न सकेनन् । आठौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका देबलाई नामिबियाका बलर ज्याक ब्रासेलले विकेटकिपर जेन ग्रिनद्वारा क्याच गराएका थिए ।

नेपालले चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी ५८ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । १९.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय रन बनाएको थियो ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए । त्यसअघि उनले १६.५ ओभरमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले ५५ बलमा एक छक्का र आठ चौकाको मद्दतले आफ्नो अर्धशतक पुरा गरेका थिए ।

नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । रोहित खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर जन निकोल लफ्टी एटनले स्कोल्जद्वारा क्याच गराएका थिए । २३.२ ओभरमा रोहित आउट हुँदा नेपालले एक सय १० रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । कुशल ३६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ५२ बलमा तीन छक्का र एक चौका पनि प्रहार गरेका थिए । उनलाई जेरहार्ड अर्समुसले ज्याक ब्रासेलद्वारा क्याच गराएका थिए । २६.३ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय २४ रन बनाएको थियो ।

घरेलु टोलीले सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई ६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । नामिबियाका बलर एटनले दीपेन्द्रलाई विकेटकिपर ग्रिनद्वारा स्टम्पिङ गराएका थिए । ३३.२ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय ५१ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी चार रन बनाउँदै आउट भएका थिए । उनलाई एटनले निकोलस डाभिनद्वारा क्याच गराएका थिए । ३३.५ ओभरमा सोमपाल आउट हुँदा नेपालले एक सय ५५ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी ३६ बलमा तीन चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई स्कोल्जले बोल्ड गरेका थिए । ३५औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ६१ रन बनाएको थियो ।

घरेलु टोलीले अन्तिम विकेटका रुपमा करण केसीलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । करणले १२ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । उनलाई एटनले माइकल भान लिगनेद्वारा क्याच गराएका थिए ।

आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ मा नेपालले तेस्रो खेल खेलिरहेको हो । आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।

दुई खेल खेलेको नेपाल एक जित र एक हारबाट दुई अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको नामिबिया दोस्रो र समान अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसिन छन् । यसअघि खेलिएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हराएको थियो ।

लिग–२ को यो दोस्रो संस्करण हो । लिग–२ शृंखला सन् २०२७ सम्म चल्नेछ । लिग–२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्रमात्र सहभागी थिए । लिग–२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो ।

सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नाबियार र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् । यसअघि सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप